Comments Add Comment

भारतबाट फर्किएका नेपालीको पोखराको क्वारेन्टाइनमा मृत्यु

१३ चैत, पोखरा । १२ दिनअघि भारतबाट फर्किएर कास्कीको रुपा गाउँपालिकाको क्वारेन्टाइनमा बसेका एक जनाको मृत्यु भएको छ । रुपा गाउँपालिकाका ५० वर्षीय विश्ववन्धु नेपालीको बुधबार दिउँसो पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो ।

नेपालीलाई मंगलबारदेखि रुपा गाउँपालिकाले तयार पारेको क्वारेन्टाइनमा राखिएको थियो । भारतको हैदरावादबाट फर्किएका उनी बुधबार बिहान खाना खाएर सुतेका थिए ।

अबेरसम्म पनि नउठेपछि नेपालीलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानस्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका लागि ल्याउँदै गर्दा मृत्यु भएको गाउँपालिकाले जनाएको छ ।

नेपालीमा मुटु तथा कलेजोको समस्या रहेको परिवार स्रोतले जानकारी दिएको रुपा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलले जानकारी दिए ।

नेपालीमा कोरोना संक्रमणको लक्षण नदेखिए पनि भारतबाट फर्किएका कारण मंगलबारदेखि क्वारेन्टाइनमा राखिएको रुपा गाउँपालिका अध्यक्ष नवराज ओझाले जानकारी दिए ।

‘नेपालीमा मुटु, कलेजो तथा सुगरको पनि समस्या रहेछ । पश्चिमाञ्चल अस्पतालमा थप परीक्षण भइरहेको छ,’ अध्यक्ष ओझाले अनलाइनखबरसँग भने, ‘परीक्षणपछि बाँकी कुरा पत्ता लाग्ला ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment