Comments Add Comment

विराटनगरमा सात दिनभित्र ५० शैय्याको अस्थायी अस्पताल

७ चैत, विराटनगर । प्रदेश १ सरकारले विराटनगरमा एकसाता भित्र कोरोना संक्रमितको उपचारका लागि अस्थायी अस्पताल निर्माण गर्ने भएको छ ।

कोरोना भाइरस संक्रमणको जोखिम बढेको निश्कर्ष निकाल्दै प्रदेश सरकारले तत्काल ५० शैय्याको अस्थायी अस्पताल निर्माण गर्ने भएको हो ।

विराटनगरमा रहेको नेशनल ट्रेडिङको भवनमा निर्माण गरिने अस्थायी अस्पताललाई अन्य अस्पतालबाट रेफर भएर आएका संक्रमितको उपचार गर्ने तयारी गरेको प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरले जानकारी दिए ।

उनका अनुसार अस्पताललाई आवश्यक पर्ने सामाग्री खरिद गर्न समय लाग्ने भएकाले तत्कालका लागि विराटनगरमा रहेका अस्पतालहरुबाट नै ल्याएर प्रयोग गरिनेछ । ‘सम्भावित जोखिमको पूर्वतयारी गरिएको हो’ उनले भने ‘अन्य अस्पतालबाट आएका विरामीलाई उपचार गर्नेछौं ।’

शुक्रबार प्रदेश सरकारले कोरोना भाइरसको संक्रमण रोकथामका विषयमा छलफल गर्न विराटनगरमा सर्वपक्षीय छलफल आयोजना गरेको थियो । छलफलले जोखिम उच्च रहेको निश्कर्ष निकाल्दै एक साताभित्र अस्थायी अस्पताल निर्माण गर्ने निर्णय गरेको मन्त्री घिमिरेले बताए ।

बिहीबार मात्र प्रदेश १ मा ४४० जना अटाउने क्वारेन्टाइन निर्माण भएको थियो । प्रदेश सरकारले मोरङको मिक्लाजुङ– ५ मा पर्ने टाँडीमा २००, झापाको भद्रपुरमा ४० र उदयपुरको बेलसोतमा २०० जना अटाउने क्वारेन्टाइनस्थल तयार पारेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment