Comments Add Comment

इटालीका प्रधानमन्त्रीले कोरोनासामू आत्मसमर्पण गरेका छैनन्

नयाँ संक्रमितको संख्यामा लगातार चौंथो दिन गिरावट

१३ चैत, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को प्रकोपबाट सबैभन्दा आक्रान्त देश हो इटाली । त्यहाँ मृतक स‌ंख्या चीनमा मृत्यु हुनेको सं‌ख्या भन्दा दोब्बर पुगिसक्यो ।

हिजोआज सामाजिक सञ्जालमा इटालीका प्रधानमन्त्रीले कोरोनासामू आत्मसमर्पण गरेको भन्दै एउटा पोष्ट भाइरल बनेको छ । नेपालमा पनि धेरैले यसलाई सेयर गरेका छन् ।

इटालीका प्रधानमन्त्री गिउसेप्पे कोन्टको अभिव्यक्ति भन्दै सेयर गरिएको पोष्ट यस्तो छः ‘हाम्रो नियन्त्रण गुम्यो । संक्रामक रोगले हामीलाई मारिरहेको छ । पृथ्वीमा सम्भव सबै प्रयासहरु सकिए । अब आकाशतिर हेर्नुको विकल्प छैन ।’

यससँगै भाइरल बनेको छ, ‘कोन्ट रोइरहेको’ एउटा तस्वीर । कोरानासँग हारेर उनी जनतासामू रोएको भन्दै प्रचार गरिएको छ ।

तस्वीरसँगै क्याप्सनमा भनिएको छ, ‘इटालीसँग विश्वमै सर्वोत्कृष्ट स्वास्थ्य सेवा र सुविधाहरु छन् । तर आज कोरोना भाइरस नियन्त्रण गर्न असफल भएको छ किनकी सुरुमा उनीहरुले यसलाई ख्यालख्याल सम्झे । आज देशका प्रधानमन्त्री कोरोना लागेर मरेका मान्छेहरु गाड्न ठाउँ अभाव भयो भन्दै धरधरी रोइरहेका छन् ।’

तपाईं चाहिँ नझुक्किनुस्, माथिको पोष्ट र तस्वीर दुवै सत्य होइनन् ।

न इटालीका प्रधानमन्त्रीले कोरोनासँग हार खाएको घोषणा गरेका छन्, न त उनी यसरी रोएका नै छन् । इटाली अहिले पनि कोरोनाविरुद्ध लडिरहेको छ ।

इटालीका प्रधानमन्त्री कोन्टले कोरानासँग हार खाएँ भनेर अभिव्यक्ति दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुमा आएको छैन । बरु बुधबार उनले कोरानाबाट धराशायी बनेको अर्थतन्त्र उकास्न अप्रिलमा दोस्रो राहत प्याकेज घोषणा गर्ने बुधबार बताएका छन् । यो प्याकेज २५ अर्ब यूरोभन्दा बढीको हुने अनुमान छ ।

मार्चमा उनले पहिलो राहत प्याकेज घोषणा गरेका थिए । साथै उनले कोरोनाविरुद्ध सरकारले थालेको पहलमा साथ दिन प्रतिपक्षलाई पनि आह्वान गरेका छन् । ‘सबै कुराका लागि समय आउने छ, तर अहिले चाहिँ काम र जिम्मेवारी निर्वाह गर्ने समय हो,’ इटालीका प्रधानमन्त्री कोन्टले भनेका छन् ।

खासमा फेसबुकमा भाइरल बनेको रोइरहेका तस्वीर पनि उनको होइन । उक्त तस्वीर ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोको हो । सन् २०१९ को डिसेम्बरमा एउटा प्रार्थना सभालाई सम्वोधन गर्ने क्रममा उनी यसरी रोएका थिए ।

सम्वोधन गर्दा जब उनले आफ्नी सानी छोरीको विषय कुरा गर्न थाले, एकाएक भावुक बने । उनको त्यही तस्वीरलाई अहिले इटालीका प्रधानमन्त्री कोन्टको भन्दै भाइरल बनाइएको हो ।

के भइरहेको छ इटालीमा ?

इटाली यतिबेला कोरोनासँग लड्न भरमग्दुर प्रयासमा छ ।

दुई साताअघि देशब्यापी लकडाउन गरेर सरकारले आफ्नो सम्पूर्ण शक्ति कोरोना नियन्त्रणमा लगाएको छ । तर अपेक्षित सफलता पाउन सकेको छैन । अहिलेसम्म यहाँ ७४ हजारभन्दा संक्रमित छन् भने ७ हजार ५०० भन्दा बढीको मृत्यु भइसकेको छ । मृतकको यो संख्या संसारमै सबैभन्दा बढी हो । इटालीको उत्तरी क्षेत्र लोम्बार्डी कोरोनाबाट सबैभन्दा बढी प्रभावित छ ।

इटालीपछि स्पेन र चीनमा सबैभन्दा धेरैको मृत्यु भएको छ ।

कोरोनाबाट इटालीमा ५ हजार स्वास्थ्यकर्मी संक्रमित बनेका छन् भने ३३ जना डाक्टरको मृत्यु भएको छ ।

यद्यपि पछिल्ला चार दिनमा इटालीमा नयाँ संक्रमितको संख्या लगातार घटेको सुखद खबर छ । बुधबार अमेरिका र स्पेनमा भन्दा इटालीमा कम संक्रमित भेटिएका छन् । मंगलबार ५ हजार तीन सय ४९ नयाँ संक्रमित भेटिएकोमा बुधबार पाँच हजार २१० जना थपिएको त्यहाँको सरकारले जनाएको छ । जबकी बुधबार अमेरिकामा पाँच हजार सात सय ९७ र स्पेनमा पाँच हजार पाँच सय ५२ जना संक्रमित थपिएका छन् ।

अहिलेसम्मको तथ्यांकअनुसार इटालीमा नौ हजार जना कोरोना संक्रमित उपचारपछि स्वस्थ भएका छन् । इटालीको सरकारले दुई साता अगाडि देशव्यापी लकडाउन गरेर जनतालाई घरभित्र बस्न आह्वान गरेपछि सकारात्मक प्रभाव देखिन थालेको त्यहाँका सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment