Comments Add Comment

प्रदेशको ५ को नाम ‘थरुहट-अवध-मगरात’ राख्न समाजवादीको माग

५ चैत, बुटवल । समाजवादी पार्टीले प्रदेश ५ को नाम ‘थरुहट-अवध-मगरात’ राख्न माग गरेको छ । पार्टीले बुधबार पत्रकार सम्मेलन गरी प्रदेश ५ थारु, मधेशी र मगरहरुको वाहुल्य भएको प्रदेश भएकाले सबैलाई अपनत्व र पहिचान हुने गरी ‘थरुहट-अवध-मगरात’ राख्न माग गरेको हो ।

प्रदेश ५ को कूल जनसंख्या मध्ये थारु, मधेशी र मगरको जनसंख्या ८० प्रतिशतभन्दा बढी रहेकाले उनीहरुको पहिचान र अपनत्वका लागि ‘थरुहट-अवध-मगरात’ राख्न उपयुक्त हुने पार्टीका प्रदेश अध्यक्ष अशोककुमार यादवले बताए । ‘संघीयता भनेकै ऐतिहासिक पहिचान, अधिकार र अपनत्वका लागि हो,’ यादवले भने, ‘पञ्चायती व्यवस्थाकै जस्तो पहिचान विरोधी नामाकरण समाजवादीलाई स्वीकार्य छैन ।’

पार्टीले प्रदेशको स्थायी राजधानी प्रदेशका सबै जिल्लाका नागरिकलाई पायक पर्ने स्थानमा राख्न माग गरेको छ । सबै जिल्लाका नागरिकलाई पायक पर्ने स्थान कहाँ भन्ने बारे भने पार्टीले स्पष्ट पारेको छैन ।

पार्टीले प्रदेशको नामाकरण र स्थायी राजधानीसम्बन्धमा मुख्यमन्त्री शंकर पोखरेललाई ज्ञापनपत्र समेत बुझाएको छ ।

यस्तै पार्टीले कोरोना भाइरसको संक्रमण भित्रिन नदिन भारतसँग सीमा जोडिएका सबै नाकामा क्वारेन्टाइनको व्यवस्था गर्न, हालै परेको असिना पानीले अन्नबाली र तरकारीमा पारेको क्षतिको क्षतिपूर्ति दिन,कृषि अनुदान पहुँचवालालाई भन्दा वास्तविक किसानले पाउने गरी कार्यदल बनाएर मात्र वितरण गर्न माग गरेको छ । पार्टीले जनयुद्ध,मधेश तथा थरुहट आन्दोलनका क्रममा घाइते, अपाङगहरुको निःशुल्क उपचार गर्न र झुठा मुद्दा खारेज गर्न समेत माग गरेको छ ।

जनयुद्धका समयमा तत्कालीन जनसरकारले जग्गा किनबेच सम्बन्धी गरेको निर्णयका कारण अहिले जनता दुई मारमा परेकाले पीडित नागरिकलाई न्याय दिन सर्वपक्षीय कार्यदल गठन गरी समस्या समाधान गर्न पार्टीले माग गरेको छ ।

चुरे क्षेत्रमा भैरहेको ब्यापक दोहनले पर्यावरणमा पारेको असरलाई रोक्न, प्रदेशमा व्याप्त महिला हिंसालगायत जघन्य अपराध,कुटपिट,बलात्कार जस्ता घटना बढ्दै गएकाले दोषीलाई पक्राउ गरी कारबाही गर्न र हिंसा न्युनीकरणका लागि कार्यक्रम सञ्चालन गर्न र अव्यवस्थित तथा सुकुम्बासी समस्या समाधान गरी व्यवस्थित र सुरक्षित आवासको हकलाई व्यवहारतः लागु गर्न पार्टीले माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment