Comments Add Comment

होटेलमा बस्ने पाहुनाको ट्र्याकिङ थालियो

६ चैत, काठमाडौं । होटेलमा बस्ने विदेशी पाहुनाको निगरानी गरिने भएको छ । यसका लागि विद्यूतीय प्रणालीमार्फत हरेक होटेलले आफ्नो होटेलमा बस्ने पाहुनाको विवरण सरकारलाई बुझाउनु पर्ने भएको छ ।

पर्यटन विभागका अनुसार विभागबाट स्तर वर्गिकरण गरिएका रिसोर्ट तथा तारे होटेलले आ–आफ्नो विद्यूतीय प्रणालीमार्फत विदेशबाट आएका आगन्तुकको चेकइन–चेक आउट, आगामी गन्तब्यलगायत विवरण भरेर विभागको पोर्टलमा प्रविष्ट गर्ने प्रणालीको विकास गरिएको छ । सोही अनुसार होटेलले आफ्नो पाहुनाको विवरण विभागलाई तत्काल उपलब्ध गराउनुपर्ने भएको छ ।

विवरणमा पर्यटकको नाम, पासपोर्टको विवरण, देश/ठेगाना र नेपालमा रहने अवधी उल्लेख गर्नुपर्छ । साथै, त्यस होटेलमा रहने विवरण, आगामी गन्तब्य, होटेलको सम्पर्क व्यक्ति तथा नम्बर र अन्य आवश्यक सूचना भएमा समेत विभागको पोर्टलमा प्रविष्ट गर्नु पर्ने निर्णय विभागले ल्याएको छ । विभागबाट स्तर वर्गीकरण नभएका विदेशी पर्यटक राख्ने होटेल, रिसोर्ट तथा अतिथि गृहले आगन्तुकको विवरण विभागको पोर्टलमा प्रविष्ट गर्नुपर्छ ।

त्यसका लागि विभागबाट ‘यूजर’ एक्टिभ गराउनु पर्ने भएको छ । नेपाल आएका विदेशीको ट्रयाकिङका लागि यस्तो नियम ल्याइएको पर्यटन विभागले जनाएको छ । कुन पर्यटक कहाबाट आएको र कुन होटेलमा कुन प्रयोजनमा बसेको छ भन्ने विवरण अब सरकारसमक्ष हुने भएकाले कोरोना संक्रमणको जोखिम विश्लेषण गर्न सहज हुने बताईको छ ।

यसबाहेक विभागले पर्यटन व्यवसायसँग सम्बद्ध सबैलाई कोरोनाको महामारीबाट बच्न विश्व स्वास्थ्य संगठन र नेपालको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेका सूचना र मार्गदर्शन पूर्णपालन गर्न आह्वान गरेको छ । यस अनुसार अब सबै होटेलले आफ्नो होटेललाई भाइरसमुक्त पार्नुपर्ने हुन्छ । विभागले बुधबार सबै होटेल तथा अन्य व्यवसायीलाई परिपत्र गरेको हो ।

यद्यपि कोरोनाको संक्रमण शुरु भएसँगै होटेलमा पाहुनाको आगमन भने हटेको छ । होटेल संघ नेपाल (हान) का अनसार अहिले होटेलका कोठा १० प्रतिशतसम्म पनि भरिदैनन् । सामँन्य अवस्थामा वसत्त ऋतुको पर्यटकीय मौसममा होटेलका कोठा शतप्रतिशतसम्म भरिने गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment