Comments Add Comment

ईयू आबद्ध देशहरूको सीमा नाका ३० दिन बन्द

५ चैत, काठमाडौं । युरोपियन युनियन (ईयू) आबद्ध देशहरूले ३० दिन सीमा नाका बन्द गर्ने निर्णय गरेका छन् । प्राणघातक कोरोनाविरुद्ध जुधिरहेका ईयूका मुलुकहरूले थप सतर्कता अपनाउँदै नाका बन्द गर्ने निर्णय गरेका हुन् ।

सीमा बन्द गर्ने यो निर्णय आइसल्यान्ड, लिकस्टेन, नर्वे र स्विट्जरल्यान्डसहित ईयू आबद्ध २६ देशले अवलम्बन गर्ने अपेक्षा गरिएको छ ।

प्रतिबन्धले गैरईयू नागरिकहरूलाई भ्रमण गर्नबाट असर पार्नेछ । लामो अवधिको बासिन्दा, ईयूका परिवारका सदस्य, कूटनीतिज्ञ, स्वास्थ्यकर्मी र सामान ढुवानी गर्ने मानिसहरूका हकमा भने प्रतिबन्ध लागू नहुने बीबीसी समाचारमा उल्लेख छ ।

हुबेई प्रान्तको उहान उद्गम भएर फैलिएको कोरोना भाइरसको संक्रमणले चीनपछि युरोपेली देशहरूलाई समातेको छ । युरोप क्षेत्रको इटली, स्पेन र फ्रान्समा यसले महामारीको रूप लिइरहेको छ ।

वर्ल्डओमिटर्सका अनुसार, इटलीमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या २५ सय ३ पुगेको छ । मंगलबार मात्रै यहाँ थप ३४५ को ज्यान गएको छ । ३१ हजार ५ सय ६ जना संक्रमित छन् ।

स्पेनमा एकै दिन १९१ मानिसको ज्यान गएपछि कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय ३३ पुगेको छ । फ्रान्समा १ सय ७५ र जर्मनीमा २६ जनाको ज्यान गएको छ ।

कोरोनाविरुद्ध लड्न विभिन्न उपाय अवलम्बन गरेका ईयू सम्बद्ध राष्ट्रहरूले मृत्युदर ह्वात्तै बढेपछि लिएको नाका बन्द गर्ने निर्णयले संक्रमण घट्ने ठानिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment