Comments Add Comment

क्लाइम्बर समनको रोडिज यात्राः पहिले विजेता, अहिले ग्याङ्ग लिडर

‘अरुसँग रिसइबी लिएर खेल्दिनँ’

भारतको एमटिभीले ‘एमटिभी रोडिज’ नामक एक रियालिटी शो सुरु गर्‍यो । साहासिक खेलमा आधारित यस शोले युवा पुस्ताको राम्रै ध्यान खिच्यो । नेपालमा पनि यो शो निकै लोकप्रिय थियो ।

ब्याचलर पढ्दै गरेका समन श्रेष्ठ पनि एमटिभी रोडिजका नियमित दर्शक थिए । उनलाई खासगरी यसको अडिसन राउण्ड खुबै रमाइलो लाग्यो । उनले सोचे, ‘एकपटक इन्डिया गएर रोडिजको अडिसन त पक्का दिने हो ।’

तर, उक्त सिजन सकिएपछि उनी त्यतातिर लागेनन् । आफ्नै काम र पढाईमा व्यस्त भए ।

एक दिन फेसबुक स्कोल गर्दै जाँदाँ समनले नेपालमा पनि रोडिज आउन लागेको खबर देखे । खबरमा त्यहाँ लेखिएको थियो, ‘नेपालमा हिमालयन रोडिज आउने, यसरी भर्न सकिन्छ फर्म’ । उनले उक्त पोष्ट देखेको १ मिनेटभित्र केही नसोची फर्म भरिहाले ।  ।

हिमालय रोडिजको पहिलो सिजन थियो त्यो । कस्तो होला, के होला भन्ने विषयमा उनले केही सोचेनन् ।े रोडिजको सेटमा पुगेर अडिसन दिने इच्छा पुरा गर्नु थियो उनलाई ।

ललितपुरका समनले झुक्किएर आफ्नो घर धरान उल्लेख गरेछन् । धन्न धरानमा नेपाल बन्दका कारण अडिसन भएन । उनले काठमाडौंमा नै अडिसन दिन पाए ।

अनुभव लिन मात्र अडिसनमा पुगेका समनलाई रोडिज जित्ने आशा थिएन । छनोट हुन्छु भन्नेमै आशंका थियो ।

समन भन्छन्, ‘एमटिभी रोडिज हेरेकै भएर पनि रहरको लागि गएको थिए । छनोट हुन्छु वा जित्छु भनेर गएको थिइनँ ।’

अडिसनबाट समन छनोट भए । उनले यसलाई नयाँ अनुभव लिने अवसरका रुपमा लिएर खुशी भए ।

नसोचेको टाइटल हात परेपछि

समनाके रोडिज यात्रा सुरु भयो । लगातार सुरक्षित खेल्दै उत्कृष्ट २ सम्म नै पुगे । उनीसँग फाइनलमा भिड्नको लागि अनिमेश शाही टप २ मा पुगेका थिए ।

अनिमेश र समनको मित्रता निकै गाढा बनिसकेको थियो । त्यसैले जसले जिते पनि दुखी नहुने सल्लाह गर्दै उनीहरु फाइनल भिड्न तयार भएका थिए । तर, प्रि–फिनालेमा भने समन निकै नर्भस बने ।

उनी भन्छन्, ‘जित्यो भने त पैसा पाइन्छ भन्ने कुराले मलाई दवाव महशुस भएको थियो । तर, हारे पनि पिडा देखाउँदिन भन्ने सोचिसकेको थिएँ ।’

प्रि–फिनाले अनिमेशले जिते । फिनालेमा उनले एक अवसर पाएका थिए, आफू अगाडि जाने वा समनलाई पठाएर आफू पछि जाने । त्यसमा अनिमेशले आफू अगाडि जाने निर्णय गरे । त्यसको फाइदा समनलाई भयो ।

‘यदी म पहिला जानु परेको भए, उसले हेरेर केही अनुभव लिन्थ्यो होला । तर, उ पहिला गयो, मलाई फाइदा भयो’, समन भन्छन् ।

समनले आफूले पाएको एडभान्टेजलाई सदुपयोग गरे । र बने, पहिलो हिमालय रोडिज ।

नसोचेको सफलता हात पारेकोमा समनको खुसी अपार थियो । मन दंग थियो । तर, उनले त्यो खुसी अनुहारमा देखाएनन् । उनलाई लागेको थियो, ‘हारे पनि दुखी हुन्न । जिते पनि उत्पात खुशी हुन्न ।’ त्यसैले उनी संयमित रहे ।

समन रोडिजले आफूलाई चिनाएको बताउँछन् । उनले भने, ‘मलाई यो स्थान बनाउनको लागि १० वर्ष लाग्थ्यो होला । तर, रोडिजले एक वर्षमा नै सबैमाझ चिनाएको छ । त्यो नै ठुलो सफलता हो ।’

तेस्रो सिजनमा ग्याङ्ग लिडर

समनले दोस्रो सिजनमा होस्ट भएर काम गरे । अडिसन राउण्डमा मात्र उनी रोडिज टिमसँग आबद्ध थिए । जर्नी राउण्डमा उनी जान पाएनन् ।

तेस्रो सिजन सुरु हुनै लागेको थियो । दोस्रो सिजनबाट आएका विजेता नै होस्ट बन्लान् भन्ने सोचेर समनले रोडिजमा खासै ध्यान दिएका थिएनन् ।

एकदिन बिहान उनको मोबाइलमा घण्टी बज्यो । फोन थियो, रोडिज निर्देशक अमनप्रताप अधिकारीको । समनले ‘नमस्कार’ शब्द सहित फोन उठाए ।

निर्देशक अधिकारी बोले, ‘हामीले रोडिजको तेस्रो सिजन ‘ग्याङ्ग लिडर’को फर्म्याटमा तयार गर्दैछौँ । पहिलो सिजन विजेता भएकाले तिमीजस्तो योग्य अर्को हुँदैन । त्यसको लागि तयार भएर बस है ।’

समनमा खुसीको सिमा थिएन । तर, खुसी व्यक्त गरिनहाल्ने भएकाले समनले ‘हस्’को उत्तर मात्र फर्काए ।

तेस्रो सिजनको ग्याङ्ग लिडर बन्न पहिलो र दोस्रो सिजनमा जज बनेका आशिष राना ‘लाहुरे’ र दीया मास्के पक्का थिए । तेस्रो समन तयार भए । चौथो जजको रुपमा अभिनेता अनुपविक्रम शाहीलाई अनुबन्धित गरियो ।

आफू प्रतियोगी हुँदा जज गर्नेहरु सँगै एउटै तहमा बसेर काम गर्ने अवसर पाउँदा समनले आफूलाई भाग्यमानी सम्झेका थिए । समन भन्छन्, ‘अब त म उहाँहरुसँग नै भिड्दै थिएँ । खुसी त पक्कै थिए नै ।’ खुसी सँगै खेल कसरी खेल्ने, जित्ने कसरी भन्ने कुरा समनको लागि पनि चुनौती थियो ।

अहिले तेस्रो सिजन प्रशारण भइरहेको छ । चार जना प्रतियोगी लिएर खेलमा आएका समन अहिले १ प्रतियोगीमा झरिसकेका छन् । बाकीँ ३ टिममा ३–३ जना प्रतियोगी बाँकी छन् ।

समन आफूले ‘राजनीति’ नगर्ने भएकाले टिमलाई झट्का लागिरहेको बताए । उनले भने, ‘म कसैसँग रिसिइवी लिएर खेल्दिन । त्यसैले गर्दा पनि होला कमजोर बनिरहेको छु । तर, १ जना लिएर भए पनि म खेल्ने नै छु ।’

रोडिजमा टिम–टिम बीच द्वन्द्व हुन्छ । यहाँ त प्रतियोगी मात्र होइन्, ग्याङ लिडरहरु बीच पनि लडाई भइरहेको हुन्छ । समन भन्छन्, ‘त्यहाँ भएको विवाद कति देखाइन्छ कति देखाइएको नै हुन्न । त्यहीँ रिसिइवीले होटल पुगेपछि पनि नबोल्नेसम्म हुन्छ ।’

विश्वकप खेलेका समन

समन पेशाले क्लाइम्बर हुन् । उनले नेपालको प्रतिनिधित्व गर्दै दुई पटक क्लाइम्बिङ विश्वकपमा भाग लिइसकेका छन् ।

सन् २०१४ बाट उनले क्लाइम्बिङ सुरु गरेका हुन् । सुरुवाती दिनमा उनी एक क्लाइम्बिङ वालमा पार्ट टाइम जागिरे थिए । त्यहाँ उनले आएका ग्राहकलाई सेफ्टी हेर्दिने तथा सेफ्टीबारे जानकारी दिने काम गर्थे । तर, त्यहाँ उनी अरुलाई चढाउने भन्दा पनि आफू बढि चढ्न थाले । त्यहाँबाट उनको क्लाइम्बिङमा रुचि बढ्यो ।

पछि केही प्रतियोगितामा भाग लिएपछि उनको रुझान झनै बढ्दै गयो । समन भन्छन्, ‘प्रतियोगितामा जाँदा नजिते पनि गणनामा आउथेँ । सुरुवाती दिनमा नै यत्तिको गर्न सके भने अझै मेहनत गर्दा त गर्न सक्छु भन्ने लागेर यसैमा लागिपरेँ ।’

समनले धेरैपटक क्लाइम्बिङको उपाधी जितिसकेका छन् । उनको सोच विश्वकप जित्नेमा नै छ ।

क्लाइम्बिङबाट नै राम्रो कमाई गर्छु भन्ने अवस्था अहिले छैन । यसैमा निर्भर रहेर बाँच्न गाह्रो छ ।

समन भन्छन्, ‘कम्पिटिसन जित्यो भने पैसा आउने हो । अहिले त कम्पिटिसनमा पनि पुस्कार घटेको छ । पहिला ५० हजार पुरस्कार थियो, अहिले त जम्मा ३० हजार छ । यसले कसरी जीवन धान्ने ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment