
७ चैत, काठमाडौं । विश्वका अधिकांश देशमा पुगेको नोवल कोरोना (कोभिड-१९) भाइरसबाट जोगिन मुस्लिम समुदायले घर-घरमै नमाज पढ्न सुरु गरेका छन् ।
हरेक शुक्रबार मस्जिदमा पढिने जुम्माको नमाज पनि घरमै पढ्न सुरु भएको नेपाली जामे मस्जिद संघका अध्यक्ष समिम अन्सारीले जानकारी दिए ।
२५ जना भन्दा बढी भेला हुन नपाउने सरकारको निर्देशन अनुसार मस्जिदको सट्टा घर वा कारखानामै नमाज पढ्न थालिएको हो ।
अन्सारीका अनुसार मदरसाहरूको पठनपाठन पनि अर्को सूचना प्रकाशित नहुँदासम्मका लागि बन्द गरिएका छन् ।
मुस्लिम आयोगले पनि मदरसा, मस्जिदका प्रतिनिधिहरूलाई बोलाएर यस विषयमा छलफल गरेको थियो । आयोगले दशवटा मस्जिदलाई पत्राचार गरेर घरमै नमाज पढ्ने व्यवस्था मिलाउन भनेको हो ।
‘मुस्लिम समुदायले नियमित रुपमा पढिने नमाज र शुक्रबारका दिन पढिने जुम्माको नमाज सकेसम्म घर, कलकारखाना आदिमा पढ्ने र मस्जिदमा सकेसम्म कम उपस्थितिमा पढ्ने, पढाउने, मदरसाहरूमा पठनपाठन बन्द गराउने र अति आवश्यक नभइ कुनै पनि कार्यक्रममा सहभागी नहुन सम्बन्धित सबै मुस्लिम समुदायमा अनुरोध गर्ने निर्णय गरियो’ पत्रमा भनिएको छ ।
तस्वीरहरु : आर्यन धिमाल/अनलाइनखबर
प्रतिक्रिया 4