Comments Add Comment
सार्कको भविष्य :

‘भिडियो कन्फरेन्स’ले सार्कलाई नयाँ जीवन देला ?

३ चैत, काठमाडौं । अवकाश पर्खेर बसेका तत्कालीन सार्क महासचिव अम्जद हुसेन सियलसँग अन्तर्वार्ता लिन समय माग्ने क्रममा तीनहप्ता अगाडि अनलाइनखबरकर्मीले ‘सार्क करिब मृतप्रायः छ’ भन्दा निवर्तमान महासचिव सियलले त्यसलाई पूरापूर अस्वीकार गरेका थिए ।

अन्तर्वार्ताका क्रममा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सक्रिय छ भन्ने देखाउन उनले विगत वर्षहरूमा हुने नियमित मन्त्रिस्तरीय र कर्मचारीस्तरीय बैठकहरू र यसका क्षेत्रीय केन्द्रहरूका कामको फेहरिस्त प्रस्तुत गरे ।

यद्यपि एउटा पनि शिखर सम्मेलन आयोजना गर्न नसकी महासचिव सियल बिदा भए भनेर नेपाली छापामा समाचार आए, भलै शिखर सम्मेलन गर्नु महासचिवको वशको कुरा भने होइन ।

महासचिव सियलको बिदाइलाई शिखर सम्मेलन हुन नसकेको विषयसँग जोडिएर भएका चर्चा परिचर्चालाई पछ्याउँदै उनका उत्तराधिकारीका रूपमा भर्खरै कार्यभार सम्हालेका इसाला रावण विराकुनलाई आइतबार सार्क राष्ट्रका सरकार प्रमुखहरूबीच भएको भिडियो कन्फरेन्सले पक्कै पनि खुसी बनाएकोे हुनुपर्छ ।

किनकि, यस कन्फरेन्सले सार्क राष्ट्रहरूबीच यस स्तरमा भएको पाँचवर्षे लामो संवादहीनतालाई तोडेको छ ।

त्यसो भए अब सार्कले पुनर्जीवन पाएको हो त ?

सार्क संगठनको सबैभन्दा ठूलो सदस्य भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको अग्रसरता र नेतृत्वमा भएको संवाद आफैंमा सकारात्मक भए पनि यसको दीर्घकालीन प्रभावबारे ढुक्क हुन नसकिने नेपाल सरकार, काठमाडौंस्थित सार्क सचिवालयसँग सम्बन्धित अधिकारीहरू र परराष्ट्र मामिलाका विज्ञहरूको मत छ ।

‘सकारात्मक कदम’

प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईका अनुसार सिङ्गो दक्षिण एसियालाई प्रभावित पार्न सक्ने कोरोनाभाइरसको सङ्क्रमणसँग जुध्न भारतले गरेको पहललाई प्रधानमन्त्रीले ओलीले सकारात्मक रूपमा लिएका छन् ।

‘यो कन्फरेन्सले सार्कको आवश्यकता र औचित्य अझै पनि छ, यसलाई अझ अगाडि बढाउनुपर्छ भन्ने सन्देश दिएको छ,’ भट्टराई भन्छन्, ‘कतिपय द्वीपक्षीय मामिलाका कारण हाल सार्क निश्क्रियजस्तो देखिए पनि बहुपक्षीय व्यापार र लगानी लगायत विभिन्न साझा मुद्दाहरूमा छलफल र सहकार्य गर्नका लागि यसको स्थापना भएको थियो र त्यही दिशामा पुनः संवाद सुरु भएको छ ।’

भट्टराईसँग सहमत छन् फ्रान्सका लागि पूर्वनेपाली राजदूत तथा परराष्ट्रविद मोहनकृष्ण श्रेष्ठ । उनी भन्छन्, ‘कोरोना भाइरस सङ्क्रमण सिङ्गो क्षेत्रकै लागि चिन्ताको विषय थियो । यसका विरुद्ध सामूहिक लडाइँ लड्ने भारतको मनसाय देखियो । कोष स्थापना गर्ने घोषणा पनि आयो । यो एकदमै स्वागत योग्य छ । अब बिस्तारै सार्कलाई पनि पुनर्जीवित गराउनुपर्छ ।”

यो पनि पढ्नुहोस कोभिड १९ सार्क आपतकालीन कोष बनाउने मोदीको प्रस्ताव

यदि यस्ता कार्यक्रमहरूले निरन्तरता पाउने हो भने संवादहीनता हट्ने र शिखर सम्मेलनको आयोजनामा सहयोग पुग्ने श्रेष्ठको तर्क छ ।

के सोच्दै छन् नयाँ महासचिव ?

त्यसोभए नयाँ सार्क महासचिव विराकुन यो कन्फरेन्सबाट खुसी छन् त ? सार्क सचिवालयका एक निर्देशकका अनुसार विराकुन यस विषयमा तत्कालै प्रतिक्रिया दिने स्थितिमा छैनन् ।

‘पहिलो कुरा त उहाँले अध्यक्ष राष्ट्र र सचिवालयको ‘होस्ट’ मुलुक नेपालका प्रधानमन्त्रीसँग परिचयात्मक भेटघाट नै गर्नै पाउनुभएको छैन,’ उनी भन्छन्, ‘दोस्रो कुरा, हामीले भन्नुपर्ने कुरा हिजोको हाम्रो विज्ञप्तिमा नै भनिसक्यौं।’

हुन पनि विराकुनले श्रीलंकाबाट काठमाडौं आएर कार्यभार सम्हालेको भोलिपल्टै प्रधानमन्त्री ओली दोस्रो मिर्गौला प्रत्यारोपणका लागि अस्पताल भर्ना भए । प्रधानमन्त्री शुक्रबार मात्र निवासमा फर्किएका छन् । ।

चिकित्सकहरूले कम्तिमा तीन महिनासम्म भेटघाट तथा बैठकमा सहभागी नहुनू भने पनि ओलीले अटेर गर्दै आएका छन् र उनी आफ्ना सल्लाहकारहरूसँग नियमित बैठकमा छन् । तर, ओलीको स्वभावसँग परिचित सबैलाई थाहा भएकै कुरा हो कि कसलाई भेट्ने वा कसलाई नभेट्ने भन्ने कुरा उनले नै निर्णय गर्ने हो, त्यसबाहेकका प्राथमिकता उनी प्रायः हेर्दैनन् । त्यसैले विराकुनले प्रधानमन्त्रीलाई भेट्न सम्भवतः अझै केही हप्ता कुर्नुपर्ने हुन सक्छ ।

आइतबारको भिडियो कन्फरेन्सबारे सार्क सचिवालयको विज्ञप्तिमा को-को छलफलमा सहभागी भए र के-के विषयमा छलफल भयो भन्ने बाहेक अन्य केही उल्लेख छैन । सचिवालय मौन बसेको भन्न त नमिल्ला, तर उसले आफ्नो धारणा खुलेर अभिव्यक्त गरेको छैन ।

भारतीय प्रधानमन्त्री मोदीले ट्विटर मार्फत् भिडियो कन्फरेन्सको आह्वान गरेको दिन सार्क सचिवालयले पनि ट्विटरमा लेख्यो, ‘मोदीको सामयिक प्रस्तावको सचिवालय स्वागत गर्दछ । … सार्क क्षेत्रमा कोरोना भाइरस विरुद्ध लड्ने बलियो रणनीति बनाउनका लागि सबै सदस्य राष्ट्रहरूसँग सहकार्य गर्न तयार छौं ।’

यस बाहेक सार्कको आगामी गन्तव्यबारे सचिवालय चुपचाप छ । उसले आफ्नो ट्विटरमा यस विषयमा सार्क क्षेत्रका नेताहरूले गरेका ट्विटको रिट्विट गरेको त छ, तर उसको ट्विटर बायोमै स्पष्ट लेखिएको छ, ‘रिट्विट गर्नुको अर्थ, समर्थन होइन ।’

अर्थात्, सार्क सचिवालयको नेतृत्व गरेका नयाँ महासचिव यस कन्फरेन्सबाट खुसी छन् भन्न सकिँदैन ।

नेपालको नेतृत्व खोई ?

पाकिस्तानले अर्को शिखर सम्मेलन नगरुन्जेलसम्मका लागि पछिल्लो शिखर सम्मेलनको आयोजकका हैसियतमा नेपाल सार्कको अध्यक्ष राष्ट्र हो । र, यस्ता सामूहिक छलफलका लागि अग्रसरता लिनु नेपालको जिम्मेवारी हो ।

यो पनि पढ्नुहोस मोदीले संकटमा सम्झिएको सार्क : अध्यक्ष नेपालले अब के गर्ने ?

त्यसैले पनि नेपाल–भारत मामिलाका जानकार तथा राजनीतिक विश्लेषक उद्धव प्याकुरेललाई लाग्छ कि यो भिडियो कन्फरेन्स भारतीय प्रधानमन्त्री मोदीको राजनीतिक महत्वाकांक्षको अर्को अभिव्यक्ति मात्र थियो ।

‘सार्कलाई एउटा शक्तिराष्ट्रको कठपुतलीका रूपमा अगाडि जान दिइयो’, उनी भन्छन्, ‘मोदीको ट्विटले सल्बलाउने तर पाकिस्तानमा शिखर सम्मेलनमा सहभागी हुन मोदीले नाइँ भन्दा सबै उनकै पछाडि लागेर इन्कार गर्ने गरेजस्तो देखियो ।’

प्याकुरेलको भनाइमा सार्कको स्थापना नै भारतले नचाहँदा नचाहँदै नेपाल लगायतका साना देशहरूको पहलमा भएको हो र यस सङ्गठनलाई आजसम्म अगाडि बढाइएको पनि साना देशहरूकै इच्छाशक्तिले हो ।

यस अर्थमा वर्तमान अध्यक्षको हैसियतमा नेपालले यस्ता सामूहिक संवाद गर्न पहल गर्नु अपेक्षित नै हुन्छ । प्याकुरेल सोध्छन्, ‘सार्क सम्मेलन वा सार्ककै कुनै विषयलाई मुख्य एजेन्डा बनाएर हाम्रो परराष्ट्रमन्त्रीले कहिल्यै केही भ्रमण वा भेटघाट गर्नुभो ? राष्ट्रसङ्घ महासभाको साइड लाइनमा मन्त्रिस्तरीय बैठक गरेर मात्र हुन्छ ? पाकिस्तानको सम्मेलन हुन नसकेपछि अध्यक्ष राष्ट्रको विदेशमन्त्री सबै देशमा पुगेको भए हुँदैनथ्यो ? बरु पाकिस्तानका प्रधानमन्त्रीले सार्ककै सम्बन्धमा नेपाल भ्रमण गर्नुभयो ।’

त्यसोभए के नेपाल सार्कमा आफ्नो नेतृत्व दाबी गर्नबाट फेरि चुकेको हो त ? प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार भट्टराईका लागि भने यो प्रश्न नै असान्दर्भिक हो । ‘नेपालमा कोरोना भाइरस नै नआई यस विषयमा नेतृत्व लिने कुरा हुँदैन,’ उनी भन्छन्, ‘अरू विषयमा सार्कलाई सक्रिय गराउने कुरामा, रोकिएको सम्मेलन छिटो गराउने कुरामा वर्तमान सरकार बनेदेखि नै हामी प्रयत्नशील छौँ । प्रधानमन्त्री स्वयंले भारत र पाकिस्तान लगायतका देशका समकक्षीसँग कुरा गर्नुभएको छ ।’

सबै ‘पर्ख र हेर’को स्थितिमा

संकटको समय कसले पहलकदमी लियो भनेर जस खोज्ने वा जस दिने समय होइन । मुख्य कुरा त के भयो र यसले के अर्थ राख्छ भन्ने कुरा नै हो । त्यसो भने हिजोको कन्फरेन्सको दीर्घकालीन अर्थ के छ त ?

यस सन्दर्भमा प्रधानमन्त्रीका सल्लाहकार भट्टराई, सार्क सचिवालयका निर्देशक र परराष्ट्रविद् श्रेष्ठ र प्याकुरेल सबैको एउटै मत छ कि यो एउटा घटनाले मात्र सार्क पुनःसक्रिय हुने कुरा सुनिश्चित गर्दैन ।

‘आइसब्रेक नै भयो भनेर त नभनौँ । पुनर्सक्रियताको सम्भावना देखिएको छ,’ भट्टराई भन्छन्, ‘तर अब कसरी अगाडि बढ्छ हेरौँ न । सार्कलाई अगाडि बढाउने विषय थप छलफल गरेर टुङ्ग्याउनुपर्छ ।’

सार्कको सक्रियता यसका सदस्य राष्ट्रहरूको राजनीतिक नेतृत्व र उनीहरूको मनसायमा भर पर्ने सचिवालयका अधिकारीको भनाइ छ । श्रेष्ठ पनि आपत्कालीन अवस्थाको एक घटना, कोरोना भाइरस सङ्क्रमणले गर्दा भएको यो भिडियो कन्फरेन्सलाई सार्कको राजनीतिक सक्रियतासँग जोड्न नहुने बताउँछन् । ‘छलफल गर्दै जाँदा (पुनःसक्रिय) नहोला भन्न त सकिन्न । मान्छेको मन त हो, चाह्यो भने त भइहाल्छ । आश त गरौँ,’ श्रेष्ठ भन्छन्, ‘तर ढुक्क हुन चाहिँ सकिन्न । अहिले ‘पर्ख र हेर’को स्थितिमा छौँ ।’

सार्क राष्ट्रका ठूला सदस्य मात्र नभएर नेपालजस्ता साना देशहरूले पनि क्षेत्रीयताको मर्म बुझी त्यस अनुसार पहलकदमी नलिएसम्म सार्क सक्रिय हुन नसक्ने प्याकुरेलको ठहर छ । ‘पहिला लडाइँ गरेका युरोपेली देशहरूमा अहिले एकअर्काका नागरिकलाई प्रवेशाज्ञा नचाहिने भइसक्यो । आसियान (दक्षिणपूर्वी राष्ट्रहरूको सङ्गठन)  त्यही दिशामा छ,’ उनी भन्छन्, ‘तर हामीले उनीहरूबाट ‘हाइलेभल पिकनिक’ बाहेक केही सिकेनौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment