+
+
Shares
कोरोना प्रभाव :

यात्रु बढ्दा पनि किन छटपटाउँदैछन् आन्तरिक वायुसेवा कम्पनी ?

अच्युत पुरी अच्युत पुरी
२०७६ चैत ३ गते १७:३५

३ चैत, काठमाडौं । कोरोना भाइरसको संक्रमण संसारभर फैलिएपछि अन्तर्राष्ट्रिय पर्यटन खस्किएको छ । आन्तरिक हवाई यात्रुहरु बढेका छन्, तर पनि एयरलाइन्स कम्पनी घाटा भयो भनिरहेका छन् ।

विभिन्न देशहरुले लगाएको यात्रा प्रतिवन्ध र कोरोना संक्रमणको डरले अन्तर्राष्ट्रिय पर्यटक आगमन प्रभावित छ। नेपालमा १० मार्चसम्म चीनबाहेक अन्य मुलुकबाट अन्तराष्ट्रिय हवाई यात्रुको आगामवन सामान्य थियो ।

पछिल्लो एक सातायता  पर्यटक आगमन घटेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलका अनुसार १० मार्चपछि अन्तराष्ट्रिय उडान ६० प्रतिशतसम्म रद्द भएको छ । यात्रु ६९ प्रतिशतले घटेका छन् । तर, आन्तरिक उडानमा बाहिर प्रचारमा आएजस्तो यात्रु घटेका छैनन् । यात्रु अझ बढिरहेका छन् ।

यसलाई वायुसेवा संचालक संघ (आयोन)का अध्यक्ष रामेश्वर थापा स्वीकार गर्छन् । उनका अनुसार ट्रंक रुट (तराईका ठूला विमानस्थल)मा कोरोनाले प्रभाव पारेको छैन । अझ मूल्य घटेका कारण यी क्षेत्रमा यात्रु बढेका छन् ।

विदेशी नभएपछि छटपट

व्यवसायीले आन्तरिक हवाई सेवाले मात्र कोरोनाका कारण ११ अर्ब रुपैयाँ क्षति हुने आंकलन गरिसकेका छन् । सोमबार उपप्रधान तथा रक्षामन्त्री समक्ष वायुसेवा कम्पनीले गरेको रिर्पोटङ अनुसार ११ अर्ब रुपैयाँमध्ये ४ अर्ब रुपैयाँ हाराहारी विजनेश हेलिकोप्टर कम्पनीको हो । त्यसबाहेक अन्य क्षति आन्तरिक उडानमा हुने अनुमान छ ।

यात्रु उत्तिकै वा अझ बढी हुँदा पनि एयरलाइन्समा कसरी त्यति ठूलो क्षति भयो त ? नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार यो सिजन लुक्ला र सिमिकोटको उडान घटेको छ । यहाँ जहाज उडाउने कम्पनीले मूख्य सिजनमा पैसा कमाएर त्यसले वर्षदिन धान्नुपर्ने बाध्यता छ ।

महानिर्देशक पोखरेल भन्छन्, ‘लुक्ला र सिमिकोट उडाउने कम्पनी र हेलिकोप्टर कम्पनीलाई साच्चिकै समस्या परेको हो ।’ यी रुटमा वायुसेवा कम्पनीले दिवेशी यात्रुलाई बढी सेवा दिने गरेका थिए । विदेशी उड्दा डलरमा मूल्य लिन पाइन्छ । डलर नेपाली यात्रुलाई लिने भन्दा करीव दोब्बर पर्न आउँछ ।

पर्वतारोहण, पदयात्रा र मानसरोवर जाने विदेशी यस सिजन नआउने भएपछि डलर फेयर गुम्न थालेको छ । सोहीकारण हवाई व्यवसायी आन्तरिक उडानमा पर्याप्त यात्रु हुँदाहुँदै पनि आत्तिएका हुन् ।

घट्यो हवाई भाडा

वायुसेवा संचालक संघका अनुसार तराईका विमानस्थलमा नेपाली हवाई यात्रु बढेका छन् । यसो हुनुमा वायुसेवा कम्पनीले घटाएको मूल्य हो ।

अहिले धनगढीको मूल्य ४ हजारमा हाराहारीमा झरिसकेको छ । सामान्य समयमा कम्पनीहरुले यहाँ १० हजारसम्म लिन्छन् । पोखरा उडानको भाडा १६ सयमा झरिसकेको छ । भद्रपुरको भाडा २५ सयमा झरेको छ । विराटनगरको भाडा २३ सयमा झरेको छ । सोहीकारण ठूलो जहाज उड्ने विमानस्थलमा नेपाली यात्रु बढेका छन् । विदेशी नआएका कारण ट्रंक रुटमा करीव १५ प्रतिशतसम्मको प्रभाव पर्छ । तर, यी रुटमा सबैभन्दा धेरै यात्रु नेपाली नै हुने भएका कारण आन्तरिक उडानमा यात्रुको अभाव छैन । मूल्यमा भएको प्रतिस्पर्धाले यात्रु बढाएको प्राधिकरणका महानिर्देशक पोखरेलको भनाई छ ।

सन् २०२० भर लामै समय पर्यटन आगमन प्रभावित हुने संकेत देखिएको छ । किनकी चीनमा करीव नियन्त्रणमा आएको कोरोनाको संक्रमण अहिले यूरोप र अमेरिकामा फैलिरहेको छ । भारतमा समेत यसको प्रभाव उत्तिकै छ ।

चीन, भारत, अमेरिका र यूरोप नेपाली पर्यटनका मूख्य स्रोत बजार हुन् । यी मुलुकमा परेको प्रभावले पर्यटन माथि उठ्न निकै संघर्ष गर्नुपर्नेछ । यसअवस्थामा सन् २०२० भर नै व्यवसायीले डलर फेयर नपाउने अवस्थाको आंकलनपछि व्यवसायी आत्तिएका हुन् ।

तर, सरकारको नीति भने डलर फेयर हटाउने नै रहेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पर्यटन मन्त्रालय सम्हालेपछि लिएको एक नीति डलर फेयर हटाएर नेपालभित्र सबै यात्रुलाई समान भाडादर कायम गर्नु हो ।

उपाय के  ?

हवाई कम्पनीहरुले तत्कालका लागि विजनेस नडुबोस भन्ने हो भने हवाई इन्धनको मूल्य घटाउनुपर्ने माग गरेका छन् । आयोनका अध्यक्ष रामेश्वर थापाले अन्तराष्ट्रिय बजारमा तेलको मूल्य निरन्तर घट्दा पनि नेपालमा मूल्य समायोजन नभएको भन्दै हवाई इन्धनको मूल्य घटाउनु पर्ने माग गरे ।

यसबाहेक कम्पनीहरुले बैंकको ऋणको पुनर्तालिकीकरण, विमानस्थलहरुमा लिने विभिन्न प्रकारको छूट, कर्मचारी कटौती गर्न पाउनुपर्नेजस्ता विभिन्न माग राखेका छन् । यद्यपी सरकारले भने यस सम्बन्धमा ठोस प्रस्ताव ल्याउन आग्रह गरेको छ ।

उपप्रधानमन्त्री इश्वर पोखरेलले अहिले अन्तराष्ट्रिय रुपमा समस्या उत्पन्न भएको भन्दै यसलाई केवल आफूलाई मात्र समस्या परेको रुपमा नलिन व्यवसायीलाई आग्रह गरे । तर, सरकार व्यवसायीकै साथमा रहेको भन्दै सबै मिलेर अहिलेको समस्या समाधान गरिने उल्लेख गरे ।

‘समस्या हामी सबैलाई परेको हो,’ सोमबार मन्त्रालयमा हवाई तथा पर्यटन व्यवसायीसँगको छलफलमा मन्त्री पोखरेलले भने, ‘हामी सबै मिलेरै यसको सामना गर्नुपर्छ ।’

लेखक
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?