Comments Add Comment

लिखु तामाकोसीको बजेट ९ महिनापछि पारित

५ चैत, रामेछाप । असार महिनामै पास गरेर साउन महिनाबाट कार्यान्वयनमा आउनु पर्ने गाउँपालिकाको बजेट तथा कार्यक्रम लिखु तामाकोसी गाउँपालिकाले चैत महिनामा आएर पास गरेको छ ।

गाउँपालिकाका निर्वाचित जनप्रतिनिधिहरुको आपसी विवादको कारण गाउँपालिकाको सम्पूर्ण विकासको काम ८ महिनासम्म रोकिएको हो ।

गाउँपालिकाका अध्यक्ष गोविन्द खड्काले विद्युतीकरणमा अनियमितता गरेको भन्ने विषयलाई लिएर सुरु भएको विवादका कारण ८ महिनासम्म पालिकाको सम्पूर्ण काम ठप्प भएको थियो ।

नेकपाले पार्टीबाट विजयी भएका अध्यक्ष खड्काले पार्टीको गतिविधिविरुद्ध काम गरेको भन्दै निलम्बन गरेको थियो । लामो समयसम्म पनि विवाद समाधान नभएपछि नेकपा बागमती प्रदेश कार्यालयको बैठकले विवाद समाधान गर्न सांसद श्रेष्ठको संयोजकत्वमा समिति बनायो ।

समितिमा नेकपा रामेछापका सचिव एवम् बागमती प्रदेशका सांसद शान्ति पौडेल र नेकपा लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष सदस्य रहेका थिए ।

विवाद समाधान समितिको पहलबाट गाउँपालिकाको बैठक राखी ०७६ चैत २ गते गाउँ सभाबाट बजेट तथा कार्यक्रम पास गरिएको बागमती प्रदेशका सांसद शान्तिप्रसाद पौडेलले जानकारी दिए ।

गाउँपालिकाको बजेट आर्थिक वर्षको बजेट कार्यान्वयनको समय २ महिना मात्र बाँकी हुँदा पास भएको छ । यसले पालिकामा रहेका कर्मचारीहरुलाई तलब खाने बाटो फुके पनि विकासका काममा थप अनियमितता हुने डर बढेको स्थानीय बताउँछन् । १० महिनामा गर्नु पर्ने विकासको काम २ महिनामा सक्ने गरी जनप्रतिनिधिहरु लागेका छन् ।

गाउँपालिकाको सभाले यस आर्थिक वर्षको लागि ५३ करोड ७४ लाख ६१ हजार ५६१ रुपैयाँको बजेट पारित गरेको छ । बजेट पास नहुँदा साउन महिनादेखि पालिकाका कर्मचारीहरुले तलब खान पाएका थिएनन् ।

यसैगरी शिक्षकलगायतका स्थायी कर्मचारीहरुले दशैंयताको तलब खान पाएका थिएनन् । विद्यार्थीहरुको छात्रावृत्ति, खाजाको रकम, सामाजिक सुरक्षा भत्तालगायतको रकमसमेत विवादको कारण वितरण हुन सकेको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment