Comments Add Comment

गोलकिपर विशालको लकडाउन अनुभव : घरमै वर्कआउट गर्ने, भिडियो हेर्ने

१४ चैत, काठमाडौं । कोरोना, कोरोना, कोरोना । अहिले यो जति उच्चारण हुने शब्द अर्को छैन होला । सारा विश्व नै कोरोना भाइरस कोभिड १९ को महामारीमा फसेको छ ।

लाखौंमा यसको संक्रमण भइसकेको छ भने हजारौंको मृत्यु भइसकेको छ । कुनै क्षेत्र छैन जहाँ कोरोनाको असर नपरेको होस् । यसले न कुनै जाति वर्ग भन्छ न धनी न गरिब । सबैलाई उस्तै रुपमा लाग्छ, कोरोना ।

संयोगवस छिमेकी मुलुक चीनबाट चार महिना अघि सुरु भएको भाइरसले हालसम्म नेपालमा कसैको मृत्यु भएको छैन । अहिलेमस्म ४ जनामा यो संकम्रण भने देखिएको छ । चैत ११ गतेबाट देश लकडाउनमा छ । कोरोनाको प्रभावबाट बच्नको लागि सरकारले मुलुकभरि नै लकडाउन घोषणा गरेको हो ।

यस्तै चीन र भारतको सीमा पनि बन्द गरिसकिएको छ । यस्तो अवस्थामा नेपाली खेलाडीहरु पनि घरमै क्वारेन्टाइनमा बसेका छन् । खेलिरहने ट्रेनिङ गरिरहने ट्राभल गरिरहने खेलाडीहरु एकै ठाउँमा बस्दा कस्तो अनुभव होला ? मनमा के चल्ला ? अनी कोरोनाबाट बच्न के गरिहेका होलान् खेलाडीहरु ? नेपाली फुटबल टिमका गोलकिपर विशाल श्रेष्ठसँगको कुराकानी उनकै शब्दमा ।

कोरोना भाइरसको असर धैरै नफैलियोस् भने अहिले पुरै नेपाललाई लकडाउन गरिएको छ । यसको मिश्रित अनुभव छ । एक परिवारसँग हुँदा रमाइलो हुने अर्को कामहरु नहुँदा चाहिँ अल्छी लाग्ने ।

एकैपटक सबै कुरा रोकिँदा अचम्मै लागेको छ । धन्न इन्टरनेट र बत्ती चाहिँ आइरहेको छ । नत्र एकदम बच्चा बेलाको जस्तै हुने । बरु बच्चा बेला खेल्न, घुम्न जान  पाइन्थ्यो । तर, यो बेला घरमै बस्नु परेको छ । जीवनकै एकदमै ठूलो अनौंठो अनुभव हो यो । लाइफ चेन्जिङ मोमेन्ट ।

अब बाहिरै निस्कन नहुने । घरमै अरुलाई छिर्न नि बन्द गरेका छौँ । अरुलाई नआउनु भनेको छौं ।

हामीमात्रै घरमा बसेर भएन भाडामा बस्नेहरु पनि छन् । उनीहरुलाई सम्झाएर घर कोही नल्याउनुस् पनि भनेका छौँ ।

हामी खेलाडीहरु, खेल्ने नै हाम्रो मुख्य काम हो । तर, अहिले न त खेल छ न ट्रेनिङ नै । त्यसैले फुर्सदको समय धेरै छ । जसले गर्दा घरमै बस्ने परिवारसँग समय बिताउने मौका पाइरहेका छौं ।

अहिले चाहिँ धेरै समय परिवारसँग नै बितिरहेको छ । धेरै पछि परिवारसँगै बसेर माया साँट्न पाएका छौं ।

बिहे पछि हामी सबै परिवारसँगै लामो समय यसरी बसेको सम्भवत: पहिलो पटक होला । अहिले परिवारसँगै बसेर खाना खाने मौका मिलेको छ । अरुबेला बुबा काममा जाने म ट्रेनिङमा । त्यस्तै, एलिसा (श्रीमती)अफिस जाने हुन्थ्यो । तर, अहिले सबै जना सँगै बस्ने समय पाएका छौँ । अहिले सँगै ब्रेकफास्ट लिन्छौँ, सँगै लन्च खाने डिनर खाने । सबै काम टाइममा भइरहेको छ ।

तर, खेल्न नपाएकोले खुट्टा भने चिलाइरहेको छ । कहिले खेल्न पाइएला जस्तो हुँदैछ । सबैलाई त्यस्तै लाग्छ । कहिले नर्मल टाइममा फर्केर खेल्न पाइएला भन्ने लाग्छ । एकदमै हामी सबै परिवारलाई नै त्यस्तै भइसक्यो । परिवारिक समय छँदैछ तर, त्यसबाहेक आ–आफ्नो कामा जान सबै नेपालीलाई नै हतार भइसक्यो जस्तो लाग्छ । घर बस्दा बस्दा वाक्क भइसक्यो । रेस्ट टाइम पुग्यो । २–३ दिन रेस्ट गरेपछि पुगिहाल्छ ।

युट्युबमा भिडियो हेर्छु

समय लकडाउनको छ । बाहिर निस्कन मिल्दैन । घरभित्रै बस्नुपर्छ । तर, परिवारसँगै भएकोले मलाई खासै बोर भएको छैन । बोरभन्दा पनि अलिक डर चाहिँ हुने रहेछ अब के होला भनेर ।

परिवारसँगै भएपछि गफहरु गर्ने घरमै रमाइलो गर्ने भइरहेको छ । यस्तै साथीहरुसँगै मेजेन्जरमा कुराकानी गर्ने, युट्युब हेर्ने त्यसरी नै समय बितिरहेको छ । खासै बोर भएको छैन ।

विशेषगरी युट्युबमा गेमहरु हेर्ने, मुभी हेर्ने, बुक पढ्ने काम फुर्सदको यो समयमा गरिरहेको छु । त्यसरी नै समय बितिरहेको छ ।

फुर्सदको समय धेरै छ । त्यसैले घरमै बसेर धेरै सिक्ने मौका छ । अहिले लिगको गेमहरु माइकुजमा हेरिरहेको छु । मुख्यत: आफ्नै खेल खेलिरहेको छु । यस्तै रिटेलिकास्ट भएको म्याच पनि हेर्दैछु । विशेषगरी आफू गोलकिपर भएकोले अरु गोलकिपरको भिडियोहरु युट्युबमा हेर्ने गर्छु । यस्तै वान इन्डियन गर्ल नामक बुक पनि पढ्न सुरु गर्दैछु ।

लकडाउन फलो गरौँ

अहिले सरकारले देशलाई एक साताको लागि लकडाउन गरेको छ । मुख्य भनेको हामी नेपालीमा चेतना अलिक नपुगेको जस्तो, डर अलिक कम भएको जस्तो मलाई लाग्दैछ । हामी सबैले यो आह्वानलाई फलो गर्नुपर्छ । पहिलो दुई दिन मानिसहरु खासै भित्र बस्न चाहेनन् । तर, तेस्रो दिन अलिक मानिसहरु भित्रै बस्न थाले ।

चीन, इटली, भारत जस्तो विकसित देशमा त कोरोना फैलिरहेको छ । यो नेपालमा आयो भने के होला ? हामीलाई झन् गाह्रो हुन्छ । यो कुरा सबैलाई थाहा छ । त्यसैले अहिलेको समय भनेको नियम मान्ने हो । आफू सुरक्षित रहने हो ।

हामी खेलाडी मात्र नभएर सबैलाई डर छ । हामी आफूले आफैंँंलाई क्वारेन्टाइनमा राख्नुको अरु उपाय छैन । अब आफूले आफैंँँलाई र परिवारलाई आफ्नो घरमा बस्ने सबैलाई चेतना दिन सचेतना जगाउनुपर्छ । सुरक्षित भएर घरमै बस्ने हो ।

लकडाउनको टाइम अलिक लम्बेला जस्तो छ । त्यसको तयारी पनि गर्नुपर्छ । घरमा पनि हामीले तयारी गरिरहेका छौँ । सामान पनि राखेका छौँ ।

घरमै वर्कआउट

कोरोना भाइरस विश्वभर फैलिन थालेपछि नै हाम्रो ट्रेनिङ एवं खेलहरु रोकिएको थियो । त्यसैले मैदान जाने, खेल्ने, ट्रेनिङ गर्ने सबै बन्द भइसकेको छ । अहिले त लकडाउन नै छ । त्यसैले जिम जाने कतै जाने अवस्था पनि छैन । त्यसैले आफैँ समय मिलायर घरमै फिटनेस गरिरहेको छु । आफूलाई चाहिने वर्कआउट अनी शरीरलाई फिट रहन घरमै ट्रेनिङ गरिरहेको छु । साथीभाइहरुसँगै म्यासेन्जरमा कुरा गर्ने, फोन गर्ने, अपडेट लिने काम भइरहेको छ ।

अहिले फुर्सद छ । कम समय भयो भन्ने नै छैन । पर्याप्त समय छ । बिहान टाइम मिलाएर घरमै वर्कआउट गर्ने गरेको छ । घरमै हल्का कुद्ने । यताउती घरभित्रै गर्नुपर्यो । मर्निङ वाक जाने कुरा पनि भएन । घरभित्र भएको सामान प्रयोग गरे । कसरी हुन्छ आफ्नो शरीरलाई फिट राख्नुपर्छ । कोरोना नसकिएसम्म फिट राख्नलाई मेन्टेन गर्न खोजिरहेको छु । जे गर्नुछ घरभित्रै गर्नुपर्छ । घरकै स्पेस प्रयोग गर्ने हो । सबै कुरा मिलाएर गर्नुपर्छ । यद्यपि घरमा जति गरेपनि फिल्डमा गर्ने ट्रेनिङ र घरमा गर्नुको फरक हुन्छ ।

अलिक गाह्रै छ । डाइट मेन्टेन गर्नुपर्छ । खाना पनि मिलाएर खानुपर्छ । पायो भनेर धेरै खानपनि भएन । अहिले दैनिकी अलिक चेन्ज भएको छ । उठ्न पनि अलिक ढिला हुन्छ । अहिले सुत्न चाहिँ आनन्द छ । राति ढिला सुतिन्छ । समय धेरै भएकोले सुत्ने टाइम ब्रिगेको छ । बेलुका ११ बजे सुत्ने र बिहान ८ बजे उठ्ने गरेको छु ।

कोरोना खतरा हो

कोरोना भाइरस भनेको एकदमै खतरनाक भाइरस हो, सबैलाई थाहा नै छ । यो बेला पहिला आफू बच्ने र अरुलाई पनि बचाउने गर्नुपर्छ । आफूले सही सूचना दियौँ, बाहिर निस्किएनौं र आफ्नो ख्याल राख्यौं भने यसबाट बच्न सकिन्छ । तर, यसलाई सामान्य रुपमा लिएर बेवास्ता गर्नभने हुँदैन । विश्व स्वास्थ्य संगठनले नै यसलाई महामारी घोषित गरिसकेको छ । त्यसैले पनि यसप्रति सबै सचेत हुनुपर्छ ।

हाम्रो देश पनि यसको खतरामा छ । हामीसँग त झनै स्रोत र साधन धेरै छैन । त्यसैले सजगता अपनाउनुपर्छ । झन् हामी जस्तो दस जनालाई लाग्यो भने धेरै गाह्रो पर्नसक्छ । त्यसैले सरकारले भनेको कुरा मान्नुपर्छ । काम छैन भने बरु बाहिर ननिस्किौं । घरमै बसेर सरकारलाई सहयोग गरौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment