Comments Add Comment

सीमा नाकाको रिपोर्ट : निर्यात शून्य, आयात नगण्य

विराटनगर भन्सारबाट नेपालतर्फ आउँदै गरेको सवारी साधन । तस्वीर : ध्रुव भट्टराई/अनलाइनखबर

१२ चैत, काठमाडौं । कोभिड–१९ को प्रकोप रोक्न नेपाल र भारत दुवै देश लकडाउनमा गएसँगै दुई देशको आयात–निर्यात प्रभावित बनेको छ । प्रमुख भन्सार नाकाहरु सुनसान छन् भने भन्सारमा खटिएका कर्मचारीहरु फुर्सदिला बनेका छन् ।

चीनतर्फका सबै नाका ठप्प बनेको तीन महिना पुग्न लाग्दा भारततर्फका प्रमख नाकाहरु पनि मंगलबारदेखि सुनसान भएका हुन् । भन्सार प्रमुखहरुका अनुसार इन्धन बोकेका सवारीसाधन सीमित संख्यामा आउनेबाहेक अरु चहलपहल छैन ।

भारतसँग ठूलो व्यापार हुने पूर्वको मेची भन्सार भएर दुई दिनमा जम्मा दुई ट्याङ्कर हवाई इन्धन नेपाल भित्रिए । सो नाकाबाट निर्यात शून्य रहेको भन्सार प्रमुख ध्रुवराज विश्वकर्मा बताउँछन् ।

‘आज त कारोबार नै शून्य छ, मंगलबार आएको दुई गाडी एटीएफ भन्सार पासको चरणमा छ,’ विश्वकर्माले झापाबाट फोनमा भने ।

मंगलबारदेखि नाकामा मानिसको आवाजावत र मालसामान ढुवानी ठप्प रहेको छ । भारततर्फको भन्सारले मालवस्तु आए जाँचपास गर्ने बताए पनि निकासी–पैठारी ठप्प हुँदा दुवै देशका भन्सार प्रतिनिधि फुर्सदमा छन् ।

नेपालमा सबैभन्दा धैरै मालवस्तु आयात हुने वीरगन्ज भन्सारको कारोबार पनि सुस्ताएको छ । मंगलबार ३० ट्याङ्कर पेट्रोलियम आएको सो नाकाबाट थोरै मात्रामा अतिआवश्यकीय वस्तु भित्रिएको भन्सार प्रमुख ढुण्डीराज निरौलाले जानकारी दिए ।

‘मंगलबार ८ करोड राजश्व उठ्यो, आज ३३ ट्यांकर पेट्रोलियम आएका छन् । कारोबार निकै सुस्ताएको छ,’ निरौलाले भने ।लकडाउनका कारण दुवैतर्फको अवस्था सुनसान रहेको उनले बताए । मालवस्तु आवाजावत र जाँचपासमा दुवै देशको भन्सारले सहजीकरण गरेर काम गर्न तयार रहँदा पनि व्यापारको माहोल नदेखिएको उनले बताए ।

अर्को प्रमुख भन्सार नाका भैरहवाको अवस्था पनि फरक छैन । भन्सार प्रमुख कमलकुमार भट्टराईका अनुसार सीमित पेट्रोलियमबाहेकको व्यापार मंगलबारदेखि नाकामा ठप्प भएको छ । ‘आज ७ बुलेट ग्यास आएको छ, खाद्यान्न, तरकारी लगायतका कुनै पनि गाडी आएका छैनन्,’ भट्टराईले भने ।

भारततर्फका भन्सार अधिकृतसँगको वार्ता भर्खरै सकिएको भन्दै भट्टराईले मालवस्तु जाँचपासमा सहजीकरण तथा सुरक्षा सुनिश्चितता गर्न दुवै भन्सार र सरकारी निकाय सहमत भएको बताए । ‘हामी कामका लागि तयार छौँ, व्यवसायीमा अन्यौल हो कि जस्तो छ, हामी वातावरण बनाउँदै छौँ,’ भन्सार प्रमुख भट्टराईले जानकारी दिए ।

लकडाउनपछि सुख्खा बन्दरगाह पर्साको कारोबार शून्य बनेको भन्सार प्रमुख उमेश श्रेष्ठले बताए । ‘अहिले कारोबार शून्य नै भन्दा पनि हुन्छ, हामी काम गर्न आएका छौं, तर मालवस्तु आएको छैन,’ भन्सार प्रमुख श्रेष्ठले भने ।

मंगलबार आएका केही मालवस्तु भन्सार पास भएको तर आज केही वस्तु नआएको उनले बताए । कोरोनाको मनौवैज्ञानिक त्रासका कारण भन्सार एजेन्टहरु पनि निरुत्साहित भएको उनको भनाइ छ ।

विराटनगर नाकामा सहजीकण

विराटनगर आईसीपीमा अन्य भन्सारको तुलनामा कारोबार बढी भएको पाइएको छ । पेट्रोलियमसहितका दर्जनौ सवारीसाधनहरु भारतर्फबाट नेपाल भित्रिएको र केही भित्रिने क्रममा रहेको आईसीपीका भन्सार अधिकृत एवं सूचना अधिकारी गोपी उप्रेतीले अनलाइनखबरलाई बताए ।

दुवै देशको लकडाउनले भन्सार गतिविधिका लागि नेपाली र भारतीय सरकारी अधिकारीहरुलाई कुनै समस्या नभएको उप्रेतीको भनाइ छ । तर भन्सार एजेन्ट तथा व्यापारी एवं श्रमीकहरुको आवतजावत बन्द हुँदा समस्या देखिएको उनले बताए ।

‘दुवै देशमा समान समस्या देखिएको छ, नेपालको हकमा अनलाइन पासको व्यवस्था गर्न जिल्ला प्रशासनसंग समन्वय गर्दैछौँ,’ उप्रेतीले भने ।

भन्सारहरुको कारोबार स्वाभाविक रुपमा ओरालो लागेको भन्सार विभागका निर्देशक एवं सूचना अधिकारी शिशिर घिमिरेले बताए । ‘यार्डमा आएकोे वस्तुको जाँचपासमा समस्या छैन, तर विगतको तुलनामा कारोबार घटेको छ, श्रमिकहरुको पनि अभाव भएको छ,’ घिमिरेले भने । त्रासकै कारण भन्सार एजेन्टहरु पनि नगएको उनले बताए ।

सुरक्षा सामाग्री भएन

आयातित सामानबाट कोरोना संक्रमण जोखिम भए पनि भन्सार कार्यालयहरुमा पूर्वसुरक्षा तयारी नपुगेको भन्सार विभागले जनाएको छ । संक्रमण त्रासकै कारण श्रमीक, भन्सार एजेन्ट तथा कर्मचारीको मनोवल खस्किएको भन्सार विभागका महानिर्देशक सुमन दाहालले बताए ।

‘जसरी पनि भन्सार, चुस्त–दुरुस्त सञ्चालनका लागि हामी लाग्छौँ, सम्बन्धित निकायले संक्रमणको जोखिम हटाउन हामीलाई सहयोग गरोस्,’ महानिर्देशक दाहालले भने ।

मुख्य भन्सारहरुमा सामान्य मास्क र स्यानिटाईजर बोकेर कर्मचारीहरु मालवस्तु जाँचपासमा खटिनुपरेको उनले बताए । भन्सार कार्यालय र यार्डहरुमा डिसइन्फेक्सन मात्रै गर्न पाए काम गर्न सजिलो हुने विभागको अपेक्षा छ ।

नेपाल–भारतर्फ छोटीसमेत गरेर २६ वटा नाकाहरु सञ्चालन थिए । कोरोनाका कारण सबै नाकाको गतिविधि सामान्य अवस्थाको भन्दा निकै कमजोर बनेको विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment