Comments Add Comment

रुपन्देहीका १२२ हाटबजार अनिश्चितकालीन बन्द

दैनिक डेढ करोडको कारोबार ठप्प हुने

८ चैत बुटवल । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड-१९)को उच्च सतर्कता अपनाउँदै रुपन्देहीका सबै हाटबजारहरु बन्द भएका छन् । जिल्लामा अहिले १२२ स्थानमा हाटबजार लाग्न गरेका छन् ।

कोभिड-१९ को उच्च सतर्कता अपनाउँदै हाटबजारहरु बन्द गर्ने निर्णय गरिएको रुपन्देही हाटबजार ब्यबसायी संघका अध्यक्ष भिमलाल ज्ञवालीले बताए । ‘स्वास्थ्यभन्दा ठूलो केही छैन, अब परिस्थिति नसुध्रिएसम्म हाटबजार बन्द गरेका छौं,’ उनले अनलाइनखबरसँग भने ।

हाटबजारमा राखिने सामग्रीहरु ४० प्रतिशत आयातित र ६० प्रतिशत नेपाली सामग्री हुन् । संघले विज्ञप्ति नै जारी गर्दै हाटबजार बन्द गरेको जनाएकोे छ ।

हाटबजामा मानिसको बढी भिडभाड हुने हुँदा कोरोना संक्रमणको जोखिम बढ्ने भन्दै हाटबजार बन्द गर्ने निर्णय गरिएको उनले बताए ।

जिल्लाका बुटवल, मणिग्राम, योगिकुटी, भैरहवा, र्फसाटिकर, रुद्रपुर हरैया, मुर्गिया, देबदह शितलनगर र खैरेनीमा ठूला हाटबजारहरु संचालनमा थिए । यसका अतिरिक्त अन्य स्थानमा सानातिना हाटबजार पनि संचालनमा छन् ।

रुपन्देहीका हाटबजारहरुमा दैनिक करिब डेढ करोडको आर्थिक कारोबार हुने गरेको छ । फरकफरक बारमा फरकफरक स्थानमा हाटबजार संचालनका गरिँदै आएको छ ।

यहाँ दैनिक २ हजार व्यबसायीले हरेकले कम्तिमा ५-७ हजारको दैनिक कारोबार गर्ने गरेका छन् । हाटबजारमा दैनिक १० टन, तरकारी फलफूल खाद्यान्न बिक्री वितरण हुने गरेको छ ।

सरकारले गरेको निर्णयप्रति हाटबजार व्यवसायी संघ रुपन्देहीले एक्यवद्धता जनाउँदै कोरोना भाइरसबाट बच्न र बचाउनका लागि अर्को सूचना जारी नहुँदासम्म बन्द गरी सजग रहन अपिल गरिएको छ ।

किसानले उत्पादन गरेको कृषि उपजहरु कसरी किन्ने र कहा बेच्ने भन्नेमा सरकारी निकायले पनि प्रष्ट भन्न सकेको छैन । तर केही किसानहरुले भने आफ्नो उत्पादनलाई बिक्री गर्न पाउनुपर्ने माग राखेका छन् ।

बुटवल हाटबजारमा पसल संचालन गर्दै आएका बुटवल १२ नयागाउँका कृष्ण गौतमले हाटबजार बन्द गरिँदा आफूहरुको दैनिकीमा असर पर्ने बताए । उनले आफूहरुको ब्यसाय कहाँ र कसरी चलाउने सरकारले सही निर्णय गर्न सक्नुपर्ने बताउँछन् ।

यसअघि रुपन्देेहीको बुटवल उपमहानगरपालिका,तिलोत्तमा र सैनामैना नगरपालिकाले पनि नगरभित्रका हाटबजार बन्द गरिसकेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment