Comments Add Comment

दक्षिणपूर्वी एसियामा कोरोना फैलिनसक्ने डब्लूएचओको चेतावनी

५ चैत, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना भाइरस कोभिड–१९ लाई नियन्त्रणका लागि केही एसियाली मुलुकले आक्रामक योजना बनाउनुपर्नेमा जोड दिएको छ । उपयुक्त योजना नल्याउँदा कोरोना संक्रमणलाई रोक्न निकै कठिन हुने उसले बताएको छ ।

डब्ल्यूएचओको चेतावनीपछि एसियाली मुलुकले भाइरस नियन्त्रणका लागि थप योजना अघि सारेका छन् । मलेसिया, श्रीलंका र फिलिपिन्स यसरी भाइरस नियन्त्रणको थप योजना अघि सार्ने मुलुक हुन् । तीन मुलुकले सीमा नाकामा थप कडाइ गरेका छन् ।

अहिलेसम्म विश्वभर यो भाइरसको संक्रमितको संख्या २ लाख पार भएको छ भने ८ हजारभन्दा बढीको ज्यान गएको पुष्टि भएको छ ।

दक्षिण एसियामा कोरोनाको संक्रमण ५०० जना भन्दा कममा देखिएको छ । तर यहाँको स्वास्थ्य प्रणालीका कारण जुनसुकै समयमा भाइरसको महामारी फैलिने जोखिम रहेको बताइएको छ ।

डब्ल्यूएचओको चेतावनीमा के छ ?

डब्ल्यूएचओले दक्षिणपूर्वी एसियालाई लक्षित गरेर चेतावनी जारी गरेको हो, जसमा इन्डोनेसिया, श्रीलंका, थाइल्याण्ड, बंगलादेश र उत्तर कोरियासहितका मुलुक पर्छन् ।

डब्ल्यूएचओको दक्षिण पूर्वी एसियाका क्षेत्रकी निर्देशक पुनम खेत्रपाल सिंहले मानिसहरुलाई भाइरसबाट बचाउने प्रयास बढाउनुपर्ने बताएकी छिन् । दक्षिण पूर्वी एसियाली केही मुलुकमा कोरोनाको प्रकोप सजिलै फैलिनसक्ने डब्लूएचओको अनुमान छ । उसले पहिचान, परीक्षण, उपचार आइसोलेसेनमा ध्यान दिन सुझाव दिएको छ ।

कहाँ फैलिरहेको छ संक्रमण ?

अहिलेसम्म कोरोना विश्वका अधिकांश मुलुकमा देखिएको छ । म्यानमार र लाओसमा भने कुनै संक्रमण फेला परेको छैन । म्यानमार सरकारका प्रवक्ताले आफ्नो खानपान र जीवनशैलीले भाइरसबाट आफूहरुलाई बचाएको दाबी गरेका छन् । विशेषज्ञहरुले भने यसमा त्यति विश्वसनीयता नरहेको भन्दै आशंका व्यक्त गर्छन् ।

चीनमा संक्रमितको संख्या अझै उच्च छ तर चीनमा नयाँ संक्रमितको संख्यामा भने धेरै कमी आएको छ । दक्षिण कोरियाले पनि आफ्नो मुलुकमा भाइरसलाई नियन्त्रणमा राख्दै आफूलाई सबैभन्दा प्रभावित मुलुकको सूचीमा छैठौं स्थानमा झारेको छ । अहिले दक्षिण कोरियाले धेरै मानिसहरुमा यो भाइरसको परीक्षण बढाएको छ ।

पाकिस्तानमा समग्र संक्रमितको संख्या २५४ पुगेको छ । यससँगै दक्षिण एसियामा प्रभावित हुनेको संख्या ४९० नाघेको छ ।

इन्डोनेसियामा पनि यो भाइरसको संक्रमितको संख्या २२७ पुगेको छ । त्यहाँ कोरोनाबाट १९ जनाको ज्यान गइसकेको छ । मलेसियानमा पनि उल्लेख्य मात्रामा यसको प्रभाव बढिरहेको छ ।

दक्षिण पूर्वी एसियाका मुलुकले के गरिरहेका छन् ?

बुधबारदेखि लागू हुने गरी मलेसियाले आफ्ना नागरिकलाई विदेश भ्रमण गर्न र विदेशीलाई मुलुकमा प्रवेश गर्न रोक लगाएको छ । मलेसियाको राजधानी क्वालालम्पुरका सडक सुनसान छन् र सुपरमार्केटलाई पनि सामाग्री बिक्री सीमित पार्न भनिएको छ ।

थाइल्याण्डले विद्यालय, बार, सिनेमा र अन्य मनोरञ्जनका केन्द्रहरु बन्द गरेको छ । फिलिपिन्सले सबैभन्दा कडा कदम चाल्दै आफ्नो आधा जनसंख्यालाई नै क्वारेन्टाइनमा राख्ने निर्णय गरेको छ । उसले अन्तर्राष्ट्रिय हवाइ उडानमा लगाएको प्रतिबन्ध भने हटाएको छ तर मुलुकमा प्रवेश गर्नुअघि निकै कडा क्वारेन्टाइनमा बस्नुपर्ने हुन्छ ।

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भने राष्ट्रको नाममा सम्बोधन गर्दै यो भाइरसबाट डराउनुपर्ने अवस्था नरहेको बताएका छन् । पाकिस्तानमा पनि सबै हवाई यात्रुलाई कोरोना भाइरसबाट सुरक्षित रहेको प्रमाणपत्र देखाउनुपर्ने व्यवस्था लागू गरिएको छ ।

श्रीलंकाले गत बुधबारदेखि मुलुकमा भित्रिने सबै उडानमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । भारतले भाइरसलाई रोक्न करिब दुई दर्जन लामो दूरीको रेल सेवामा प्रतिबन्ध लगाएको छ ।

इन्डोनेसियाले आर्थिक वृद्धिदर बढाउन ८ अर्ब डलरको आर्थिक सहायता कोषको घोषणा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment