Comments Add Comment

टिप्पणी : कोरोनाको भरपर्दो ओखती आत्म–अनुशासन

‘कोभिड –१९ बुलेट ट्रेन भन्दा तिब्र गतिमा फैलिरहेको छ’ भन्दै अमेरिकास्थित न्युर्योक राज्यका गर्भनरले आवश्यक सर्तकता र तयारीका लागि आह्वान गरेका रहेछन् ।

कोरोना भाइरसको तिब्र फैलावटलाई ‘बुलेट ट्रेन’सँग त्यसै तुलना गरिएको होइन । यसलाई कतिपयले ‘तुफान’को संज्ञा पनि दिएका छन् । यसको अर्थ के भने कोरोना भाइरसले यति तिब्रताको साथ विध्वंस मच्याउँछ कि, मानौं त्यो अनियन्त्रित तुफान हो । र, यसले निमेषभरमै सबैलाई सोत्तर बनाउँछ ।

चाहे इटालीको सन्दर्भमा होस् वा स्पेनको, कोरोनाले नसोचेको नियति भोग्न बाध्य बनाइदियो । आज एकाधमा संक्रमण देखिए भन्दै ढुक्क भइरहँदा १२ घण्टा बित्न नपाउँदै त्यसबाट संक्रमितको दर दिन दुई गुणा रात चौगुणा रुपमा बढिदियो । संक्रमितको संख्या जति तिब्रताको साथ बढ्दै गयो, मृत्यु दर पनि उही अनुपातमा बढ्यो । यसले त्यहाँको सरकार र सर्वसाधरणलाई नराम्ररी अत्यायो ।

अहिले विश्वका अधिकांश मुलुकलाई कोरोनाले त्यसरी नै अत्याइरहेको छ ।

वैश्विक संकटको यो कालो छाँयाले हामीलाई पनि छोपिसकेको छ । हामीकहाँ अहिले कोरोना संक्रमितको संख्या बढ्दैछ । अहिले यो धिमा गतिमा बढ्दै गएपनि यसको दर बढ्न सक्ने संभावना प्रशस्तै छन् । किनभने हिजोसम्म ति संक्रमितहरु कहाँ र कस्तो अवस्थामा थिए, उनीहरुको सम्पर्कमा को–को पुगे भन्ने विवरण केलाउनै सकिरहेका छैनौं । कोरोनाका सम्पर्कमा पुगेका व्यक्तिहरु जोखिम बर्गमा छन् र उनीहरुले अरुलाई पनि जोखिममा पार्न सक्नेछन् । अर्थात एक बाट दुई, दुई बाट आठ आठ बाट चौसठीको गुणात्मक रफ्तारमा यसको संक्रमण फैलन सक्ने प्रशस्तै संभावना छ ।

कोरेनाको असर फैलदै गर्दा कतिपय विदेशबाट नेपाल भित्रिएका छन् । कतिपय शहरबाट गाउँ पुगेका छन् । यस किसिमको चलखेलले कोरोनाको फैलावटलाई अरु सहज बनाइदिएको छ ।

मानौं कोरोना घर–घर, गाउँ–गाउँ पुगेको अवस्था कति भयानक होला ? हामी कति अकल्पनिय क्षतिको साक्षी बन्नुपर्ने होला ?

संभावित दुर्घटनाको सामुन्नेमा पुगेका छौं हामी । हाम्रो घर–परिवार, समाज र पुरै राज्य अहिले डेन्जर जोनमा छ । के भनिन्छ भने, इटाली स्वास्थ्य सेवाका क्षेत्रमा विश्वकै उदाहरणिय मुलुकमा गनिन्थ्यो । अहिले उक्त मुलुकको स्वास्थ्य सेवालाई चुनौती दिदै कोरोनाले उत्पात मच्याइरहेको छ । त्यती उन्नत, छरितो, चुस्त स्वास्थ्य सेवा भएको मुलुकले त केही गर्न सकिरहेको छैन भने हाम्रो मुलुकको हालत के होला ?

अहिले स्वास्थ्य सेवालाई सर्तक अवस्थामा राखिएपनि दक्ष जनशक्ति, पूर्वाधार, उपकरण आदिको अभाव ज्यूँको त्यूँ छ । निजी अस्पताल र चिकित्सकहरु जिम्मेवार देखिएका छैनन् । सामान्य रुघा लागेको व्यक्तिलाई समेत ढोकाबाट फर्कारहेका छन् । सीमित स्वास्थ्यकर्मी पेलानमा परेका छन् । कतिम्म भने कोरोनको परिक्षणमा खटिएका उनीहरुलाई त्यसको रिपोर्ट छिटो–छरितो उपलब्ध गराउनुपर्नेमा लुकाउने गरिएको देखिन्छ । यस किसिमको लापरवाही, छल–कपटपूर्ण व्यवहारले ति स्वास्थ्यकर्मीलाई मात्र जोखिममा पार्दैन, पुरा मुलुकलाई संकटमा धकेल्न सक्छ । तर, यो संवेदनशिलताप्रति स्वास्थ्य मन्त्रालय आफै लाचार छ ।

यी पृष्टभूमीले के देखाउँछ भने भोलिका दिनमा कोरोना भाइरसले इटाली, स्पेनकै नियती ल्याइदिएमा हामीसँग ‘पशुपतिनाथले रक्षा गरुन्’ भन्दै लम्पसार पर्नुको विकल्प रहनेछैन । अर्थात हामी अस्पताल र उपचारको भर पर्ने ठाउँ छैन ।

यसको अर्थ यो होइन कि, हामीसँग अब केही विकल्प छैन । हामी भयानक संकट झेल्दैछौं । यसबाट भय, तनाव वा आतंक मच्याउनुपर्ने केही छैन । किनभने कोरोना भाइरस खोजी–खोजी हामीकहाँ आइपुग्दैन । दौडदै हाम्रो घरभित्र प्रवेश गर्दैन । हामीलाई झम्टदै आउँदैन । लखेट्दै आउँदैन ।

हामीलाई तब मात्र यसले छोप्नेछ, जब हामी लाचार हुन्छौं, लापरवाही गर्छौं । अटेर गरेर घर बाहिर जाने, भिडभाडमा बस्ने, घुमफिर गर्ने हो भने त  ‘भिरमा जाने गोरुलाई रामराम भन्न सकिन्छ, काँध हाल्न सकिन्न’ भनेजस्तै हुन्छ । जो आफै जानीजानी भिरमा हाम फाल्न जान्छ, उनको लागि यहाँ ‘राम’ जप्नु बाहेक केही गर्न सकिदैन ।

तर, अत्यासलाग्दो कुरा के भने यसरी जानी–जानी हामफाल्नेले आफुलाई मात्र सिध्याउँदैन, साथसाथै उनका परिवार र पुरा समुदायलाई नै भिरको टुप्पोमा लगेर छाडिदिन्छ । त्यसैले यतिबेला जानी–जानी आफु जोखिममा पर्नु भनेको परिवार र समाजप्रति नै अत्याचार गर्नु हो ।

हुनसक्छ कतिपय वाध्यत्मक अवस्थामा घरबाहिर जानुपर्छ । भिडभाडमा पुग्नुपर्छ । तर, आवश्यक नपरी अटेर गरेर घरबाट निस्कने, भिडमा जाने भनेको यस्तो मूर्खता हो, जसले आफुलाई त जोखिममा पार्छ नै परिवार र समाजलाई पनि संकटको घेराभित्र पु¥याउनेछ ।

त्यसैले यतिबेला आत्म–अनुशासन नै सबैभन्दा ठूलो ओखती हो । तुफान जस्तै तिब्रताका साथ उत्पात मच्याउने कोरोना त्यसबेलासम्म हाम्रो घरभित्र प्रवेश गर्दैन, जबसम्म त्यसलाई लिन हामी बाहिर जाँदैनौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment