Comments Add Comment

कोरोनाको विश्वव्यापी प्रभाव र नेपालमा पर्ने असर

विश्व अहिले कोरोनाको कहरबाट त्रस्त छ । विश्वभरि नै फैलिएको यो महामारीको स्वास्थ्यमा पर्ने प्रभाव त छँदै छ यसको सामाजिक, आर्थिक तथा राजनैतिक प्रभाव पनि पर्ने निश्चित छ ।

कोरोना भाइरसबाट संक्रमित व्यक्तिको संख्या हेर्ने हो भने एक हजार जनाभन्दा बढी संक्रमित भएका देशहरुको संख्या २२ छ । एउटा अनौठो संयोग के छ भने यी सबै देशहरुको प्रतिव्यक्ति आय ५ हजार डलरभन्दा बढी छ । यी २२ देशमध्ये १० हजार डलरभन्दा बढी प्रतिव्यक्ति आय हुने देश २० वटा र २० हजार डलर भन्दा बढी प्रतिव्यक्ति आय हुने देशको संख्या १८ छ । यी २२ देशहरुले विश्वको कूलगाह्रस्थ उत्पादनमा करिब ७३ प्रतिशत योगदान गर्दछन् ।

यी २२ वटै देशहरुको विश्व राजनीतिमा पनि दबदबा छ । यहाँ विकसित र शक्तिशाली देशमा कोरोना भाइरसको असर बढी हुन्छ भन्न खोजिएको होइन (यस्तो असर किनपर्यो भन्ने पनि खोजको विषय हुन सक्तछ) । यहाँ भन्न खोजिएको कुरा के हो भने विकसित र शक्तिशाली देशमा नै कोरोनाको असर बढी परेको कारणले गर्दा यसको सामाजिक, राजनीतिक र आर्थिक असर कुनै एक देशमा मात्र नपरेर विश्वव्यापी रुपमा पर्ने निश्चित छ ।

विश्वव्यापी आर्थिक असर

कोरोना कहर जारी रहँदा र यसपछि यसको असर विश्व अर्थव्यवस्थामा कस्तो पर्ला अहिले नै ठोकुवा गर्न गाह्रो भए तापनि अनुमान गर्न भने सकिन्छ । कोरोनाका औषधि पत्ता लागि नसकेको अवस्थामा विश्वव्यापी रुपमा नै यसको असर कम गर्ने उपायको रुपमा आइसोलेसन (चिकित्सकको निगरानीमा अलग्गै बस्ने), लकडाउन (घरबाट बाहिर ननिस्कने र आउ–जाउ बन्द गर्ने) र क्वारेन्टाइन (अरु व्यक्तिबाट अलग्गै निगरानीमा बस्ने)लाई लिइएको छ ।

डा. दधि अधिकारी

यसले गर्दा अत्यावश्यक सेवाबाहेक विश्व भरि नै स्कूल, कलेज, उद्योग, कलकारखाना, कार्यालयहरु या त बन्द छन् या न्यून क्षमतामा सञ्चालनमा छन् । यसो हुँदा यसको असर उत्पादन र रोजगारीमा परेको छ । वस्तु तथा सेवाको कम उत्पादन तथा कम रोजगारी अहिलेका तत्कालीन नकारात्मक असर हुन् । यसको दीर्घकालीन नकारात्मक असर निकै ठूलो हुनेछ ।

चीनको औद्योगिक उत्पादन विगत दुई महिनामा करिब १४ प्रतिशतले घटेको छ । उत्पादनमा आएको यो कमी श्रमिकको अभावले मात्र होइन । यसमा यात्रा प्रतिबन्धको कारणले भएको कच्चा पदार्थ आपूर्तिको कमीको पनि योगदान छ । औद्योगिक उत्पादनमा कमी विश्वव्यापी रुपमा आएको छ ।

विश्वभरि नै शेयरबजार ओरालो लागेको छ । जापानको शेयर बजार सूचकांक (निकेई २२५) गत दुई महिनामा करिब ३० प्रतिशतले तल झरेको छ भने फूटसी (लण्डन स्टक एक्सचेन्ज) तथा डाउ जोन्स (अमेरिका) सूचकांक १९८७ पछि सबैभन्दा कम भएको भनिएको छ ।

कोरोना भाइरसले सबैभन्दा बढी प्रत्यक्ष असर गर्ने क्षेत्र पर्यटन हो । यो भाइरसको असर देखिएका करिब–करिब सबै देशले यात्रामा प्रतिबन्ध लगाइसकेका छन् । यसको असर होटेल, रेस्टुरेन्ट तथा हवाई, जल र स्थल यात्रामा पनि परेको छ । यूरोपियन यूनियनले हवाई यात्रामा लगाएको प्रतिबन्धले मात्र एक महिनामा करिब ४८ हजार उडान र १ करोडभन्दा बढी यात्रु सिट प्रभावित हुने देखिएको छ । यस्तै होटल तथा रेस्टुरेन्टमा बुकिङ गर्ने तथा खाना खान जानेको संख्या विभिन्न देशमा ८० प्रतिशतदेखि ९५ प्रतिशतसम्म घटेको छ ।

अमेरिकामा अर्को हप्तामात्रै ३० लाख र आउँदो महिना करिब ५० लाख मानिसले रोजगारी गुमाउने अनुमान गरिएको छ । गोल्डम्यान स्याक्सको अनुमान झनै भयावह छ । यसले अमेरिकाको जीडीपी आउँदो चौमासिकमा २४ प्रतिशतले घट्ने अनुमान गरेको छ । अमेरिकाको आर्थिक इतिहासमा सन् १९२९ पछि जीडीपीमा सबैभन्दा ठूलो गिरावट सन् १९३२ (–१२.९ प्रतिशत) र सन् १९४६ (–११.६ प्रतिशत)मा देखिएको थियो । सन् २००८ कै आर्थिक मन्दीको बेलामा पनि अमेरिकाको जीडीपी २.९ प्रतिशतले मात्र घटेको थियो ।

माथिका तथ्यांकहरुले समग्र विश्व कोरोना भाइरसको कारणले आर्थिक मन्दितर्फ उन्मुख भएको देखाउँछन् । जर्मन बहुराष्ट्रिय बैंक डोच बाङ्कले गरेको अनुमानअनुसार चीनको जीडीपी पनि ३० प्रतिशतभन्दा बढीले घट्ने छ र अन्य देशहरुको अवस्था पनि करिब–करिब त्यस्तै हुनेछ । यसले गर्दा विश्वभर नै मन्दीको अवस्था छाउने छ र यो अवस्था दोस्रो विश्व युद्धको समय भन्दा पनि खराब र कष्टकर हुनेछ । यो मन्दीको खराब पक्ष के हुनेछ भने यस पटक सरकारहरुले किन्सको सिद्धान्त अनुरुप सार्वजनिक खर्च बढाए पनि त्यसले काम नगर्न सक्छ ।

नेपालमा पर्ने असर

विश्व अर्थतन्त्रमा परेको असरबाट नेपाल अछुतो रहन सक्दैन । कोरोनाको कारणले नेपालमा पर्ने असर आन्तरिक र बाह्य दुवै प्रकारका हुनेछन् । आन्तरिक असर पनि प्रत्यक्ष र अप्रत्यक्ष दुवै हुनेछन् । सबैभन्दा प्रमुख असर त पर्यटन क्षेत्रमा नै पर्ने छ । यो क्षेत्रमा पर्ने असरको मूल्यांकन अहिले नै गर्न गाह्रो छ ।

नेपाल टुरिज्म स्ट्याटिस्टिक्सका अनुसार नेपालमा पर्यटकको औसत बसाइँ १२.४ दिन छ र उनीहरुले दैनिक औसत ४४ डलर खर्च गर्दछन् । सन् २०१८ मा नेपालमा करिब १२ लाख पर्यटक आएका थिए । यदि यो वर्ष २० प्रतिशतमात्र पनि पर्यटकको वृद्धि हुने थियो भनेर मान्ने हो र यदि कोरोना नियंन्त्रण भयो भने यो वर्षको बाँकी महिनामा यो संख्याको २० प्रतिशतमात्र पर्यटक आउनेछन् भनेर मान्ने हो भने नेपालले पर्यटकको अवागमनको कारणले मात्र करिब ७५ अर्ब रुपैयाँ र सरकारले करिब १० अर्ब राजस्व गुमाउने छ । पर्यटकको कारणले गुमाउने यो रकम हाम्रो जीडीपीको करिब २.५ प्रतिशत हो ।

पर्यटनको प्रत्यक्ष प्रभाव मात्र हुँदैन । यसको अप्रत्यक्ष प्रभाव पनि हुन्छ । जस्तै नगरकोट क्षेत्रका वरिपरिका किसानहरुको तरकारी त्यहाँका रिसोर्टहरुले किनिदिन्छन् । जसले गर्दा स्थानीय किसानहरुले राम्रो आम्दानी गर्दछन् । तर पर्यटकको अभावमा (कोरोनाले आन्तरिक पर्यटन पनि घटाउने छ) रिसोर्टहरुले तरकारी किन्ने छैनन् जसले गर्दा स्थानीय किसानहरुको आम्दानी घट्ने छ । यस्तो असर तरकारीमा मात्र होइन दूध, फलफूल, माछा, मासु उत्पादनको क्षेत्रमा पनि पर्ने छ ।

होटेल, रिसोर्ट र पर्यटकीय स्थल बन्द हुँदा त्यहाँ काम गर्ने लाखौं मानिसले रोजगारी गुमाउने छन् । नेपालको पर्यटन क्षेत्रले करिब ५ लाख मानिसलाई रोजगारी दिएको अनुमान छ । यसमध्ये करिब आधा मानिसले मात्र रोजगारी गुमाउने हो भने, प्रतिव्यक्ति मासिक ज्याला ३५ हजार रुपैयाँ मान्दा, उनीहरुले प्रतिमहिना करिब ८७ करोड र वार्षिक करिब १० अरब रुपैयाँ गुमाउने छन् । यसबाट सरकारको कर आम्दानी करिब डेढ अर्ब रुपैयाँले घट्ने छ । यसको गुणक प्रभाव त छुट्टै छ ।

हामीले गाउँ छाड्दा कतिपय जग्गा बाँझै भएका छन् । ती जग्गा कम्तिमा पनि यो वर्ष उपयोगमा ल्याउनको लागि अब प्रोत्साहन गर्नु पर्दछ

कोरोना कहरको अर्को प्रत्यक्ष असर पर्ने औद्योगिक क्षेत्र हो । आइसोलेसनको कारणले यी उद्योग कम्तीमा १० दिन बन्द हुनेछन् । यो दश दिनलाई नेपाल बन्दसँग तुलना गर्ने हो भने यो अवधिमा औद्योगिक क्षेत्रले करिब १० अर्ब जतिको नोक्सान व्यहोर्नु पर्ने अनुमान गर्न सकिन्छ । विभिन्न स्रोतबाट प्राप्त तथ्यांक र विगतमा भएका विभिन्न अध्ययनको आधारमा गणना गर्ने हो भने समग्रमा राष्ट्रले कोरोना भाइरसको कारणले यो दश दिनको अविधिमा करिब २० अर्ब रुपैयाँको नोक्सान बेहोर्नु पर्ने अनुमान गर्न सकिन्छ । यदि महामारी लम्बियो भने राष्ट्रले यही दरमा नोक्सानी बेहोर्नु पर्ने छ ।

यो महामारीको कारणले विदेशमा बस्ने नेपालीहरुले पनि रोजगारी गुमाउनु पर्ने हुन सक्छ । किनभने विदेश जहाँ बहुसंख्यक नेपालीहरु काम गरिराखेका छन् त्यहाँ पनि महामारी फैलिएको छ । यदि विदेशमा बस्ने आधामात्र नेपालीले रोजगारी गुमाए भने पनि रेमिट्यान्स (विप्रेषण) आधाले घट्ने छ । विप्रेषण घट्दा वैदेशिक रोजगारमा गएकाका परिवारलाई मात्र होइन देशलाई नै असर पर्ने छ । यदि ६ महिनामात्र पनि रोजगारी गुम्यो भने राष्ट्रले करिब चार खर्ब बराबरको लागत व्यहोर्नु पर्ने छ ।

घट्दो उत्पादन, बेरोजगारी, तथा विप्रेषण र पर्यटकको कमीले गर्दा घट्ने विदेशी मुद्राको संचितीले नेपालको अर्थ व्यवस्था निकै दयनीय अवस्थामा पुग्न सक्ने देखिन्छ । तर यो समस्या नेपालको मात्र भने होइन । नेपालकै परिप्रेक्षमा भन्ने हो भने यो नाकारात्मक प्रभावलाई कम गर्न हामीसँग केही सकारात्मक कुरा पनि छन् । नेपाल विकसित देश जस्तो पूर्णतया मौद्रिकीकरण भएको छैन र हरेक क्षेत्र पूर्णतया व्यवसायीकरण पनि भएको छैन । अतः म्याक्रो इकोनोमिक सूचकहरुमा समस्या आउँदैमा जीवन कष्टकर भएता पनि विकसित देशमा जस्तो त्यति धेरै कष्टकर भने नहोला ।

अहिले पनि महामारीको आशंका पछि असंख्य मानिसहरु गाउँ फर्किएका छन् । हामी धेरैजसोसँग केही न केही मात्रामा जग्गा छ । हामीले गाउँ छाड्दा कतिपय जग्गा बाँझै भएका छन् । ती जग्गा कम्तिमा पनि यो वर्ष उपयोगमा ल्याउनको लागि अब प्रोत्साहन गर्नु पर्दछ । यदि कोरोनाको प्रभाव लामो समयसम्म रह्यो भने विश्वभर नै खाद्यान्न उत्पादन घट्न सक्छ र खाद्य संकट पर्न सक्छ । यो सम्भावित संकटको पनि सामना गर्न नेपालले उचित रणनीति बनाउनु आवश्यक छ । गाउँ फर्किएकाहरुले खोरिया खनौं । उत्पादन बढाउने काममा लागौं ।

अन्त्यमा, कोरोनाको महामारीले विश्व अर्थतन्त्र धरासायी हुने संघारमा छ । यसको असर नेपालमा पनि पर्ने निश्चित छ । यसको लागि महामारी नियन्त्रण बाहेकका अन्य क्षेत्रमा पनि रणनैतिक रुपले तयारी सुरु गर्नु आवश्यक छ । यी रणनीति दीर्घकालीन र अल्पकालीन दुवै प्रकारका हुनेछन् । अल्पकालमा सरकारले उद्योग, व्यवसायीहरुलाई राहत कार्यक्रम, जस्तै बैंकको किस्ता ढिलो तिर्न मिल्न बनाउने, यो अवधिको किस्ता पछि तिर्न मिल्ने गरी सहुलीयत दिने, कालोबजारी नियन्त्रण गर्ने जस्ता कार्यक्रम ल्याउन सकिन्छ भने दीर्घकालमा देशको कृषि क्षेत्रको उत्पादन बढाउने र उद्योग धन्दालाई पुनर्जीवन दिने लगायताका कार्यक्रम ल्याउनु आवश्यक छ ।

(लेखकले अमेरिकाबाट अर्थशास्त्रमा विद्यावारिधी गरेका छन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment