११ चैत, काठमाडौं । फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएकी विद्यार्थीलाई कोरोना भाइरसको संक्रमण भेटिएको खबरसँगै उनी कुन विमानबाट आएको थियो भन्ने चासो बढ्यो ।
४ चैतका काठमाडौं उत्रिएकी उनी कतार एयरवेजबाट काठमाडौं आएको खुले पनि फ्लाइट नम्बर खुलेको छैन । सरकारले न उनी सवार विमानबारे जानकारी दिएको छ, न त्यो विमानमा सवार मानिसहरुलाई सम्पर्क गरेको छ ।
यसले झन् अन्यौल बढेको छ । र, ४ चैतमा कतार एयवेजको विमानबाट आएकाहरु आफैं अस्पतालको सम्पर्कमा पुग्न थालेका छन् ।
उनीहरु मध्ये एक हुन्, उदयपुरका वेलका नपा–३ का युवक । कोरोना संक्रमित भएकी युवती ४ चैतमा कतार एयरवेजबाट आएको थाहा पाएपछि उनी आत्तिए । विहानभर मकै गोडेर थाकेका उनलाई ज्वरो आएझैं भयो ।
वेलका नगरपालिका मेयर दुर्गाकुमार थापालाई फोन गरे र आफू पनि ४ चैतमा कतार एयरवेजको विमानबाटै आएको सुनाए । मेयरले चिकित्सक कहाँ जान सुझाए तर स्थानीय चिकित्सक चेकजाँच गर्न डराएको मेयर थापाले सुनाए ।
कोरोना संक्रमितको उपचार गर्दा सुरक्षाका लागि लगाउन पर्सनल प्रोटेक्टिभ इक्वीपमेन्ट (पीपीई) नभएका कारण एम्बुलेन्स चालकले पनि अस्पतालसम्म लैजान सक्ने अवस्था नरहेको मेयर थापाले बताए ।
‘स्थानीय चिकित्सकले जाच्न मान्दैनन, अस्पताल लैजान सुरक्षा सावधानी अपनाउने सामाग्री छैन’ मेयर थापाले भने, ‘प्रदेश सरकार र सीडीओलाई मैले बारम्बार सम्पर्क गरेँ । सेल्फ क्वारेनटाइनमा राख्नु मात्रै भन्नुहुन्छ ।’
उदयपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) दीपक पहाडीले कतार एयरवेजबाट काठमाडौं ओर्लिएको पुष्टि भएकाले उनलाई सेल्फ क्वारेनटाइनमा बस्न भनिएको बताए ।
‘म आफैंले कुरा गरेँ । टाउको दुख्ने, ज्वरो आउने केही भएको छैन भन्नु भयो’ उनले भने, ‘त्यसपछि परिवारसँगै नबसेर सेल्फ क्वारेनटाइनमा बस्नु भनेका छौं ।’