Comments Add Comment

अमेरिकामा करिब ३३ लाख बेरोजगार

१३ चैत, काठमाडौं । अमेरिकामा बेरोजगारको संख्या अहिलेसम्मकै उच्च भएको छ । मार्च २१ अघिको एक सातामा अमेरिकामा रोजगारविहीन मानिसको संख्या करिब ३३ लाख पुगेको हो ।

अमेरिकाको श्रम मन्त्रालयले बिहीबार सार्वजनिक गरेको तथ्यांक अनुसार उक्त अवधिमा बेरोजगारी सुविधा दाबी गर्ने मानिसको संख्या अहिलेसम्मकै उच्च देखिएको हो ।

यसअघि बेरोजगारी सुविधाको दाबी गर्नेहरुको कीर्तिमान सन् १९८२ मा बनेको थियो । त्यतिबेला ६ लाख ९५ हजार मानिसले बेरोजगारी सुविधाको दाबी गरेका थिए ।

यस्तै गत फेब्रुअरी महिनामा अमेरिकाको बेरोजगारी संख्या इतिहासकै कम नजिक थियो । तीन साताअघि बेरोजगारी सुविधाको दाबी गर्ने संख्या करिब २ लाख १० हजार मात्र थियो ।

तर अहिले कोरोना भाइरस (कोभिड–१९०) महामारी रोक्न विभिन्न राज्यमा लकडाउन गरेपछि बेरोजगारको संख्या उच्च बनेको छ ।

अमेरिकाका केही राज्यमा सिनेमा हल, होटल र जिमलगायतका क्षेत्रमा रोक लगाइएको छ । त्यस्तै कार कम्पनीले आफ्नो उत्पादन रोकेका छन् भने पर्यटन क्षेत्रमा ठूलो असर देखिएको छ ।

अर्थशास्त्रीहरुका अनुसार अमेरिकाको समग्र जनशक्तिको पाँच भागको एक भाग अहिले लकडाउनमा छन् र, बेरोजगारको संख्या ह्वात्तै बढेको छ ।

विश्लेषकहरुले भने अहिले सार्वजनिक गरिएको बेरोजगारीको तथ्यांक वास्तविकताभन्दा कम हुनसक्ने आशंका व्यक्त गरेका छन् । पान्थेओन इकोनोमिक्सका प्रमुख अर्थशास्त्री इयान सेफर्डसनले मार्चमा अमेरिकाको बेरोजगारी कम्तीमा ६ दशमलव ५ प्रतिशतमा पुग्ने अनुमान गरेका छन् ।

यो दर गत महिनाको भन्दा दोब्बर हो । साथै, यसमा निरन्तर रुपमा वृद्धि  हुने उनको भनाइ छ ।

अहिले अमेरिकी संसद्मा कोरोना भाइरसको कारण प्रभावित बनेको अर्थतन्त्रमा सुधारको लागि २० खर्ब डलरको आर्थिक सहायता प्याकेजको विषयमा छलफल चलिरहेको छ । यो प्याकेजमा वयस्क मानिसलाई १ हजार २०० डलरको प्रत्यक्ष भुक्तानी दिने व्यवस्था छ । साथै, एयरलाइन्सजस्ता प्रभावित उद्योगलाई पनि वित्तीय सहयोगको योजना उल्लेख गरिएको छ ।

अमेरिकाको केन्द्रीय बैंक फेडेरल रिजर्भले पनि अर्थतन्त्रमा सुधारको लागि विभिन्न योजना अघि सारेको छ । तर अमेरिकी अर्थतन्त्रमा ठूलो गिरावट आउने विश्लेषकहरुले बताएका छन् ।

बीबीसीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment