Comments Add Comment

काँकडभिट्टाबाट नेपाल भित्रिने क्रम ह्वात्तै घट्यो

९ चैत, काकडभिट्टा । पूर्वी नेपालको मुख्य प्रवेशद्वार मेचीको काँकडभिट्टाबाट नेपाल प्रवेश गर्ने व्यक्तिहरुको संख्या ह्वात्तै घटेको छ । हिजो शनिबार १३ हजार ५ सय ८५ जना नेपाल भित्रिएकोमा आइतबार यो संख्या २ सय हाराहारीमा झरेको हो ।

मेची नगरपालिकाको तथ्यांकअनुसार ९ दिनमा साढे ८४ हजार जना नेपाल भित्रिएका छन् । नगरपालिकाले काँकडभिट्टामा गत चैत १ गतेदेखि हेल्थ डेस्कको स्थापना गरी नाका बाटबाट आवागमन गर्नेहरुको स्वास्थ्य परीक्षण गर्नुका साथै लगत राख्न थालेको थियो ।

मेयर विमल आर्चायले यस अवधिमा ८४ हजार ८ सय ३२ जना नेपाल प्रवेश गरेको जानकारी दिए । यसमा महिलाको संख्या २७ हजार २९० रहेको छ । यो अवधिमा काँकडभिट्टा नाकाबाट ८१ हजार जना भारततर्फ गएका छन् ।

इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायव उपरीक्षक राजेन्द्र पोखरेलका अनुसार आइतबार अपरान्हसम्म २ सय १३ जना मात्र सो नाका भएर नेपाल प्रवेश गरेका छन् ।

‘भारतीय भूमिबाट नेपाल प्रवेश गर्नेको संख्या आइतबारदेखि ह्वातै घटेको छ,’ प्रहरी नायव उपरीक्षक पोखरेलले भने ।

विश्वभर फैलिरहेको कोरोना भाइरस (कोभिड– १९) को सङक्रमण रोकथामका लागि भारतको पश्चिम बंगाल सरकारले नेपालसँग जोडिएको काँकडभिट्टाबाहेक सबै नाका एक साताअघि बन्द गरेको छ ।

अघिल्लो शनिबार इलामको पशुपतिनगर नाका बन्द गरेकोमा आइतबारदेखि काँकडभिट्टाबाहेक सबै नाका बन्द गरेको हो । भारतको विहार सरकारले भने अहिलेसम्म कुनै नाका बन्द गरेको छैन । झापा जिल्लासँग भारतको पश्चिम बङ्गाल र विहार राज्य जोडिएका छन् ।

बंगालसँग काँकडभिट्टा र भद्रपुर नाका जोडिन्छ भने विहारसँग भद्रपुरसहित केचना, कुमरखोद, गौरीगञ्ज नाका जोडिएका छन् । बंगालले काँकडभिट्टाबाट स्वास्थ्य परीक्षण गरेर मात्र प्रवेश दिइरहेको छ ।

२८ जना फर्काइयो

यसैबीच, काँकडभिट्टा नाकाबाट नेपाल प्रवेश गर्न खोज्ने २८ जनालाई सिमानाकाबाट भारत फर्काइएको छ । भारतका विभिन्न स्थानबाट नेपाल प्रवेशका लागि आएका उनीहरुको स्वास्थ्य परिक्षण गर्ने क्रममा ज्वरो देखिएपछि उनीहरुलाई नाकाबाटै भारततर्फ फर्काइएको इलाका प्रहरी कार्यालय काँकडभिट्टा प्रहरी नायव उपरीक्षक पोखरलले बताए ।

‘नाकामा नियमित स्वास्थ्य जाँचका क्रममा भारतबाट नेपाल आएका २८ जनामा ज्वरो देखियो,’ प्रहरी नायव उपरीक्षक पोखरेलले भने, ‘त्यसैले उनीहरुलाई भारत नै फिर्ता पठाएका छौ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment