Comments Add Comment

स्यानिटाइजर छर्केर मात्र सेवा दिन थाल्यो साझा बसले

बसमा खचाखच यात्रुहरु पनि भर्दैनौं : पाण्डे

४ चैत, काठमाडौं । साझा यातायातले कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि बसभित्र स्यानिटाइजर छर्केरमात्र सेवा सुरु गर्न थालेको छ । यात्रुहरुको सुरक्षालाई प्राथमिकतामा राख्दै स्यानिटाइजर छर्किसकेपछि मात्र बसहरु आ–आफ्नो रुटमा निस्कने गरेको साझा यातायातले जनाएको छ ।

साझा यातायातका निमित्त प्रमुख कार्यकारी अधिकृत महेन्द्र पाण्डेका अनुसार अनुसार यही चैत एक गतेदेखि हरेक दिन सबै बसहरु सफा गरेर किटाणु नाशक स्प्रे गर्ने गरिएको छ । बसभित्र सिट, ह्याण्डलजस्ता बढी छोइने वस्तुहरुमा पनि स्यानिटाजरले पटक–पटक सफा गर्ने गरेको उनले बताए ।

‘यात्रुहरुको सुरक्षा हाम्रो पहिलो प्राथमिकता हो, त्यही अनुसार स्यानिटाइज गर्दै आएका छौं,’ उनले भने, ‘स्वास्थ्य विभागले जारी गरेको र हामी आफैंले पनि तयार पारेको पर्चा पम्पलेटमार्फत् स्वास्थ्यसम्बन्धी सूचना पनि दिने गरेका छौं ।’

पाण्डेका अनुसार बसका चालक र परिचालकहरुलाई स्वास्थ्य परीक्षण गरेर मात्र काममा खटाउने गरिएको छ । उनीहरु सबैले मास्क पनि लगाउने गरेका छन् ।

कोरोना भाइरसको संक्रमणबाट जोगिन व्यक्तिगत दूरी राख्नु पर्ने भएकाले साझा बसका चालक र परिचालकहरुले सकेसम्म बसमा खचाखच यात्रुहरु नभर्ने पाण्डेले जानकारी दिए ।

उनले भने, ‘सबै सार्वजनिक सवारी साधनहरुले गर्नुपर्ने यस्तै हो । हामीले सुरु गर्‍यौं, अब अरुले पनि गर्छन् भन्ने विश्वास छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment