Comments Add Comment
विचार :

कोरोना : मानव सिर्जित संकट र समाधान

'यो दोषारोपण गर्ने बेला होइन, समाधानको उपाय खोज्ने बेला हो'

हाम्रो ग्रह र मानव जाति गम्भीर संकटमा छ भन्ने कुरा पछिल्ला परिघटनाहरुले थप पुष्टि गर्दै लगेको छ । जलवायु परिवर्तनको मुद्दा सायद आम मानिसहरुका लागि उतिसारो चासोको बिषय बनेको थिएन होला । तर, कोरोना भाइरसको महामारीले बिश्वका सबै मानिसलाई एकसाथ झस्काइदिएको छ ।

कोरोना महामारी अब कुनै अमूक देशको मात्र समस्या रहेन, यो वैश्विक समस्या भइसकेको छ, जसको अब वैश्विक समाधान मात्र सम्भव हुनेछ ।

यो परिघटनाले हामीसामु केही गम्भीर प्रश्नहरु खडा गरिदिएको छ । यो समस्या र यसपछि देखा पर्न सक्ने यस्तै समस्याहरुको दिगो समाधानको उपाय के हो ? हामीले यस प्रकारका समस्यालाई केवल रोगका रुपमा परिभाषित गर्ने र प्राविधिक समाधान खोज्ने हो कि ? यस्ता समस्याका पछाडि हाम्रो सोच, संस्कृति र संरचनाहरुलाई पनि दोषी मान्ने र चिन्तनगत तहमै समाधान खोज्ने ? यो आजको अहम प्रश्न हो ।

मानव सिर्जित प्रकोप :

महामारी पैदा हुनु र फैलनु मानव समाजका लागि कुनै नौलो घटना होइन । इतिहासमा पटक-पटक अनेकौं प्रकारका महामारीका कारण लाखौं मानिसहरुले ज्यान गुमाएका थिए । तर, महामारी पैदा हुने हिजोको परिवेश र प्रकृया अनि आजको परिवेश र प्रकृयामा बिल्कुलै अन्तर छ ।

हिजो स्वास्थ्यप्रतिको मानवीय चेतनाको कमी, सरसफाइको कमी, स्वास्थ्य विज्ञान, अनुसन्धान, संरचना, औषधि र उपकरणको अभाव भएको परिवेशमा महामारी पैदा भएका थिए । त्यसैले, ती महामारीहरुलाई प्राकृतिक प्रकोप नै मान्न सकिन्थ्यो ।

तर, आज स्वास्थ्य चेतना, विज्ञान, अनुसन्धान, संरचना, औषधि र उपकरणमा पर्याप्त विकास भइसकेको अवस्था छ । यस्तो अवस्थामा पनि किन पटक-पटक हामीलाई महामारीले छोपिरहेको छ ? यत्तिको ‘विकास’ भएपछि त महामारी देखा नपर्नुपर्ने हो । वा देखा परिहालेछ भने पनि त्यो बैश्विक स्तरको समस्याको तहमा विकास हुन नसक्नु पर्ने हो ।

तर, आज हामीले हेर्दाहेर्दै र नपत्याउँदा नपत्याउँदै हाम्रो विज्ञानलाई पनि परास्त गरेर, रोग र किटाणुहरु विश्वव्यापी -ग्लोबलाइज्ड) भइरहेछन् । त्यसैले यो महामारीलाई मध्ययुगको महामारीजस्तो मात्र मान्न मिल्दैन । अर्थात, यसलाई विशुद्ध प्राकृतिक प्रकोप मात्र मान्न मिल्दैन ।

वास्तवमा कोरोनालगायत पछिल्ला केही दशकयता देखा परेका केही महामारीहरुले अरु नै तथ्यतर्फ संकेत गरिरहेका छन्, जसलाई प्राकृतिक प्रकोपमात्र भनियो भने त्यो गम्भीर भुल हुनेछ ।

यी महामारीहरु प्रकट हुनु र विश्वव्यापी हुनुमा मूलतः तथाकथित आधुनिकताका नाममा हामी मानव जातिमा पैदा भएका सोच, संस्कृति, संरचना र व्यवहार नै जिम्मेवार छन् ।

प्रकृति र जीवनप्रतिका हाम्रा दृष्टिकोण र व्यवहारका कारण नै नयाँ नयाँ रोग पैदा हुने र विश्वव्यापी बन्ने गरिरहेका छन् । त्यसैले यो कोरोना प्राकृतिक प्रकोप होइन, मानव सिर्जित प्रकोप हो । यदि यसरी बुझियो भने मात्र समस्याको दिगो समाधान सम्भव हुने छ । होइन, यो तथ्यलाई नजर अन्दाज गरियो र यो महामारीलाई प्राकृतिक प्रकोप हो भन्दै प्राविधिक समाधानमात्र खोजियो भने यस्ता महामारीहरु दोहोरिरहने छन् । दिगो समाधान हुने छैन ।

महत्वाकांक्षाको परिणाम :

विगत तीन सय बर्षयता, जव मानव सभ्यताले प्रकृति, जीवन र समाजलाई यान्त्रिक तथा भौतिकवादी दृष्टिले हेर्न थाल्यो र भौतिक सुखमा आधारित सामाजिक मूल्य अंगीकार गर्न थाल्यो, त्यहीँबाट संकट शुरु भयो ।

आज देखा परिरहेको कोरोनाजस्तो वैश्विक महामारी मूलतः मानव सिर्जित प्रकोप हो । जसका लागि अरु कोही जिम्मेवार नभएर हामी मानव जातिको भौतिकवादी महत्वाकांक्षा नै जिम्मेवार छ ।

हुन त भौतिकवादी दृष्टिकोणले मध्ययुगको ईश्वरीय चिन्तनलाई खण्डन गरेर समाजलाई एक कदम अगाडिकै बाटो देखाएको थियो । त्यसैले यसका केही सवल पक्षहरु थिए र छन् । तर, यसको मूलभूत अभिमुखीकरण प्रकृति, जीवन र समाजको स्वभावका विरुद्ध थियो । त्यसैले भौतिकवादी चिन्तन सिंगो सभ्यताका लागि एउटा गल्तीको खाडलबाट निस्केर अर्को गल्तीको खाडलमा हामफालेजस्तो भयो ।

यान्त्रिक दृष्टिका कारण हामीले ‘जिउँदो’ पुज्य र मातृशक्ति मानिएको पृथ्वीलाई ‘निर्जीव भौतिक वस्तु’ का रुपमा व्यवहार गर्न थाल्यौं । जीवन र समाज जस्ता मौलिक तत्वको पनि यान्त्रिक परिभाषा गर्न थाल्यौं ।

फलस्वरुप भौतिक सुख (धन सुख, पद सुख र शरीर सुख) नै हाम्रो जीवनको लक्ष्य बन्यो । तब हामी भौतिक सुखको पागलपनयुक्त दौडमा लाग्यौं । जसरी भए पनि हामीले ‘आर्थिक बृद्धि’ गर्नुपर्ने भयो । जसरी भए पनि हामीले भौतिक सुविधा बढाउनुपर्ने भयो । तब प्रकृतिमाथि हामीले ‘यातना’ दिन थाल्यौं ।

खानीहरु रित्याउनु, पहाड फुटाउनु, जंगल सिध्याउनु, नदीको बाटो छेक्नु आदि हाम्रो पुरुषार्थ भयो । जीव र वनस्पतिमाथि पनि हाम्रो यस्तै ‘यातना’ को क्रम शुरु भयो । हामीलाई छिटो पैदा हुने, छिटो बढ्ने, छिटो पाक्ने, बजारमा टिकाउ हुने खालका जीव र वनस्पति चाहिने भयो । यसका लागि हामीले जीवको जीन -अनुवंश) तोडमरोड गर्न थाल्यौं । ‘हाइब्रीड’ बिउबिजन बनाउन थाल्यौं । किटनाशक औषधिको प्रयोग बढायौं । रैथाने कृषिलाई विस्थापित गरेर ‘कर्पोरेट कृषि’ स्थापित गर्न थाल्यौं ।

शहरी जीवनले हामीलाई खुब व्यस्त बनायो । तब तयारी खानाको प्याकेट हाम्रो संस्कृति भयो । हामीलाई पैदल हिँड्ने फुर्सदै भएन । यातायातका साधनको प्रयोग हाम्रो दिनचर्या भयो । जंगल वा स्वच्छ प्रकृति हाम्रा लागि टाढाका विषय भए । शहरको प्रदुषणयुक्त हावा हाम्रो फोक्सोदेखि मष्तिस्कसम्म पुग्यो । सूचना प्रविधिको माध्यमबाट त्यही विकृत मस्तिस्कमा हामीले थप विकृति थपिदियौं ।

प्रकृतिमाथि हामीले दिएको ‘यातना’ का कारण सिंगो पर्यावरण चक्र बिगि्रयो । जलवायु परिवर्तन यसैको परिणाम हो । जसका कारण आज सारा वनस्पति, जीवजन्तु र मानव जातिको जीवनचक्र खल्बलिएको छ । खानपानमा जीन तोडमरोड गरिएका तथा हाइबि्रड वनस्पति र जनावरहरुको प्रयोग, शहरी प्रदुषित वातावरण र भौतिक सुखमा लिप्त विक्षिप्त मनोदशा अनि निश्त्रिmय जीवनशैलीजस्ता कारणले मानवजातिको रोग प्रतिरोधी क्षमता आज सम्भवतः इतिहासकै कमजोर अवस्थामा आइपुगेको छ ।

यही खल्बलिएको पर्यावरण तथा जीवनचक्रभित्र नयाँ-नयाँ रोगजन्य किटाणुहरुको पनि उद्विकास भइरहेको छ । यस्ता किटाणुहरुले हामीलाई सजिलै परास्त गर्न सफल भइरहेका छन् । र, यसो हुनु विल्कुलै स्वभाविक छ । किनकि, हाम्रो जीवन नै अस्वाभाविक र अस्वस्थ भइसकेको छ ।

अर्कोतिर यस्ता किटाणुलाई विश्वव्यापी यात्रा गर्न आज हाम्रै यातायातका साधन र हाम्रो वैश्विक सामाजिक सम्बन्धले मद्दत गरिरहेको छ । अर्थात, हाम्रो ‘विकास’ हाम्रा लागि सुविधा मात्र होइन, रोग संक्रमणको औजार पनि बनिरहेको छ ।

यसरी आज देखा परिरहेको कोरोनाजस्तो वैश्विक महामारी मूलतः मानव सिर्जित प्रकोप हो । जसका लागि अरु कोही जिम्मेवार नभएर हामी मानव जातिको भौतिकवादी महत्वाकांक्षा नै जिम्मेवार छ ।

दोषी को ?

कोरोना महामारीको विषयलाई लिएर केही मानिसहरु यतिबेला आपसमा दोषारोपण गरिरहेका छन् । कोहि ‘पुँजिवाद’ लाई त कोही ‘समाजवाद’ लाई दोष दिइरहेका छन् । तर, यो दोषारोपण गर्ने बेला होइन । यसको तात्कालिक र दीर्घकालिक समाधानको उपाय खोज्ने समय हो ।

प्रकृतिलाई ‘यातना’ दिने काममा पनि अरु कोही लागेको थिएन, पुँजीवादी र साम्यवादीहरु नै बराबर लागेका थिए । तर, दोषारोपण समाधान होइन ।

यदि दोषकै कुरा गर्ने हो भने यसमा कोही चोखो छैन । यान्त्रिक भौतिकशास्त्रको जगमा बनेका ज्ञानका सबै विधाहरु जिम्मेवार छन् । जस्तो कि-

आधुनिक जीवशास्त्र, जसले जीवनलाई यन्त्रका रुपमा परिभाषित गरेको थियो, यो जिम्मेवार छ ।

आधुनिक स्वास्थ्य विज्ञान, अर्थात बायो मेडिकल मोडेल, जसले स्वास्थ्य प्रकृयालाई यान्त्रिक प्रकृयाका रुपमा व्याख्या र अभ्यास गरेको थियो, यो जिम्मेवार छ ।

आधुनिक मनोविज्ञान, जसले मानिसको स्वभावलाई यान्त्रिक प्रकृयाका रुपमा देखाएको थियो, यो जिम्मेवार छ ।

आधुनिक समाजशास्त्र, जसले समाजलाई टुक्रा-टुक्रामा विभाजन गर्न सकिन्छ भनेको थियो, समाजको गति गणितीय हुन्छ र समाजको निश्चित गन्तव्य हुन्छ भनेर देखाएको थियो, यो जिम्मेवार छ ।

आधुनिक अर्थशास्त्र, जसले प्रकृतिलाई फगत निर्जीव वस्तु मानेको थियो र प्रकृतिको दोहन गरेर एकल रेखीय असीमित आर्थिक वृद्धि गर्न सकिन्छ भनेको थियो, यो जिम्मेवार छ ।

आधुनिक राजनीति, जसले भौतिक सुखको प्राप्ति नै मानव जातिको गन्तव्य हो भनेको थियो । समाजलाई व्यक्ति, वर्ग र जातिमा बिभाजीत गरेको थियो र व्यक्तिवाद, वर्गवाद र राष्ट्रवादको एकांगी बाटोमा घिसारेको थियो, यो जिम्मेवार छ ।

यदि राजनीतिक टिप्पणी नै गर्ने हो भने यो समस्या आउनुमा पुँजीवाद र साम्यवादलगायत सबैखाले भौतिकवादी विचारधारा र सामाजिक नीतिहरु उत्तिकै जिम्मेवार छन् ।

यान्त्रिक चिन्तन फैलाउने काममा अरु कोही लागेको थिएन, पुँजीवादी र साम्यवादीहरु नै लागेका थिए । प्रकृतिलाई ‘यातना’ दिने काममा पनि अरु कोही लागेको थिएन, पुँजीवादी र साम्यवादीहरु नै बराबर लागेका थिए र लागिरहेका छन् । उनीहरुकै प्रतिस्पर्धा र होडबाजीका कारण आज विश्वको हालत यहाँसम्म आइपुगेको हो ।

तर, दोषारोपण समाधान होइन ।

साथै, यो समस्या तथाकथित ‘पर्यावरणीय उदारवाद’ र ‘पर्यावरणीय समाजवाद’ नामका प्राविधिक उपायबाट समाधान हुने पनि होइन । पूर्वाग्रहरहित व्यापक सहकार्य र आपसी सहयोग नै समस्या समाधानको अन्तिम उपाय हो ।

त्यसैले, दोषारोपण बन्द गरौं । पूर्वाग्रहरहित सहकार्यको शुरुवात गरौं ।

जैविक समाधान

महामारी नआउनु आइसक्यो । त्यसैले यसको तात्कालीक समाधान यतिबेलाको प्राथमिक काम हो । यस सम्बन्धमा विशेषज्ञहरुले भनेअनुसार होसियारी अपनाउनु हामी सबैको जिम्मेवारी हो । साथसाथै, दीर्घकालिन समाधानका लागि आवश्यक सोच र चिन्तन गर्न थाल्नु आजको अर्को उत्तिकै महत्वपूर्ण काम हो ।

कोरोना महामारी पैदा हुनुका कारणहरु सर्वाङ्गीण छन् र समाधान पनि सर्वाङ्गगीण नै हुनुपर्छ । यसका लागि हामीसँग एउटै उपाय छ- यान्त्रिक तथा भौतिकवादी विश्वदृष्टिकोणको परित्याग

हाम्रो आस्था र सोचको परिवर्तन नै समाधानको प्रस्थान बिन्दु हो । सबैभन्दा पहिले सजीव र निर्जीव, मानव र गैरमानव भनेर प्रकृतिमा हामी जुन भेद गर्दछौं, यही गलत छ ।

हामी एउटा अन्तरसम्बन्धित र अन्तरनिर्भर पर्यावरणीय सञ्जालका सदस्य हौं । प्रकृति, वनस्पति र गैरमानव जीवको भलोमै हाम्रो पनि भलो छ । उनीहरुलाई गरिने हानी अन्ततः हामी मानव जातिमाथिकै प्रहार हो । हामीले प्रकृतिको सदुपयोग गर्नु पर्दछ । तर, प्रकृतिलाई यातना दिनुहुँदैन । प्रकृतिका सबै अवयवसँग सहकार्य र सहअस्तित्वले मात्र हामी मानव जातिको जीवनलाई पनि हित गर्छ । मानव जातिमा सर्वप्रथम यसखालको बोध विकास हुन जरुरी छ ।

स्वास्थ्य ‘नाम’ होइन, ‘प्रकृया’ हो । हाम्रो स्वास्थ्य, समग्र पर्यावरणीय सञ्जालमा आवद्ध छ । रोग लाग्नुमा अमूक किटाणुमात्र जिम्मेवार हुँदैन, हाम्रो सामाजिक, आर्थिक, मानसिक र पर्यावरणीय अवस्था पनि उत्तिकै जिम्मेवार हुन्छ ।

अर्थात, रोगको कारण पनि सर्वाङ्गीण हुन्छ र समाधान पनि सर्वाङ्गीण नै हुन्छ । त्यसैले अमूक रोगका लागि अमूक किटाणुलाई जिम्मेवार मान्ने यान्त्रिक स्वास्थ्य दृष्टिकोण परित्याग गरी सर्वाङ्गीण स्वास्थ्य दृष्टिकोण र सेवाको विकास गर्न जरुरी हुन्छ ।

भौतिक सुख सुविधा मानिसको जीवनको साधन हो, साध्य होइन । आत्मिक गुणको प्रवर्धन नै मानिसको साध्य हो । त्यसैले, मानिसले जीवनमा धन सुख, पद सुख र शरीर सुख नै सबथोक हो भन्ने दृष्टिकोण त्यागेर आफूभित्रको निजत्व प्रस्फुटनबाट आनन्दित हुने बाटो रोज्न जरुरी हुन्छ । आत्मशुद्धि, व्यायाम, सकारात्मक सोचको अभ्यास र आध्यात्मिक मूल्यसहितको जीवन जरुरी हुन्छ ।

सीमित पृथ्वीमा असीमित ‘आर्थिक वृद्धि’ असम्भव र अप्राकृतिक कुरा हो भन्ने तथ्य यसपालिको महामारीले नै स्पष्ट पारिसक्यो । यस्तो नीति र योजना व्यक्ति वा राज्यहरुको लोभवृत्ति र महत्वाकांक्षाको पागलपनबाहेक केही होइन । यस्तै पागलपनले नै प्रकृति र पर्यावरण ध्वस्त भएको हो । महामारीको कारक पनि प्रकारान्तरले यही लोभवृत्ति नै हो ।

व्यक्ति र राज्यले यसखालको लोभवृत्ति र महत्वाकांक्षामा आधारित नीति र योजना परित्याग गर्नुपर्छ । र, नागरिकहरुको आवश्यकतामा आधारित उत्पादनको नीति अपनाउन जरुरी हुन्छ ।

कृषि क्षेत्रमा परम्परागत ज्ञान र आधुनिक विज्ञानलाई जोड्नुपर्छ । तर, कर्पोरेट कृषिको नीति परित्याग गर्नुपर्छ । कर्पोरेट कृषिले वास्तविक किसानलाई पेशाबाट विस्थापित गराएर नाफामुखी कर्पोरेट हाउसको हालीमुहाली कायम गराउँछ । कर्पोरेट कृषिले बेसी उर्जा खपत गर्ने, अनावश्यक किटनाशक विषादी प्रयोग गरेर पर्यावरण नष्ट गर्ने मात्र होइन, यसले कृषि क्षेत्रको रैथाने ज्ञानलाई समेत सिध्याउँछ ।

आज बिउबिजनको क्षेत्रमा कर्पोरेट हाउसहरुका हाईब्रीड बिजको साम्राज्य स्थापित भइसकेको छ । यसले किसानहरुका परम्परागत बिजलाई नष्ट गरिरहेको मात्र होइन, सुनियोजितरुपमा किसानहरुलाई बिजमा परनिर्भर बनाएको छ । यो अवस्थाको अन्त्य गर्नुपर्छ । रैथाने बिउ बिजनलाई प्रोत्साहन गर्ने र बिउमा किसानहरुलाई आत्मनिर्भर बनाउने नीति अपनाउन जरुरी हुन्छ । कर्पोरेट कृषिलाई निरुत्साहित गरेर परिवारमा आधारित जैविक कृषिमै जोड दिन जरुरी हुन्छ ।

सीमित शहरहरुमा भएभरको जनसंख्यालाई थुपार्नेखालको विकासनीति होइन, देशका सबै भुभागमा समानुपातिक जनघनत्व कायम गर्ने खालको विकासनीति अपनाउन जरुरी हुन्छ । यसो गर्न सीमित शहरमा ठूला ठूला बाटा बनाउन छोडेर देशका सबै क्षेत्रमा उपयोगी सडक सञ्जाल विस्तार गर्ने नीति लिनु उपयुक्त हुन्छ । शिक्षा, स्वास्थ्यसँग सम्बन्धित संस्था र सुविधाहरुलाई विकेन्दि्रत बनाउनु जरुरी हुन्छ ।

माथिका काम गर्न सर्वप्रथम ‘समाजको गति गणितीय हुन्छ’ भनेर बनाइएका शास्त्रीय तथा यान्त्रिक राजनीतिक विचारधाराहरुको परित्याग गर्नु जरुरी हुन्छ । यस्ता विचारधाराका कारण नै जीवन र समाजमा यान्त्रिक नीति लागु भइरहेको छ । यस्तै नीतिले सामाजिक खराबी र स्वास्थ्य खराबीहरु पैदा गरिरहेको छ । वास्तविकतामा समाजको गति अगणितीय हुन्छ, जसले गर्दा हामी समाजलाई सहजीकरणसम्म गर्न सक्छौं, निर्देशन गर्न सक्दैनांै ।

तर, शास्त्रीय विचारधाराहरुले विगतमा समाजलाई गणितीय सुत्रमा निर्देशित गर्ने प्रयत्न गरे । आज पनि विश्वका अधिकांश देशहरुमा यस्तै शास्त्रीय विचारकहरुले नै शासन गरिरहेका छन् । जसको परिणाम समाजमा द्वन्द्व, अस्वस्थ विकास र महामारीजस्ता समस्या एकपछि अर्को गर्दै थपिइरहेका छन् ।

कोरोना लगायतका महामारी पैदा हुनुका कारणहरु सर्वाङ्गीण छन् र समाधान पनि सर्वाङ्गगीण नै हुनुपर्छ । यसका लागि हामीसँग उपायहरु धेरै छैनन् । बिल्कुल एउटै उपाय छ । त्यो उपाय भनेकै यान्त्रिक तथा भौतिकवादी विश्वदृष्टिकोणको परित्याग र जैविक विश्वदृष्टिकोण एवं जैविक विचारधाराको अभ्यास हो ।

-इटहरी, सुनसरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment