Comments Add Comment

कोरोनाले विश्व हल्लाएका बेला पत्रकारका बुढाबुढीले के गरेको ?

‘युद्धमैदानबाट भागेका होइनौं,समाचारको मैदानमा हाम्रो भेट हुनेछ’

लकडाउन सुरु भएको दिन । चैत्र ११ गते मंगलबार ।

अन्य सहकर्मीलाई खबर गरेपछि मात्रै आउनू भनिएको थियो । त्यसैले हामी दुवैजना श्रीमान–श्रीमती रिपोर्टिङमा निस्क्यौं । श्रीमान्–श्रीमती एउटै क्षेत्रमा काम गर्नुका जति फाइदा छन्, त्यत्ति नै बेफाइदा पनि ।

छोराछोरीलाई दूध बिस्कुट दिएर काठमाण्डौ, ललितपुर अनि भक्तपुरका केही क्षेत्र घुमियो ।

सडक सुनसान थियो । छिटफुट निस्केका सर्वसाधारणलाई प्रहरीले घरभित्रै बस्न अनुनय गरिरहेका थिए । कडा जाँच गरेर पत्रकार, स्वास्थ्यकर्मी लगायत अति आवश्यक क्षेत्रमा काम गर्नेलाई हिँड्न अनुमति दिइएको थियो । बजार, पसल, यातायात आदिमा लकडाउनको प्रभावको समाचार पठाएर त्यस क्रममा लिइएका केही फोटाहरु सामाजिक सञ्जालमा पोष्ट गरियो ।

त्यसपछि मोबाइलमा घण्टी बज्ने क्रम ह्वात्तै बढ्यो ।

‘के पुरुषार्थ देखाएको यस्तो बेला पनि रिपोर्टिङमा निस्केको ? थपक्क घरमा बसेर काम गर्ने ?’

‘कोरोनाले विश्व हल्लाएको बेला तिमेरुका बुढाबुढीले के गरेको ? पेशागत धर्म निर्वाहको खोक्रो आडम्बर छोड ।’

‘घरमा साना केटाकेटी छन्, कस्तो डर नलागेको,उनीहरुको भविश्य खतरामा पार्ने हक छ ?’

बाबुआमाले अँगालेको पेशागत चरित्रले छोराछोरीको स्वभाव र चरित्रमा पनि प्रभाव पार्दोरहेछ सायद । विदामा कार्यालय गएको, समय नदिएको, अबेर राति घरमा आएको…कुनै पनि विषयमा गुनासो गर्दैनन् । नजिकबाट चिन्नेहरुले ‘छोराछोरी पनि कति असल, कस्तो बुझ्ने,’ भन्ने गर्छन् । उनीहरु साँच्चै बुझ्छन् वा बाध्यतामा बुझेको नाटक गर्छन् थाहा छैन । तर, गुनासो गर्दैनन् । गुनासो नगर्नुबाट मभित्रको मात्तृत्वले सन्तोषको सास लिन्छ । लिएको छ आज पर्यन्त ।

पेशागत धर्म निर्वाहका क्रममा कयौ दिन एक्लो परियो । सामाजिक कार्यमा सहभागी हुन नसक्दा असामाजिक बनेजस्तो अनूभुति गरियो । चाडवाड र सामाजिक कार्यका लागि समय दिन नसक्दा आफूले अंगालेको पेशा प्रति पनि रीस उठ्थ्यो कहिलेकाहीँ । फेरि पनि काम भित्रको कामबाट नै मज्जा लिन अभ्यस्त भइसकिएको थियो ।

दैनिक समाचारमा भएपनि कोरोना संक्रमणको महामारीको संकटले पेशागत जिम्मेवारी र कर्तव्यलाई चुनौति दिएको महसुस भएको थिएन ।

त्रास थियो । भय थियो । तर, जिम्मेवारीले भय र त्रासलाई माथि उठ्न दिएन ।

लगातार मोबाइलमा बजेको घण्टीले एकपटक सोच्न बाध्य बनायो । पैसाको धनी नभए पनि इष्टमित्रको धनी भएको महसुस भयो । धेरै आफन्त र शुभचिन्तक कमाईएको रहेछ भन्ने पनि लाग्यो । दुःखका बेला आफन्त चिन्ने हो भन्थे, हो रहेछ । म/हामी यतिबेला दु:खमा छु/छौं । त्यसैले त शुभचिन्तकको चासो खनिएको छ ।

आफन्त र शुभचिन्तकको चासोले भय र त्रासलाई बढाउनुको साथै कोरोना महामारीको विश्वव्यापी अवस्था र पेशागत जिम्मेवारीको विश्लेषण गर्न बाध्य बनायो ।

‘समाचार सेवा प्रदायक संस्थाको कार्यालय बन्द गर्दा के हुन्छ ? सूचना सम्प्रेषणको माध्यम बन्द गर्न मिल्छ ?’

‘आँखा खोल्दा’ मिल्छ । ‘आँखा चिम्लिँदा’ मिल्दैन ।

आँखा खोल्दा विश्व परिवेश देखिन्छ । आँखा चिम्लँदा कर्तव्य र जिम्मेवारीबोधले थिचिन्छ ।

‘यो कस्तो दुविधा ? यो कस्तो जिम्मेवारी ? अनि यो कस्तो कर्तव्य ? त्रास र भयमा जिम्मेवारीको बाध्यता ? सूचना सम्प्रेषणको मेरुदण्ड नै आफैं भएजस्तो भ्रम । लाग्छ कि सूचना सम्प्रेषण गर्ने पुतली घरको मूल खम्बा नै आफैं हो । म बाहिर ननिस्कदा के हुन्छ ? मैले समाचार नदिंदा के हुन्छ ? प्रलय नै त हुँदैन । आकाशै त खस्दैन । सबैलाई होम क्वारेन्टाइनमा बस्न पुगेको छ भने मलाई किन पुग्दैन ?’ प्रश्न त कति कति ।

उत्तर जतिबेला पनि अलमलमा पर्यो । भूमरीमा घुम्यो ।

झण्डै बीसबर्षे पत्रकारितामा प्रश्नको उत्तर फेला नपरेर अलमलमा परेको पहिलो अनुभव थियो । अन्तरवार्ता दिने व्यक्ति अलमलिँदा उत्तरको शीर पाउ रटाएको सम्झना आउँछ । यसो भन्नु र उसो भन्नु भनेरसम्म सिकाइयो । तर, प्रश्नहरु उत्तरविहीन कहिल्यै भएनन् । अनौठो अनुभव जुन म गर्दैछु । यसको संकेत ?

अचानकै बुबाको सम्झनाले भित्रसम्म पुगेर पीडा दियो ।

मस्तिष्कमा आएका सोच विचार, सपना, मुुटुको चाल, आँगनको छेउको मेवाको रुखको टुप्पोमा बसेर कराएको कागले लिएर आएको सन्देशको आँकलन गर्नुहुन्थ्यो बुबा अनि प्रक्षेपण गर्नुहुन्थ्यो भविश्यको । कहिले मिल्थ्यो । कहिले झण्डै–झण्डै मिल्थ्यो । अनि कहिले मिल्दैनथ्यो ।

मिलेको बेला भगवान नै हुनुहुँदोरहेछ भन्थ्यौं । झण्डै–झण्डै मिलेका बेला झण्डै मिलेको भन्थ्यौं । नमिलेका बेला ‘बुबा पनि फेल खानुभयो । अड्कलबाजी गरेर हुन्छ ?’ अनेक ढंगले बुबाको आत्मविश्वास गिराउने प्रयास गर्थेउँ ।

बुबालाई जिस्काएको नमिठो सम्झनाले दुखायो ।

अहिले बुबा साथमै भएको भए नजिस्काइकन सोध्न हुन्थ्यो । –‘बुबा म काममा जाउँ कि घरमै बसुँ ? कार्यालय खोलुँ कि बन्द गरुँ ? हजुरको सपनाले के भन्छ ? कति बजे देखेको सपना ? सपना देखेपछि सुत्नुभयो कि भएन ? बिहान काग करायो कि कराएन ? कुन दिशा तर्फ फर्केर करायो ?’

कोभिड १९ अर्थात् कोरोना भाइरसको संक्रमण फैलावटको डरभन्दा मनभित्रको डर भयावह बन्दै गएको छ । धेरै डराएको बेला मान्छेले सम्झने नै सबैभन्दा नजिकको आफन्तलाई त हो । डरले शरीरभित्रैबाट तात्न थालेपछि सामान्य व्यक्तिले पनि बेलाबेला थर्ममिटर काखीमा राख्ने, ख्वाक्क गर्ने अनि घाँटी दुखेको छ कि भन्दै ननिस्केको थुक पनि निलेर अनुमान लगाउने दिनचर्या नै बनेको छ यतिबेला सबैको ।

कोरोनाको माहामारीबाट विश्व नै आक्रान्त भएका बेला यसबाट डराउनु सामान्य हो । त्यसमाथि सामाजिक सञ्जालमा आउने गरेका सन्देश, कोरोनाका कारण एकै दिनमा यतिको मृत्यु, यति संक्रमित अनि विश्वभर फैलने क्रममा भन्ने जस्ता समाचारले पनि सर्वसाधारणमा भयले डेरा जमाएको छ ।

यस्तो बेला धेरै माया लाग्नेहरुको ख्याल सम्झना आउँदो रहेछ । अथवा दुःखका बेला जसलाई बढी सम्झियो, जसको तस्वीर आँखामा नाचिराख्यो उसैको माया बढी रहेछ भन्ने पुष्टि गर्ने मौका पनि हो क्यार यो ।

यतिबेला पेशासँग जोडिएका, कामसँग जोडिएका, सूचनासँग जोडिएका, भावनासँग जोडिएका, रगतसँग जोडिएका सबै–सबैको सम्झना एकसाथ आयो । अनि सम्पूर्ण जनताको अभिभावकका रुपमा रहेको सरकार र विभागीय मन्त्रीका भनाइ अनि गराइको तस्वीर पनि आँखामा नाच्यो । मृत्युको छायाँ अघि–पछि भएको र अभिभावकत्वको महसुस गर्न नसकेपछि हामीले सेवा बन्द गर्ने निर्णयमा पुग्यौं ।

यसकारण बन्द गर्यौं न्यूज एजेन्सी नेपाल

माघ २१ गते, प्रतिनिधिसभाको बैठकमा समाजवादी पार्टीका सांसद प्रदीप यादवले चीनबाट उद्धार गरी ल्याउने नेपाली विद्यार्थीलाई राख्ने ठाउँ नपाए संसद भवन खाली गर्न गरेको प्रस्तावमा विभागीय मन्त्रीले भनेका थिए – “चीन सरकार जसरी नाच्छ त्यही तालमा हामीले खुट्टा उचालिहाल्नुपर्छ भन्ने कुरा नेपाल सरकार विश्वास गर्दैन । हामीले हाम्रो आवश्यकताको आधारमा गर्ने हो । यो दिल्ली र बेइजिङमा मा पानी पर्यो भने काठमाण्डौमा हुनेहरु आफ्ना–आफ्ना पक्षधरतामा छाता ओढ्छन् भने जस्तै हो ।”

चीनमा कोरोना भाइरसको उत्पत्तिसँगै संक्रमण पनि फैलिएपछि सांसदहरुले आवश्यक पूर्वतयारी गर्न उतिबेलै सरकारलाई सचेत गराए । विषयको गार्भीय महसुस गर्नुभन्दा ओठे जवाफ फर्काउनुलाई महानता सम्झियो सरकारले ।

माघ २१ गतेका दिनसम्म विश्वका २३ मुलुकमा कोरोना भाइरस फैलिएको थियो । चीनका २२ प्रान्तमा फैलिएको कोरोनाबाट १७ हजार ३५१ जना संक्रमित थिए । ३६२ जनाको मृत्यु भएको थियो । मत्यु हुने सबै चिनियाँ नागरिक थिए । ३६१ जनाको चीनमा र चीन बाहिर फिलिपिन्समा गएका बेला एकजना चिनियाँ नागरिकको मृत्यु भएको थियो ।

चैत ५ गते सरकारले २५ जना भन्दा बढी भेला नहुन, भीडभाडमा नजान र अत्यावश्यक काममा बाहेर बाहिर ननिस्कन भन्यो । २५ जनाभन्दा बढी भेला नहुनु भन्ने सरकारको निर्णयपछि राष्ट्रियसभाको बैठक नै चल्यो । समितिका बैठकहरु पनि सञ्चालन भए । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका निर्णय सार्वजनिक गर्नेबेलामा गरिने पत्रकार सम्मेलनमा पनि २५ जनाभन्दा बढीको उपस्थिति हुन थाल्यो । तर, सरकार आफ्नै निर्णय कार्यान्वयनमा गम्भीर बनेन । सरकारका अन्य निर्णयको कार्यान्वय पनि फितलो भयो । त्यसको चर्चा गर्न गइरहेकी छैन यतिबेला ।

एउटै सवाल हो सञ्चारको प्रभावकारी व्यवस्थापनको । संकटका बेला सूचना सम्प्रेषण तथा सञ्चार माध्यमको व्यवस्थापन र परिचालनमा सरकारले ध्यान दिएन । जसलाई प्राथमिकता दिनुपथ्र्यो । सरकार, उच्चस्तरीय समन्वय समिति अनि स्वास्थ्य मन्त्रालयबाट दिईने सूचना कसरी दिने भन्ने विषयमा सरकारले छलफल नै गरेन ।

‘संकटमा संञ्चार व्यवस्थापन’को मुख्य अस्त्र सूचनालाई निरन्तरता दिनुपर्ने विषयलाई सरकारले पुरै नजरअन्दाज गर्यो । अनि निरन्तर पुरानै शैलीमा पत्रकार सम्मेलन गरिरह्यो । आफ्नै निर्णयलाई आफैले उलंघन गरिरह्यो । यसले संक्रमणको संभावित जोखिमलाई बढोत्तरी गर्यो ।

चैत १० गते स्वास्थ्य मन्त्रालयमा विभागीय मन्त्रीले गरेको पत्रकार सम्मेलनमा झण्डै १ सय जनाको उपस्थिति थियो । सरकारले नै २५ जना भन्दा बढी भेला नहुन भनिसकेको थियो । अत्याधिक जोखिममा उदासीन सरकारको ज्वलन्त उदाहरण हो यो ।

डिजिटल नेपालको नारा लगाएको सरकारले संकटको बेला सञ्चारलाई डिजिटल माध्यमबाट व्यवस्थापन गर्न सक्नुपर्ने थियो । त्यसका लागि उसले आफू मातहतकै सञ्चारमाध्यम र प्राविधिक प्रयोग गर्न सक्थ्यो । उनीहरुको माध्यमबाटै अन्य निजी क्षेत्रका संञ्चारमाध्यमलाई दिने व्यवस्था मिलाउन सकिन्थ्यो ।

अहिले अधिकांश संञ्चारगृहले कार्यालयमा नै क्वारेन्टाईनको व्यवस्था मिलाएका छन् । सरकारको निर्णय ती समाचार गृहको कार्यालयसम्म पुर्याउने व्यवस्था मिलाउन सके सरकारबाट जाने सूचना सम्प्रेषणमा संञ्चार माध्यमलाई सहज हुन्थ्यो र एकद्वार पनि हुन्थ्यो । साथै यसले पत्रकार सम्मेलनमा हुने उपस्थितिलाई पनि कम गथ्र्यो ।

बाहिरको गतिविधि ठप्प भएको बेला कोरोना संक्रमणको अध्यावधि र सरकारले गरेको पहलकदमी नै मुख्य चासोको विषय हो । अन्य सञ्चारगृहले गरेजस्तै सरकारले तोकिएका स्थानबाट सूचना दिने र त्यो सूचना सरकारीलगायत निजी संञ्चारगृहको समाचार कक्षसम्म पुर्याउनका लागि केही सञ्चारकर्मी र प्राविधिकलाई क्वारेन्टाइनको व्यवस्था मिलाउनु पर्थ्यो ।

सूचना सम्प्रेषण गर्ने जिम्मेवारीलाई अंगाल्दा आफ्नो क्षतिलाई त म सहुँला । तर, मसँग जोडिएर आउने पारिवारिक सदस्य, मेरो संस्थासँग जोडिएका र उनीहरुसँग जोडिएको परिवार, समाज अनि पुरै देशमा पुग्न सक्ने क्षतिको भरपाइ कुनै कुराले गर्न सक्दैन

सूचना सिंहदरबारभित्रबाटै दिने हो भने निश्चित मिडियाका तोकिएका पत्रकारहरुको क्लोज क्याम्प नै खडा गरेर पनि सूचना प्रवाह गर्न सकिन्थ्यो । प्राविधिकरुपमा त्यस किसिमको व्यवस्थामा जनशक्तिसहितको सेवा दिन न्युज एजेन्सी नेपाल सक्षम छ र तयार पनि । तर, सानो लगानीमा सञ्चालन भएको संस्था भएकाले महत्वपूर्ण जिम्मेवारी हुँदाहँुदै पनि त्यो जोखिम उठाउन सकिएन ।

संक्रमणमा आफू मात्रै सजग भएर नहुने रहेछ । आफूबाहेक दोस्रो तेस्रो व्यक्तिको संम्सर्ग कारक बन्ने सम्भावनालाई हामीले नकार्न सकेनौं । फेरि पनि क्लोज क्याम्पमा रहेका व्यक्तिको सुरक्षाको प्रत्याभुति भए हामी अनवरत सेवा दिन तयार छौं । त्यो क्याम्पले सरकारी सूचनाको अलावा समसामयीक विषयमा विभिन्न क्षेत्रमा भएको तयारी र सन्र्दभका बारेमा पनि सामाग्री तयार गर्न सक्ने भएकाले सो सामाग्रीले सञ्चारमाध्यमसँगै सर्वसाधारणलाई पनि महत्वपूर्ण सहयोग पुग्ने थियो ।

सूचना, जानकारी, तथ्य विश्लेषण लगायतका काममा सरकारी, विशिष्ट अधिकारीहरु, विज्ञहरु, राजनीतिक दलका नेताहरु र अन्य सरोकारवालाहरुलाई पनि डिजिटल्ली उपलब्ध गराएर थप सामाग्री तयार पार्न पनि सकिन्छ ।

विश्वका साधन स्रोतसम्पन्न मुलुकहरु निरीह बनेका बेला स्रोत साधनले कमजोर नेपालका हामी नेपालीले यो संकटलाई चुनौति दिनु मूर्खता हुनेछ । समय छँदै संयम र सर्तक भइएन भने त्यसले ठूलो क्षति पुर्याउने छ । भूकम्प र नाकाबन्दीमा समेत आफ्नो काम नरोकेको न्युज एजेन्सी कोभिड १९ सँग लडखडाएको पक्कै हो ।

जनस्वास्थ्यको क्षेत्रमा विश्वमै नमूना बनेको इटलीको अवस्था हेरेर पनि नेपालले समयमै सर्तकता अपनाउन नसक्नु खेदपूुर्ण छ । भारतको तुलनामा नेपालको जनसंख्या २ प्रतिशत होला, उसले पनि कोरोनाको संक्रमणसंग जुध्न लक डाउनको समय बढाएको छ ।

मन लाग्नेवित्तिकै नाच्न सजिलो छ र ? राम्रो नाचका लागि संगीत पनि चाहिन्छ । स्टेज पनि । अनि दर्शक पनि चाहिन्छ । संकटको बेला सञ्चार व्यवस्थापनमा प्रविधिको प्रयोगलाई बढावा दिनुको विकल्पै छैन । निजी क्षेत्रसँगको सहकार्यमा सरकाले पाइला बढाएमा असम्भव छैन ।

सवाल स्वम् बाँच्नु र मर्नुसँग रहेन । आफू स्वंयम् मर्नुलाई आत्मस्वीकृति वा विशेषाधिकार, जिम्मेवार, कर्तव्यनिष्ट ,उत्तरदायी, योद्धा.. जे–जस्ता उपमा दिए पनि यी सबै अर्थहीन छन् वर्तमान परिवेशमा । संकटका बेला मस्तिष्कको नियन्त्रणमा नरहने मन आलोकाँचो बन्छ । मस्तिष्कले सही सुझाव दिन छोड्छ । इटलीमा देखिएको परिदृश्य अनि नेपाल सरकारको असंवेदनशीलता देखेर बाँच र बचाउको सिद्धान्त उग्र बनेर आयो ।

सूचना सम्प्रेषण गर्ने जिम्मेवारीलाई अंगाल्दा आफ्नो क्षतिलाई त म सहुँला । तर, मसँग जोडिएर आउने पारिवारिक सदस्य, मेरो संस्थासँग जोडिएका र उनीहरुसँग जोडिएको परिवार, समाज अनि पुरै देशमा पुग्न सक्ने क्षतिको भरपाइ कुनै कुराले गर्न सक्दैन ।

सूचना सम्प्रेषणको नाममा मेरो परिवार र समाजमा म र मेरा सहकर्मी संक्रमणको कारक बन्यौं भने त्यो गल्तीलाई मेरो पेशागत जिम्मेवारीले माफ गर्न सक्दैन ।

आजको सक्रियता आजको युद्धकारिता कुनै युद्धमा सुरक्षाकर्मीले छातीमा गोली थापेजस्तो विल्कुल होइन । युद्धमा लड्दा त गोली कुन दिशाबाट आउँछ भन्ने थाहा हुन्छ । अनुमान लगाउन सकिन्छ । आफ्नै अगाडि अदृश्य रुपमा घेरा हालेको भाइरसबाट बचाउनु भनेको पर्खालभित्र सीमित हुनुको विकल्पै छैन ।

मरेर तक्मा लगाउनुभन्दा बाँचेर चट्टान फुटाउनु उपयुक्त लाग्यो । त्यसैले जोखिमका बेला संवेदनशील बनियो । सर्तकता अपनाइयो । कार्यालय बन्द गरियो । यसबाट पुग्न गएको असरप्रति संस्थागतरुपमा नै क्षमा चाहन्छु । हामी युद्धमैदान छाडेर भागेका होइनौं । संवेदनशील भएका हौं । यसलाई यसरी बुझिदिनुहुनेछ समस्त हाम्रा ग्राहक र शुभचिन्तकहरुले भन्ने विश्वास गर्दछु । साथै म संस्थागत रुपमा नै सर्तक हुन, संवेदनशील हुन अनुरोध गर्दछु । सबै मिलेर संकटको सामना गर्यौं भने जरुर हाम्रो भेट हुनेछ समाचारको मैदानमा ।

(लेखिका समाचार सेवा प्रदायक संस्था न्यूज एजेन्सी नेपालकी प्रमुख कार्यकारी हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment