Comments Add Comment

नेपालमा सोसल वर्कका विद्यार्थी बढे, तर तिनले के पढे ?

५ चैत, काठमाडौं । काठमाडौँको डिल्लीबजारस्थित एउटा निजी कलेजमा स्नातक दोस्रो वर्ष पढ्ने विद्यार्थी हुन् श्रीप्रभा क्षेत्री (परिवर्तित नाम) ।

उनको एउटा मूल विषय हो : सोसल वर्क (सामाजिक कार्य) । “मलाई थाहा छ कि यो विषयमा धेरै प्राक्टिकल गर्नुपर्छ, तर हाम्रा शिक्षकले कक्षामा सतही तरिकाले पढाएर छाडिदिन्छन्,” उनी भन्छिन् ।

“पहिला धेरै मान्छेले पढेको देखेर सोसल वर्क पढियो, तर आज दोस्रो वर्षको मध्यतिर पुगेपछि बुझ्दै छु यो पाराले म अर्को वर्ष पास त हुन सकुँला, तर सोसल वर्कर बन्न चाहिँ सक्दिन ” उनको भनाइ छ ।

हरेक वर्ष मार्चको तेश्रो मंगलबार विश्व सामाजिक सेवा दिवस विश्वव्यापी रुपमा मनाउने गरिन्छ। नेपालमा पनि सन् २०१३  देखि तामझामकासाथ यो दिवस मनाउने गरिएता पनि यो पालि भने कोरोना भाइरसको प्रभावले उक्त कार्यक्रम स्थगित भयो। यस्ता कार्यक्रममा नेपालमा हरेक वर्ष एउटै विषय उठ्छ : सोसल वर्कले धेरै विद्यार्थी तान्यो, अब व्यावसायिक बनाउनुपर्छ ।

नेपालमा सोसल वर्क शिक्षामा नेतृत्वदायी व्यक्तिहरुले पहिचान र व्यवसायीकरणको आवाज उठाउने गरेका छन्। तर व्यवसायीकरण गर्न आवश्यक आधारभूत कुराहरु हासिल भएको/नभएको भन्नेबारे अध्ययन र मूल्यांकन भने भएको पाइएको छैन।

सन् १९९६ मा औपचारिक शिक्षा सुरु भए यता दशौँ हजारले यो विषय पढिसकेका छन् भने अहिले पनि हजारौंले यो विषय अध्ययन गरिरहेका छन्।

तर यस विषयसंग सम्बन्धित कार्यक्षेत्र भने तत्काललाई राष्ट्र तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुमा सीमित छ। यी संस्थाहरुमा पनि सामाजिक कार्यकर्ताको रुपमा नभई प्रायजसो प्रशासनिक कामहरु गर्नुपर्ने र समाज सेवामा आफ्नो ज्ञानको कमै मात्रामा उपयोग हुने अवस्था छ ।

सीमित कार्यक्षेत्र भएको अवस्थामा सामाजिक सेवालाई पेशाको रुपमा स्थापना गर्नुको उद्देश्य के हो त भन्ने अन्योल त छँदैछ, त्यसमाथि हाल अध्यापन गराइने सोसल वर्क विषयमा समाजिक सेवाको तर्जुमा पनि राम्ररी भएको छैन । यस्तो अवस्थामा कस्ता सामाजिक कार्यकर्ताको उत्पादन भइरहेको छ भन्ने प्रश्नको जवाफ जटिल भएको आंकलन गर्न सकिन्छ।

विद्यमान सोसल वर्क शिक्षाले पर्याप्त मात्रामा योग्य पेशेवर सामाजिक कार्यकर्ताहरु र अनुसन्धानदाताहरु उत्पादन गर्न नसकेको शिक्षकहरु तर्क गर्छन्।

सन् २०१७ मा अस्ट्रेलियाको न्युकासल विश्वविद्यालयमा सोसल वर्कमा विद्यावारिधि गरेका डा. राज यादव भन्छन्, “नेपालमा पढाइ हुने कोर्सको मूल्यांकन गर्ने हो भने पहिला पढाइ भएका र परिमार्जित भई आएका नयाँ पाठ्यक्रमले सीपमूलक शिक्षा दिन सक्ने अवस्था छैन।“

अरु विकसित देशहरुबाट हुबहु तानेर पाठ्यक्रम बनाएकाले नेपालमा पढाइ हुने यो विषयले नेपालकै सन्दर्भलाई समेट्न नसकेको र नेपाली समाजमै भएका समस्याहरुको समाधान गर्ने सीप यसले दिन नसकेको यादव तर्क गर्छन् ।

“सोसल वर्कको पाठ्यक्रम बनाउँदा नेपालमा कस्तो सोसल वर्क चाहिन्छ, सोसल वर्क शिक्षा भनेको के हो, यसको नेपाली इतिहास के छ, यसको पोटेन्सियल के हो, यसका कमी कमजोरी के-के छन् भन्ने कुराको खाका नै नबनाई हचुवा तालमा आफूलाई जे-जे मन लाग्छ त्यहि कुरा हाल्ने परिपाटी देखियो” उनले भने ।

यादवको भनाइमा सहमति जनाउँदै बेलायतको हल विश्वविद्यालयमा २०१३ मा सोसल एन्थ्रोपोलोजीमा विद्यावारिधि गरेका डा. सुजीत कर्ण भन्छन्, “कोर्स डिजाइन गर्दा यो विषयले कस्तो खाले जनशक्ति उत्पादन गर्ने, यी जनशक्तिलाई कस्तो खाले सीपहरु दिने र यो सीपहरु नेपाली समाजमा कसरी उपयोग गराउने भन्ने कुरामा ठूलो ग्याप छ ।”

सम्वर्द्धन र विद्यार्थी सङ्ख्याका आधारमा त्रिभुवन विश्वविद्यालय नेपालमा सोसल वर्क पढाउने सबैभन्दा ठूलो संस्था हो। सयौँ शिक्षण संस्थाहरुबाट हजारौँ विद्यार्थीहरुलाई यो विषय अध्यापन गराइन्छ । तर भिजनबिना सोसल वर्कको स्नातकोत्तर र स्नातक पढाइको कारण शिक्षाको गुणस्तर राम्रो नभएको तर्क विज्ञहरुको छ।

प्रमाण र अभ्यासरहित सोसल वर्क

डा. कर्ण र डा. यादवका अनुसार कक्षाकोठामा पढाइ हुने सोसल वर्क प्रमाणहरुमा आधारित हुनुको साटो तर्कसंगत उदाहरणहरु प्रस्तुत गर्ने गरिन्छ।

डा. कर्ण भन्छन्, “विद्यार्थीहरुले फिल्ड्वर्कबाट सीपहरु सिक्नुपर्ने हो। तर उनीहरुलाई सिकाउन सक्ने क्षमता नेपालमा धेरै अध्यापकहरुमा छैन । विद्यार्थीहरुले फिल्डबाट ल्याउने डेटा कसरी प्रयोग गर्ने भन्ने कुरा टिचरहरुलाई नै थाहा हुदैन। जसका कारण फिल्डवर्कको वास्तविक परिणाम देखिदैन।”

डा. यादव पनि सोही कुरा दोहोर्‍उँछन्, “सोसल वर्क एउटा अभ्यासमा आधारित विषय हो । विद्यार्थीहरुले किताबभन्दा पनि प्राक्टिकल्ली सीप लिनुपर्छ। तर पढाउने शिक्षकहरुले नै सिकाउन नसकेको अवस्थामा राम्रो अभ्यास गर्ने खालको परिपाटी नेपालमा बसिसकेको छैन।”

यसैबारे हाल बोस्टन विश्वविद्यालयमा विद्यावारिधि गरिरहेका सञ्जिब दाहाल भन्छन्, “सीप र ज्ञानमा केन्द्रित एउटा बलियो पाठ्यक्रम सँगसँगै कौशल शिक्षक, राम्रो फिल्डवर्क पर्यवेक्षण तथा पढेका कुराहरुलाई अभ्यासमा उतार्न सक्ने राम्रा अवसरहरु आवश्यक पर्छन् । तर नेपाललाई हुने सोसल वर्कको पाठ्यक्रमले यो विषयमा आइपर्ने समस्या समाधान गर्ने पेशेवरहरुको विकासको लागि मार्गदर्शन दिन सक्ने क्षमता राख्दैन ।”

सोसल वर्कको २४ वर्षे शैक्षिक इतिहासमा थोरै मात्रामा मात्र अनुसन्धानकर्ताहरु उत्पादन भएका छन् ।

दाहालले पाठ्यक्रममै भएका कमीकमजोरीका कारणले यस्तो भएको औँल्याउँछन्, “नेपालका पाठ्यक्रम अध्येता उत्पादन गर्ने उद्देश्यका लागि बनाइएको देखिँदैन । दोस्रो, यसले समालोचनात्मक सोचाइलाई प्रोत्साहन गर्दैन र तेस्रो यसले विध्यार्थीहरुलाई अध्ययन गर्ने क्षमता वा सीप दिन सक्दैन ।’

यदि ५० जना विद्यार्थीमा ५ जना अध्ययनकर्ता भएर निस्किएमा शैक्षिक संघसंस्थाहरुले क्रेडिट लिन नमिल्ने डा. कर्ण बताउँछन् । “बाँकी ४५ जना पनि राम्रा अध्ययनकर्ता भएर निस्कने अवस्था आउनुपर्छ” उनी भन्छन् ।

संरचनाका त्रुटीहरु

नेपालको सोसल वर्कको संरचना यो विधा र विद्यार्थीप्रति जिम्मेवारी र जवाफदेही नभएको डा. यादव तर्क गर्छन् ।

“माथिल्लो तहमा रहेको शिक्षा मन्त्रालय र विश्वविद्यालय नै शिक्षालाई परिमार्जन गर्दै लाने कुरामा लचक देखिदैन। पहिलै देखि आलोचनात्मक रहेको प्रणालीमै सोसल वर्क पढाउँदा यी समस्या आएको हो” उनले भने ।

आफैले लेखेको किताब, डिकोलोनाइज्ड एण्ड डेभलपमेन्टल सोसल वर्क: अ मोडल अफ नेपाललाई उदृत गर्दै उनले भने, “नेपालको सोसल वर्कको शैक्षिक इतिहासलाई तीन तहमा विभाजन गर्न सकिन्छ: सन् १९९६ देखि २००४ सम्म विगिनिङ फेज (जुन समय सोसल वर्कको संरचना बन्यो); २००४ देखि २००९ सम्म पपुलारिटी फेज (सोसल वर्क फस्टाएको समय); र २००९ पश्चात डिसइल्यूजन फेज । २००९ पछि सोसल वर्क एक किसिमले दिशाविहीन भयो।”

डा. कर्णले समान विचार राखे, “सुरुवाती चरणमा सोसल वर्क नेपाल भित्रिँदा यसको उद्देश्य र औचित्य प्रष्ट थियो । यो विषय सफल होला नहोला भन्ने कुरामा सबै सहजकर्ताहरुमा डर थियो र त्यही डरकै कारण यो कार्यक्रमलाई सफल बनाउनै सबैजना लागिपरेका थिए ।”

तर स्नातक तहमा ल्याइएको यो विषयलाई स्नातकोत्तर र विद्यावारिधिमा विस्तार गर्नु अगाडि नै यो विषयले बजार विस्तार गर्दा पढाउन र सीप सिकाउन सक्ने सक्षम जनशक्ति उत्पादन हुन नपाएको उनले तर्क गरे।

यही कुराले गर्दा सामाजिक परिवेशमा गएर काम गर्ने सीप भएको जनशक्ति थोरै मात्रामा रहेको कुरामा विज्ञहरु सहमति राख्छन् ।

डा. कर्ण भन्छन्, “यसलाई एकोहोरो रुपमा संस्था वा व्यक्तिविशेषको मात्र दोश हो भन्न मिल्दैन। यो समस्या धेरै जटिल र बहुआयामिक छ । तर नेतृत्वदायी भूमिका खेलेका मानिस र संस्थाले यसलाई कसरी सुधार्ने भन्ने कुरामा ध्यान नदिई आन्तरिक राजनीति र चलखेलमा रुमल्लिएका छन् ।”

हाल सञ्चालनमा रहेका धेरै शैक्षिक संस्थाहरु विद्यार्थीको आवश्यकता पूरा गर्नुभन्दा पैसा कमाउने भाडो भएको दाहालको बुझाई छ।

“अहिलेको अवस्था जुन छ, त्यसका लागि सबै सरोकारवालाहरुले (शैक्षिक संस्था, शिक्षक र विद्यार्थीहरु) जिम्मेवारी र जवाफदेही हुनुपर्छ । खाली संरचना र प्रणालीलाई मात्र दोष दिनु उचित हुदैन” उनले भने ।

सोसल वर्कको व्यवसायीकरण

हरेक वर्ष सोसल वर्क दिवसमा व्यवसायीकरण र लाइसेन्सको माग उठ्ने गरेको छ। तर अहिलेको परिस्थितिमा यो कुरालाई प्राथमिकतामा राख्न नहुने तर्क डा. यादवको छ।

“सोसल वर्कलाई एउटा पेशा बनाउन अघि आचारसंहिता निर्माण गरिनुपर्छ। आचारसंहिता भनेको सोसल वर्कको अभ्यासको आधार हो तर यसको विकास गर्ने, सोसल वर्कलाई नेपाली समाजमा भिज्न सक्ने बनाउन अहिलेसम्म पहल भएको छैन ” उनले भने ।

नेपाली सोसल वर्कलाई अघि बढाउन यसलाई पेशागत बनाउन आवश्यक रहेको दाहालको विचार छ ।

“तर त्यसअघि पर्याप्त संरचनाहरू र संसाधनहरू निर्माण गरिनुपर्छ। त्यसका लागि सोसल वर्क शिक्षाको मापदण्ड बनाउन सक्ने एउटा कार्यकारी निकायको रुपमा काउन्सिल स्थापना गर्न, शिक्षक र अभ्यासकर्ताहरुको प्रशिक्षण, र अभ्यास र शिक्षामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समन्वय गरी एउटा बलियो पाठ्यक्रम र यसको प्रभावकारी कार्यान्वयन, सोसल वर्कसम्बन्धी अनुसन्धानहरू गर्न र अन्य सम्बन्धित क्षेत्रहरूमा प्रभावी सोसल वर्क अभ्यासको लागि आवश्यक सीपहरू विकास गर्न जरुरी छ ।”

सायद त्यसपछि मात्र क्षेत्रीजस्ता विद्यार्थी आफ्नो शिक्षा र पेशामा ढुक्क हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment