Comments Add Comment

थेत्तरो ट्रम्प : ‘कोरोना’ मेट्दै ‘चाइनिज’ लेख्दै (भिडियोसहित )

अमेरिकी अधिकारीले मानेनन् विश्व स्वास्थ्य संगठनको सल्लाह

९ चैत, न्युयोर्क । पछिल्लो समय विश्व स्वास्थ्य संगठनको सल्लाहलाई बेवास्ता गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसलाई निरन्तर ‘चाइनिज भाइरस’ भन्दै आएका छन् । यस्तो अभिव्यक्तिका कारण ट्रम्पको सर्वत्र आलोचना भइरहेको छ ।

आफूमाथिको आलोचनालाई बेवास्ता गर्दै ट्रम्प अझै एक कदम अगाडि बढेर आफ्नो लिखित मन्तव्यमा समेत कोरोना भाइरस लेखिएका ठाउँमा कोरोना काटेर चाइनिज लेखिरहेका छन् ।

बिहीबार कोराना भाइरससम्बन्धी दैनिक प्रेस ब्रिफिङमा ट्रम्पले आफ्नो लिखित नोटमा ‘कोरोना’ मेटेर ‘चाइनिज भाइरस’ लेखे । द वासिङटन पोस्टका फोटाग्राफर ज्याबिन बोट्सर्फडले ट्रम्पको उक्त फोटो सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेका थिए ।

पटक-पटक धेरै स्थानमा पत्रकारले किन चाइनिज भाइरस भनेको ? भनेर ट्रम्पलाई प्रश्न गर्दा उनी निर्धक्क भन्छन् , ‘यो चाइनाबाट आएको हो, त्यही भएर म यसलाई चाइनिज भाइरस भन्छु ।’

‘तर, यो त रंगभेदी अभिव्यक्ति हो नि ?’ भन्दा राष्ट्रपति ट्रम्पले त्यसलाई ठाडै अस्वीकार गर्दै आएका छन् ।

केही समयअघि चीनका विदेश मन्त्रालयका प्रवक्ताले एक टि्वटमार्फत अमेरिका सेनाले चीनमा भाइरस भित्र्याएको भनी अप्रत्यक्षरुपमा आरोप लगाएपछि ट्रम्प चिढिएका हुन् ।

अक्टोबर महिनामा चीनको वुहानमै सम्पन्न भएको सेनाहरुको विश्व खेलमा भाग लिन अमेरिकी सेनाको टोली त्यहाँ गएको थियो ।

अहिले त राष्टपति ट्रम्पमात्र होइन, अमेरिकी विदेशमन्त्री माइक पम्पेओ लगायत ट्रम्प प्रशासनका अन्य पदाधिकारीहरुले पनि कोरोना भाइरसलाई ‘चाइनिज भाइरस’ भन्न थालेका छन् ।

विश्व स्वास्थ्य संगठनको आपत्ति

विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसलाई ‘चाइनिज भाइरस’ वा ‘वुहान भाइरस’ नभन्न चेतावनी दिइरहेको छ ।

विश्व स्वास्थ्य संगठनको एर्मेजेन्सी प्रोग्रामका कार्यकारी निर्देशक माइक रायनले यस्ता कार्य गर्नाले रंगभेदी भेदभाव हुन सक्ने औंल्याएका छन् ।

यस्तै रंगभेदी व्यवहार कसैमाथि नपरोस् भनेरै विश्व स्वास्थ्य संगठनले यस भाइसरलाई कोभिड १९ को नाम दिएको हो । CO को अर्थ कोरोना, VI को अर्थ भाइरस र D को अर्थ डिजिज (रोग) हो । र, यो सन् २०१९ मा देखापरेको ले १९ भनिएको हो ।

चाइनिजमाथि दुर्व्यवहार

अमेरिकामा चाइनिज मूलका अमेरिकीमाथि कुटपिटका घटनाहरु पनि सार्वजनिक हुन थालेका छन् ।

अमेरिकी नेतृत्वले नै यसरी रंगभेदी टिप्पणी गर्दे जाँदा जनस्तरमा यस्ता अप्रीय घटनाहरु अझ बढ्न सक्ने भन्दै सरोकारवालाहरु चिन्ता व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment