Comments Add Comment
बिदा हुन लागेका सार्क महासचिवसँग अन्तर्वार्ता :

‘एउटा शिखर सम्मेलन गर्न नसक्नु कार्यक्षमता जाँच्ने आधार होइन’

सार्क महासचिव अम्जद हुसेन सियल । तस्वीर : चन्द्र आले/अनलाइनखबर

१५ फागुन, काठमाडौं । केही वर्ष अगाडिसम्म पनि दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को नाम नेपाली सञ्चार माध्यमहरूमा आइरहन्थ्यो । नेपाल लगायतका सदस्य राष्ट्रहरू यसका विविध गतिविधिमा सक्रिय थिए । तर आजभोलि सार्कको खबर खासै चर्चामा आउँदैन । क्षेत्रीय सङ्गठनको सर्वोच्च निकायका रूपमा रहेको शिखर सम्मेलन नभएको पाँच वर्ष पूरा भइसकेको छ । सार्क जिउँदै छ होला, तर सक्रिय भने पक्कै छैन ।

तर यसै हप्ता आफ्नो कार्यकाल पूरा गर्न लागेका सार्क महासचिव अम्जद हुसेन सियल यो कुरा मान्दैनन् । काठमाडौँस्थित सार्क सचिवालयमा आफ्ना उत्तराधिकारीलाई कार्यभार हस्तान्तरण गरी इस्लामाबाद फर्केर पाकिस्तानको परराष्ट्र सेवाबाट अवकाश लिने तयारीमा रहेका सियललाई अनलाइनखबरले उनको कार्यकालको समीक्षा गर्न आग्रह गर्दा एउटा सम्मेलन गर्न नसकेको कुराले मात्र सिङ्गो सङ्गठनको कार्यक्षमता जाँच्न नमिल्ने तर्क गरे । प्रायजसोले भारत र पाकिस्तानबिचको द्वन्द्वका कारण शिखर सम्मेलन हुन नसक्ने बताए पनि सियलले यसलाई स्वीकार त गरेनन्, तर कुनै एक राष्ट्रले असहमति जनाउँदा पनि सम्मेलन हुन नसक्ने व्यवस्था उल्लेख गर्दै पाकिस्तानमा सम्मेलन गर्न भारत तयार हुनुपर्ने सन्देश दिए ।

प्रस्तुत छ सार्क महासचिव अम्जद हुसेन सियलसँग गरिएको कुराकानी-

तपाईँको तीनवर्षे नेपाल बसाइ कस्तो रह्यो ? राम्रो के भयो ? के कुराले दिक्क लाग्यो ?

मेरो नेपाल बसाइ अत्यन्त उपयोगी, सार्थक र स्मरणीय रह्यो । मेरो ३६ वर्षे कूटनीतिक करिअरमा म जम्मा छ वर्ष नेपाल बस्न पाएँ । सन् २०१७देखि सार्कको महासचिवका रूपमा यहाँ बस्नुअघि म सन् २००३देखि २००६सम्म सार्क सचिवालयमा पाकिस्तानको प्रतिनिधित्व गर्ने निर्देशकका रूपमा काम गरेको थिएँ ।

मैले नेपाललाई कूटनीतिक छवि, प्राकृतिक सौन्दर्य र विशिष्ट संस्कृति भएको देशका रूपमा चिनेको छु । सार्कको संस्थापक सदस्य हुनुका साथै यो देश सार्क मुख्यालय र सार्क क्षयरोग तथा एचआइभी एड्स केन्द्र रहेको ठाउँ पनि हो । नेपालले सार्क प्रक्रियामा उल्लेख्य योगदान दिएको छ । साथसाथै नेपाली जनताहरू मिलनसार र पाहुनाको स्वागतका लागि लालायित रहेको मैले पाएको छु। यस सुन्दर देशमा मैले गरेका कामहरूको मिठो सम्झनालाई म सँगालेरै राख्नेछु ।

पाकिस्तान फर्किएपछिका तपाईँका योजना केके छन् ? सार्क प्रक्रियामै संलग्न रहनुहुन्छ कि ?

त्यस्तो कुनै ठोस योजना बनाइसकेको त छैन । मलाई आशा छ कि मैले अब अवकाश पाउनेछु र परिवारसँग समय बिताउनेछु । सार्कसँगको मेरो औपचारिक सम्बन्ध छिट्टै सकिन लागे पनि यसको सफलताका लागि मैले केही योगदान गर्न सकिन्छ भने यसका लागि म सधैँ तयार नै रहनेछु । दक्षिण एसियाका नागरिकका रूपमा हामी सबैले यस क्षेत्रमा अझ गहिरो क्षेत्रीय सहकार्य प्रवर्द्धन गर्ने सार्कको उद्देश्यमा विश्वास गर्नुपर्छ । त्यसैले मेरो अवकाशपछि पनि यस क्षेत्रका जनताको कल्याण र सुस्वास्थ्य अभिवृद्धि गर्ने सार्क प्रक्रियामा सहयोग गर्दै रहनेछु ।

तपाईँको कार्यकालको समीक्षा गर्दा पछिल्लो समय सार्कले केके उपलब्धि हासिल गर्यो ?

दक्षिण एसियामा शान्ति, स्थायित्व, मित्रता तथा प्रगतिको प्रवर्धनका लागि मैत्रीपूर्ण तथा सहकार्यपूर्ण भावका साथ सहकार्य गर्ने यस क्षेत्रका देशहरूको इच्छाशक्तिको प्रतिरूप नै सार्क हो । विश्वका सम्पूर्ण मानव जातिको एक चौथाइ हिस्सा बसोबास गर्ने यस क्षेत्रमा सार्क महासचिवका रूपमा मैले काम गर्ने जुन अवसर पाएँ त्यसमा म सन्तुष्ट छु ।

मेरो कार्यकालमा सार्कका प्राथमिकतायुक्त सहकार्यका क्षेत्र भनेर सहमति गरिएका क्षेत्रहरूमा नियमित प्रगति भएको छ । विगत तीन वर्षमा दश मन्त्री स्तरीय बैठक भएका छन् । यसबीचमा हरेक वर्ष सेप्टेम्बरमा न्युयोर्कमा हुने संयुक्त राष्ट्रसङ्घीय महासभाका दौरान सार्क मन्त्रीपरिषद्को अनौपचारिक बैठक भएको छ । यी बैठकहरूमा सदस्य राष्ट्रहरूले आफ्ना प्राथमिकताका क्षेत्रमा सामूहिक गतिविधि तथा सहकार्य प्रवर्द्धन गर्ने सहमति गरेका छन् । कृषि तथा सम्बन्धित अन्य क्षेत्रमा पछिल्लो समय देखा परेका चुनौतीको सामना गर्न सन् २०१९को जुनमा सार्कका कृषि मन्त्रीहरूको बैठकले कृषि तथा ग्रामीण विकासबारे थिम्पु घोषणापत्र जारी गरेको छ । यसै गरी सोही वर्षको अक्टोबरमा यहाँका शिक्षा मन्त्रीहरूले माले घोषणापत्र र शिक्षा २०३० : सार्क कार्य योजना प्रारूप जारी गरेका छन् ।

त्यस बाहेक पनि क्षेत्रीय ऐक्यबद्धताको संवर्द्धनमा सार्कका विशिष्टीकृत अङ्ग तथा क्षेत्रीय केन्द्रहरू सक्रिय छन् । उदाहरणका लागि, दक्षिण एसियाली विश्वविद्यालयले हाम्रा युवाहरूलाई उच्च शिक्षा प्रदान गर्दै आएको छ । हालसम्म एक हजारभन्दा बढी विद्यार्थीहरूले विभिन्न विषयमा स्नातकोत्तर (मास्टर्स), दर्शनाचार्य (एमफिल) र विद्यावारिधि (पिएचडी)को उपाधि प्राप्त गरेका छन् भने करिब छ सय विद्यार्थी त्यहाँ अध्ययनरत छन् । भारत सरकारले नयाँ दिल्लीमा नयाँ क्याम्पस भवन बनाउन सुरु गरेको छ । त्यसमा १४ करोड १७ लाख अमेरिकी डलरजति लगानी हुँदै छ ।

अर्को उदाहरण पनि हेरौँ । यहाँका उपक्षेत्रीय तथा क्षेत्रीय विकास कार्यक्रमका लागि एक छाता वित्तीय संस्थाका रूपमा सार्क विकास कोष सक्रिय छ । यसको आधिकारिक पुँजी करिब डेढ अर्ब अमेरिकी डलर छ । हालसम्म यसले ४८ परियोजनाहरूको सफल कार्यान्वयन गरिसकेको छ भने ४४ परियोजनाहरू कार्यान्वयनका क्रममा छन् । हाम्रा अन्य दुई विशिष्टीकृत अङ्गहरू, इस्लामाबादस्थित सार्क मध्यस्थता परिषद् तथा ढाकास्थित सार्क क्षेत्रीय गुणस्तर सङ्गठन पनि आआफ्ना कार्यादेश अनुसार सक्रियतापूर्वक अगाडि बढिरहेका छन् ।

निश्चित क्षेत्रमा काम गर्नका लागि हाम्रा चार क्षेत्रीय केन्द्रहरू पनि छन् : ढाकास्थित सार्क कृषि केन्द्र, काठमाडौँस्थित सार्क क्षयरोग तथा एचआइभी एड्स केन्द्र, इस्लामाबादस्थित सार्क उर्जा केन्द्र र कोलम्बोस्थित सार्क सांस्कृतिक केन्द्र । काठमाडौँको क्षयरोग केन्द्रमा एक सार्क अन्तरदेशीय क्षयरोग प्रयोगशाला स्थापना हुँदै छ, यसमा हामी दश लाख अमेरिकी डलरभन्दा बढी लगानी गर्दै छौँ । यो ल्याब यस क्षेत्रकै यस किसिमको पहिलो ल्याब हुनेछ, जहाँ विशिष्टीकृत सुविधाहरू उपलब्ध हुनेछन् । श्रीलङ्कामा सांस्कृतिक केन्द्रका लागि नयाँ भवनहरू तयार हुँदै छन् । त्यहाँ श्रीलङ्काली सरकारले एक करोड अमेरिकी डलरभन्दा बढी लगानी गर्दै छ ।

शिखर सम्मेलन तब हुन्छ, जब सबै सदस्य राष्ट्रहरूले सहमति निर्माण गर्छन् । आगामी सम्मेलनबारे सहमति निर्माण गर्न सदस्य राष्ट्रहरू सक्रियतापूर्वक छलफल गरिरहेको कुरामा म निश्चिन्त छु

मलाई लाग्छ प्रस्तावित सार्क प्रवेशाज्ञा छुट योजनाले आर्थिक सम्बन्ध तथा पर्यटन मार्फत् क्षेत्रीय ऐक्यबद्धतालाई प्रवर्द्धन गर्ने बलियो सम्भावना बोकेको छ । तर हामी यो योजनालाई अझै स्तरीकरण गर्ने प्रक्रियामै छौँ । यसको कार्यान्वयनका लागि सुरक्षा सफ्टवेयर निर्माण भइरहेको छ ।

युरोपेली सङ्घ लगायत सार्कका नौ पर्यवेक्षकहरूसँग पनि परियोजनामा आधारित सार्थक सहकार्यका लागि हामी प्रयासरत छौँ ।

तपाईँले धेरै सफलता पाएको दाबी त गर्नुभयो, तर यसबिचमा एउटा पनि शिखर सम्मेलन हुन सकेन नि । आलोचकहरूले त सार्क पूरै असफल भयो भनिसकेका छन् । तपाईँ उनीहरूलाई के भन्न चाहानुहुन्छ ?

हो, शिखर सम्मेलनको आयोजना हुनु सबैभन्दा महत्वपूर्ण कुरा हो । सार्क प्रक्रियालाई यसले नयाँ उर्जा प्रदान गर्छ । पाकिस्तानको इस्लामाबादमा आयोजना गर्ने भनिएको उन्नाइसौँ शिखर सम्मेलन समयमै हुन नसकेको सत्य हो । तर हामीलाई थाहा छ कि सार्कमा सबै निर्णयहरू सर्वसम्मतिमै लिइन्छन् । अब उन्नाइसौँ सम्मेलन तब हुन्छ जब सबै सदस्य राष्ट्रहरूले सहमति जनाउँछन् । यद्यपि १८ ओटा सम्मेलनहरू सफलतापूर्वक भएका कुरालाई पनि हामीले सम्झनुपर्छ ।

सायद् उन्नाइसौँ सम्मेलन गर्न नसक्नुलाई मात्र समग्र सार्कको कार्यक्षमता मूल्याङ्कनको आधार बनाइनु उपयुक्त हुँदैन होला । हामीले हालसम्म हासिल गरेको उपलब्धिलाई हामीले बिर्सनुहुँदैन र सबै सदस्य राष्ट्रहरू सहमत भएका परियोजना तथा योजनाहरूलाई पूरा गर्नेतर्फ ध्यान दिनुपर्छ । म त सार्क चार्टरले परिकल्पना गरे अनुरूपका आफ्नो उद्देश्य हासिल गर्नमा समग्र सार्क प्रक्रिया आफ्नो स्वभाविक गतिमा अगाडि बढिरहेको देख्छु ।

प्रायः समीक्षकहरूले सार्कको सबैभन्दा ठूलो सदस्य भारतका कारण सार्क शिखर सम्मेलन हुन नसकेको बताउँदै आएका छन् । हुन पनि दिल्ली सरकारले सार्कभन्दा पनि बिमस्टेक र ब्रिक्स लगायतका अन्य क्षेत्रीय सङ्गठनहरूमा आफ्नो ध्यान बढी केन्द्रित गरेजस्तो देखिन्छ । तपाईँ पनि यसमा सहमत हुनुहुन्छ ?

अहँ, म सहमत छैन ।

अन्तर्राष्ट्रिय कानुनको सिद्धान्त अनुसार सार्कका सबै सदस्य राष्ट्रहरू बराबर हुन् । यहाँ कोही ठूलो वा कोही सानो छैन । सार्कको विधान (चार्टर) अनुसार नै सबै निर्णयहरू सर्वसम्मत रूपमा लिनुपर्ने भनिएकाले यसो भएको हो । तपाईँको पहिलो कुरा (भारतका कारण शिखर सम्मेलन हुन नसकेको)मा, म भन्न चाहान्छु कि सम्मेलनका लागि सहमति जरुरी छ । दोस्रो भनाइ (भारतले अन्य क्षेत्रीय सङ्गठनलाई प्राथमिकता दिएको)मा पनि बताइहालौँ कि भारत पनि सार्कको महत्वपूर्ण संस्थापक सदस्य हो र यसको उक्त भूमिका आज पनि कायम छ । भारतले पनि सार्क प्रक्रियामा महत्वपूर्ण योगदान दिएको छ ।

त्यसो भए यो अड्चन अन्त्य गर्नका लागि कसले के गर्नुपर्यो त ? भारतले के गर्नुपर्यो ? तपाईँको आफ्नै देश पाकिस्तानले के गर्नुपर्यो ? मुख्यालय भएको देश र हालको अध्यक्षका हैसियतमा नेपालले के गर्नुपर्यो ?

मैले पहिल्यै पनि भनिसकेँ, शिखर सम्मेलन तब हुन्छ, जब सबै सदस्य राष्ट्रहरूले सहमति निर्माण गर्छन् । आगामी सम्मेलनबारे सहमति निर्माण गर्न सदस्य राष्ट्रहरू सक्रियतापूर्वक छलफल गरिरहेको कुरामा म निश्चिन्त छु । इस्लामाबादमा छिटोभन्दा छिटो सम्मेलन होस् भनेर हालको अध्यक्ष राष्ट्रले पहल गरिरहेकै छ । शिखर सम्मेलन आयोजना गर्न र सार्कका सर्वोच्च नेताहरूलाई इस्लामाबादमा स्वागत गर्न आफू तयार रहेको कुरा पाकिस्तानले पनि दोहोर्याइरहेकै छ ।

ठीक छ, राजनीतिक इच्छाशक्तिले मात्र शिखर सम्मेलन हुन्छ भन्ने तपाईँको भनाइ रह्यो । त्यस बाहेक अब सार्कले कुनकुन क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ला ?

सार्कमा एकै क्षेत्रमा रहेका, तर आकार, जनसङ्ख्या, मानवीय स्रोत, भूगोल अनि सामाजिक, आर्थिक, औद्योगिक एवं पूर्वाधारगत हिसाबमा विविधताले भरिएका आठ देशहरू छन् । कुनै देशहरू भूपरिवेष्टित छन् भने कुलै जलपरिवेष्टित टापु । यी विविधता हुँदाहुँदै पनि क्षेत्रीय विकास र समृद्धिका लागि सार्क एक प्रभावकारी माध्यम हुन सक्छ । हामीले हवाइ, स्थल तथा जल मार्गबाट क्षेत्रीय अन्तरआबद्धतालाई अझ बलियो बनाउने उद्देश्य पूरा गर्न अनि क्षेत्रीय ऐक्यबद्धता, आर्थिक सहकार्य, व्यापार, पर्यटन तथा जनस्तरीय सम्बन्धलाई प्रवर्द्धन गर्न अझ सक्रिय भएर लाग्नुपर्नेछ ।

यस सन्दर्भमा तत्कालै तीन मुख्य सहमतिहरूलाई अन्तिम रूप दिनुपर्ने आवश्यकता म देख्छु । सवारी साधन, रेल तथा हवाइ सेवा सम्बन्धी तीन छुट्टाछुट्टै सहमति निर्माण गर्न सकियो भने क्षेत्रीय अन्तरआबद्धता तथा ऐक्यबद्धता अझ बलियो हुन्छ । अझ महत्वपूर्ण कुरा, क्षेत्रीय सहयोगका लाभहरूलाई परियोजनामा आधारित सहकार्य मार्फत् आम जनता समक्ष पुर्याउन हामीले अझ धेरै बल लगाउनुपर्नेछ । आगामी दशकमा हामीले सार्कलाई वास्तविक अर्थमा जनकेन्द्रित सङ्गठन बनाउनुपर्नेछ । गरिबी निवारण गर्न तथा सदस्य राष्ट्रहरूबिच शैक्षिक एवं आर्थिक सहकार्य गर्न हामीले हातेमालो गर्नुपर्ने छ । सार्कभित्रको व्यापार बढाउनुपर्नेछ ।

तर तपाईँलाई थाहै होला, यस्ता कामका अगाडि बग्रेल्ती समस्या छन् । यदि तपाईँले आफ्ना अनुभवका आधारमा ती समस्याका समाधान सिफारिस गर्नुपर्यो भने के भन्नुहुन्छ ?

आज दक्षिण एसियाले खेप्नुपरेका चुनौतीहरू पार गर्ने एक मात्र उपाय भनेको सार्क सदस्य राष्ट्रहरूबिचको क्षेत्रीय ऐक्यबद्धता र सहकार्यलाई थप बलियो बनाउनु नै हो । सार्क प्रक्रियालाई निरन्तर अगाडि बढाउनका लागि राजनीतिक उर्जाको नवीकरण हुनुपर्छ । त्यसका लागि सार्क शिखर सम्मेलन र विधानले तोके बमोजिमका अन्य बैठकहरू नियमित हुनु अत्यन्त जरुरी छ । राष्ट्रिय स्तरमा गरिएका निर्णयहरूको समयमै कार्यान्वयन हुनु पनि सार्क लगायतका क्षेत्रीय सहकार्यका ढाँचाहरूलाई थप प्रभावकारी बनाउन महत्वपूर्ण हुन्छन् ।

अन्त्यमा, सार्कको भविष्य कस्तो देख्नुहुन्छ ?

यस क्षेत्रका जनताहरूका लागि सार्क आशाको किरण हो । दक्षिण एसियाको सामाजिक तथा आर्थिक विकासका लागि माध्यम बन्ने क्षमता यससँग आज पनि छ । सार्क यस क्षेत्रका जनताको कल्याण तथा सुस्वास्थ्यका लागि बनाइएको मञ्च हो । आजको अन्तर्सम्बन्धित संसारमा यसको सान्दर्भिकता अझ बढेको छ ।

मैले अघि भनेका तीन सहमतिलाई कार्यान्वयन गर्ने हो भने हाम्रो क्षेत्रीय ऐक्यबद्धता तथा अन्तरआबद्धता अझ बलियो हुन्छ । मेरो दृढ आशा के पनि छ भने स्वतन्त्र व्यापार क्षेत्र, भन्सार युनियन, साझा बजार र साझा आर्थिक एवं मौद्रिक युनियनका माध्यमबाट दक्षिण एसियाली आर्थिक युनियनको स्थापना गर्ने हाम्रा नेताहरूको सपना पनि योजनाबद्ध ढङ्गमा छिट्टै कार्यान्वयन हुनेछ ।

(सार्क महासचिव सियलसँग गरिएको कुराकानी अनलाइनखबरको अंग्रेजी संस्करणमा पनि पढ्न सकिन्छ ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment