
‘लकडाउन’को समयमा अरुजस्तै संगीतकार अर्जुन पोखरेल पनि घरभित्रै थुनिएका छन् । बेला–बखत घरको छतमा निस्किन्छन् । नत्र, पियानोको अगाडि बसेर नयाँ गीतका शब्दहरुलाई भाका दिइरहेका हुन्छन् ।
अर्जुन होम क्वारेन्टाइनमा बस्न थालेको एक साता हुन लागिसक्यो । यस बीचमा उनले ३ वटा गीतका धुनहरु फाइनल गरे ।
पहिलो गीत उनले शारीरिक रुपले अशक्त एक ६० वर्षिय बृद्धको लागि बनाएका हुन् ।
अर्जुन भन्छन्, ‘फेसबुकमा उहाँले एउटा गीत गाएको भिडियो देखेको थिएँ । साह्रै राम्रो गाउनु हुँदो रहेछ । उहाँको चाहना नै गीत रेकर्ड गराउने रहेछ । त्यसैले उहाँलाई भेटेर उहाँकै लागि गीत तयार गरेको थिएँ । त्यसको फाइनल एरेन्जमेन्ट सकिएको छ ।’
अर्जुनले यो गीत चैत १५ गते नारायणघाटको रेकर्डिङ स्टुडियोमा रेकर्ड गराउने सोचेका थिए । ‘उहाँको घाँटीभन्दा तल चल्दैन रहेछ । काठमाडौं ल्याउन गाह्रो हुनेभएपछि नारायणघाट ल्याएर रेकर्ड गराउने सोचेको थिएँ । कोरोनाले गर्दा रेकर्डिङ सर्ने भयो,’ उनले सुनाए ।
अर्जुनले गायिका अस्मिता अधिकारीले गाउने एक गीत पनि फाइनल गरेका छन् । यो पनि क्वारेन्टाइनमा बस्दाकै उपलब्धी हो । अर्जुन भन्छन्, ‘गीतको शब्द तयार थियो । त्यसैलाई संगीतबद्ध गरेर भ्याएँ ।’
उनले तयार पारेको तेस्रो गीत हो, ‘काले केटाले २’ । दुर्गा खरेलले गाएको काले केटाले निकै हिट भएको थियो । सोही गीतको दोस्रो भाग अर्जुनले तयार गरिसकेका छन् ।
अर्जुन निर्देशक दीवाकर भट्टराईको र निर्देशक सुदर्शन थापाको नयाँ चलचित्रको लागि पनि संगीत सृजना गरिरहेको बताउँछन् ।
‘क्वारेन्टाइन त मेरो लागि राम्रो नै भएको छ । मैले निरन्तर काम गरिरहेको नै छु । संगीतकार भएकाले पनि संगीत सृजनामा नै मेरो दिन बितिरहेको छ,’ उनले भने ।
प्रतिक्रिया 4