Comments Add Comment

सुनसान पोखरा : धर्मराउँदै व्यवसायी !

६ चैत, पोखरा । गत साता पोखराका पर्यटन व्यवसायी टोली बाँधेरै काठमाडौं पुगे । त्यहाँ उनीहरुले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री डा. युवराज खतिवडा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र पर्यटनमन्त्री योगेश भट्टराई प्रत्यक्ष भेट्दै माग राखे, ‘कोरोना भाइरसले पोखराको पर्यटन संकट पर्‍याे, राहतको व्यवस्था गरिदिनुस् ।’

हुन पनि पोखराको यो मौसम भनेको आन्तरिक तथा बाह्य पर्यटकले खचाखच हुने समय हो । तर, महामारीका रुपमा संसारभर फैलिरहेको कोभिड–१९ नामक भाइरस र त्यसको त्रासका कारण यतिबेला पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइड सुनसानजस्तै छ ।

हरेक दिनजसो पर्यटकको घुइँचो लाग्ने लेकसाइडमा अहिले फाटफुटमात्रै विदेशी पर्यटक देखिन्छन् । पोखरा भएर पुगिने विभिन्न पदमार्ग पनि यतिबेला सुनसान छन् । अधिकांश होटल तथा रेस्टुरेन्ट खाली देखिन्छन् । भरिभराउ देखिने लेकसाइड फुटट्रयाक वरपरका रेस्टुरेन्ट अहिले ग्राहकको पर्खाइमा छन् ।

पोखराको यो मौसम भनेको आन्तरिक तथा बाह्य पर्यटकले खचाखच हुने समय हो । तर महामारीका रूपमा संसारभर फैलिरहेको कोभिड–१९ नामक भाइरस र त्यसको त्रासका कारण यतिबेला पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइड सुनसानजस्तै छ

पोखरेली पर्यटन व्यवसाय संस्थाका छाता संगठन पोखरा पर्यटन परिषद् अध्यक्ष चिरञ्जीवी पोखरेल पोखरामा विदेशी पर्यटकको संख्या ‘शूून्य’ भइसकेको बताउँछन् । ‘केही समयअघि आएर ट्रेकिङ गएका पाहुनामात्र छन् । नयाँ पर्यटक आउने ठ्याम्मै बन्द भइसक्यो,’ उनले भने, ‘पर्यटन व्यवसायी अब घाम तापेर बस्ने बेला भइसक्यो ।’

गत वर्ष मार्च र अप्रिलमा पोखराका होटलमा ८० प्रतिशतसम्म होटल अकुपेन्सी पुगेको थियो । यो मौसममा गत वर्ष घटीमा ५५ प्रतिशभन्दा कम कहिल्यै भएको थिएन । तर, यो वर्ष होटल अकुपेन्सी ५ प्रतिशत पनि नरहेको पश्चिमाञ्चल होटल संघ अध्यक्ष विकल तुलाचनले जानकारी दिए ।

‘यो मार्चमा होटल बुक गरेका सबै आएको भए २० प्रतिशतसम्म पुग्ने थियो । तर, कोरोनाले महामारीकै रुप लिन थालेपछि अधिकांश बुक भइसकेका रुम पनि रद्द भए,’ तुलाचनले भने, ‘अप्रिलमा झन् कुनै पनि बुक छैन । त्यो समयमा झन् निल नै हुने देखियो ।’ उनले अधिकांश होटलमा होटलमा पाहुना नै नभएको र भए पनि १/२ जनाबाहेक धेरै पर्यटक नभएको सुनाए ।

कोरोना त्रासका कारण आन्तरिक पर्यटकको संख्या पनि न्यून भइसकेको तुलाचनले जानकारी दिए । ‘अहिले सबै पर्यटन व्यवसायी अत्तालिएका छन् । अहिले हामीले गर्न सक्ने भनेको पर्ख र हेरमात्रै हो,’ उनले भने, ‘लेकसाइडका अधिकांश होटल बन्द हुने अवस्थामा पुगिसके ।’

अन्नपूर्ण क्षेत्र अन्तर्गत पर्ने पदमार्गहरु नेपालको मात्रै नभई विश्वकै चर्चित पदमार्गका रुपमा गनिन्छन् । ती पदमार्गमा वार्षिक हजारौं पर्यटक पैदल यात्राको मजा लिन आउँछन् । तर, कोरोना भाइरस त्रासका कारण सरकारले त्यस्ता ‘रेस्ट्रक्टेड’ क्षेत्रभित्र पर्ने पदमार्गमा हाललाई रुट परमिट नदिन सूचना जारी गरिसकेको छ ।

यस वर्ष भने कोरोना भाइरस त्रासका कारण पदयात्री नै नभएपछि एक्याप क्षेत्रभित्रका पदमार्ग बन्द हुने अवस्थामा पुगेको छ । ‘एक्यापले अहिले ३ हजार रुपैयाँ जति उठाउँदै आएको छ । नेपाल पर्यटन बोर्डले टिम्स कार्ड उपलब्ध गराउँदै आएको छ,’ ट्रेकिङ एजेन्सिस एसोसियसन नेपाल (टान) गण्डकी प्रदेश अध्यक्ष हरि भुजेलले भने, ‘तर अहिले त्यहाँ पर्यटक नभएपछि रुट परमिट शुल्क र टिम्स कार्ड उठाउन बन्द गर्ने र त्यहाँका कर्मचारीलाई बिदामा पठाउने हो कि भन्ने छलफल चलिरहेको छ ।’

भुजेलले कोरोना महामारीका रुपमा फैलिरहेको अवस्थामा विदेशी पर्यटकलाई पदयात्रामा लगेर खतरामा पार्न नचाहेको पनि बताए । ‘विदेशीलाई यो अवस्थामा हामीले माथिमाथि लग्यौं । तर, भोलिका दिनमा केही भइहाल्यो भने सहयोग नपाउने अवस्था पनि हुन सक्छ,’ उनले भने ।

उनले एक्याप क्षेत्रभित्र पर्ने माथिल्लो भेगका होटलहरु पाहुना नआएपछि अधिकांश बन्द भइसकेको जानकारी दिए ।

पर्यटन क्षेत्रमा व्यवसायीले अर्बौंको लगानी गरेको र कोरोनाका कारण लगानी डुब्ने अवस्थामा पुगेपछि पर्यटन व्यवसायी चिन्तित छन् । तत्कालका लागि व्यवसायी र मजदुरहरुबारे सोचेर सरकारले राहत उपलब्ध गराउनुपर्ने पर्यटन व्यवसायीको माग छ ।

‘पर्यटक कति आए कति गए भन्ने कुरा सरकारले आफैं थाहा पाइसकेको छ,’ पोखरा पर्यटन परिषद् अध्यक्ष चिरञ्जीवी पोखरेलले भने, ‘अहिले यो पर्यटन क्षेत्रको व्यवसायी र मजदुरको पाटोलाई सम्बोधन गर्ने गरी सरकारले नीतिगत रुपमा सम्बोधन गर्नुपर्छ ।’ उनले लगानी धराशयी हुन नदिन सरकारले नै सहयोग गर्नुपर्ने अवस्था आइसकेको बताए ।

कोरोना त्रासका कारण बिग्रिएको पर्यटन क्षेत्रको स्थिति नसुध्रिएसम्म बैंकले लिने ब्याज र किस्तामा पनि हेरफेर गर्नुपर्ने पोखरेलले बताए । ‘बैंकले लिने ब्याज र किस्तालाई पुँजीमा कन्भर्ट गरेर त्यसलाई पुनर्सेड्युल पुनर्कर्जाको व्यवस्थाको माग गरेका छौं,’ उनले भने, ‘अहिले बैंकको धेरै ब्याजदर छ । पर्यटन व्यवसायी चर्को ब्याजदरको मारमा छन् । सरकारले सहयोग गर्नुपर्छ ।’

पोखरेलले कोरोना भाइरसका कारण पर्यटन व्यवसायमा परेको नकारात्मक प्रभावका कारण संकट आइपर्ने दाबी गरे ।

‘नेपालको मुख्य आर्थिक स्तम्भ भनेकै पर्यटन हो । तर, यही स्तम्भ कमजोर भएपछि यसले ठूलो संकट ल्याउन सक्ने स्थिति छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment