Comments Add Comment

पोखराको १ सय ५० वेडको क्वारेन्टाइन : कतै भवनमात्र, कतै स्थानीयको विरोध

विदेशबाट फर्किनेको सूची बनाइँदै

१५ चैत, पोखरा । चैत ११ गते लकडाउन छल्दै पोखरा आइपुगेका २७ जनामध्ये ११ जना कास्कीका थिए ।

कोरोना भाइरस कोरोना–१९ बाट भारतमा संक्रमित बढिरहेका पोखरा आइपुगेकाहरुलाई क्वारेन्टाइनमा राखेर निगरानी गर्ने भनिएको थियो । तर, मुग्लिनमा ज्वरो नापेर गण्डकी प्रदेश छिराइएका कसैलाई पनि सरकारले क्वारेन्टाइनमा नराखी होम क्वारेन्टाइनमा बस्नु भनेर छाडिदियो ।

अहिले ती ब्यक्ति कहाँ छन्, के गर्दै छन् भन्ने तथ्यांक न पोखरा महानगरपालिकासँग छ न प्रदेश स्वास्थ निर्देशनालयसँग । विदेशबाट फर्किनेहरुको तथ्यांक तयार पारेर क्वारेन्टाइनमा राखेरमात्र घर पठाउनुपर्ने वा स्वास्थकर्मीको निगरानीमा होम क्वारेन्टाइनमा राख्नुपर्ने पोखरेलीको माग छ ।

यकिन तथ्यांक नभए पनि पोखरा महानगरपालिकाले विदेशबाट फर्किनेहरुको बल्ल सूची तयार पार्ने काम गरिरहेको छ । वडा कार्यालयहरुलाई निर्देशन दिएर विदेशबाट फर्किनेहरुको अभिलेख तयार पार्ने र सरकारी तथा होम क्वारेन्टाइनमा राख्ने महानगरपालिकाले जनाएको छ ।

‘भन्नेबित्तिकै कहाँ हुन्छ र ? हामीले काम गरिरहेका छौं । वडाबाट सूची आउँदै छ । अस्ति भारतबाट आएर होम क्वारेन्टाइनमा पठाइएका पनि कहाँका थिए खोजी हुँदैछ,’ पोखरा महानगरपालिकाका स्वास्थ महाशाखा प्रमुख हेमन्त पौडेलले भने ।

महानगरले १ सय बेडको क्वारेन्टाइन बनाउने भनेको छ । तर, अस्पताल व्यवस्थापनले ५० बेड क्वारेन्टाइन र ५० बेडको आइसोलेस बनाउने र महानगरपालिकाले थ्री फेजको विद्युत जडान तथा अहिलेसम्मको बक्यौता महानगरपालिकाले तिर्नुपर्ने सर्त राखेको छ ।

महानगरले विदेशबाट फर्किनेहरुको अभिलेख त तयार पार्ला तर कोरोना भाइरस रोकथामका निम्ति एकै पटक धेरै जनालाई क्वारेन्टाइनमा राख्नुपर्‍यो भने संरचना तयार भने भइसकेको छैन ।

पोखरा महानगरपालिकाले चैत ११ गते भन्यो, ‘हामीले १ सय ५० बेडको क्वारेन्टाइन तम्तयार अवस्थामा राखेका छौं ।’ महानगरपालिकाले क्वारेन्टाइन तयार पारिसक्यो भनेर खबरहरु सम्प्रेषण भए । तर, फिल्डमा भने क्वारेन्टाइन अझै तयार भइसकेको छ ।

कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि पोखराको सिर्जनाचोकस्थित लेक सिटी हस्पिटल एण्ड क्रिटिकल केयरमा १ सय र नदीपुरस्थित पद्म नसिङ होममा ५० बेडको क्वारेन्टाइन बनाएको महानगरले जनायो ।

यथार्थ के छ भने सिर्जनाचोकस्थित लेकसिटी हस्पिटलमा १ सय बेडको क्वारेन्टाइन बनाउने भनेर एक÷दूई पटक हेर्नेबाहेक अरु केही पनि काम भएकै छैन । तत्कालीन युनिटी लाइफले सञ्चालन गरेको यो हस्पिटल ७ वर्षदेखि बन्द अवस्थामा थियो ।

युनिटीसँग लेकसिटी हस्पिटलले ३० वर्षका लागि ६ महिनाअघिमात्र भाडामा लिएपछि अहिले त्यही क्वारेन्टाइन बनाउने भनिएको छ । तर, हस्पिटलमा थ्री फेजको विद्युतसमेत छैन भने क्वारेन्टाइनका निम्ति आवश्वक सामाग्री पनि तयार भइसकेको छैन । अर्को कुरा अस्पताल व्यवस्थापन र महानगरपालिकाबीच क्वारेन्टाइन र आइसोलेसन बनाउनेबारे सहमति जुटिसकेको छैन ।

महानगरले १ सय बेडको क्वारेन्टाइन बनाउने भनेको छ । तर, अस्पताल व्यवस्थापनले ५० बेड क्वारेन्टाइन र ५० बेडको आइसोलेस बनाउने र महानगरपालिकाले थ्री फेजको विद्युत जडान तथा अहिलेसम्मको बक्यौता महानगरपालिकाले तिर्नुपर्ने सर्त राखेको छ ।

‘५० बेडको क्वारेन्टाइन र ५० बेडको आइसोलेसन बनाउने कुरा भएको हो । महानगरले विद्युत जोड्ने र जनशक्तिलगायतका सबै व्यवस्था मिलाउने भनिएको हो,’ लेकसिटी अस्पतालका सञ्चालक तथा मेडिकल डाइरेक्टर डा. विष्णु नेपालीले भने, ‘महानगरले बनाउने त भन्यो तर काम नै अगाडि बढाएको छैन ।’

महानगरका स्वास्थ महाशाखा प्रमुख हेमन्त शर्मा भने तयार पार्ने काममै लागिरहेको बताए । ‘क्वारेन्टाइन बनाउने ठाउँको निधो भयो अब तयार पार्ने काममा लागेका छौं,’ शर्माले भने । महानगरले भने ११ गते नै क्वारेन्टाइन तम्तयार अवस्थामा रहेको बताएको थियो ।

पोखरा महानगरपालिकाका विभिन्न ठाउँमा सम्पर्कमा आएका १६ जना अहिले प्रदेश सरकारले तयार पारेको क्वारेन्टाइनमा छन् । प्रदेश सरकारले ४८ जनाका लागि पोखरा मालेपाटनमा क्वारेन्टाइन तयार पारेको छ ।

पद्म नर्सिङ होममा बनाउने भनिएको ५० बेड क्वारेन्टाइन पनि पूरा भइसकेको छैन । महानगरले क्वारेन्टाइनका निम्ति केही बेड तयार पार्दै गर्दा स्थानीयले विरोध गर्दै भने, ‘बस्तीको माझमा क्वारेन्टाइन बनाउन लागियो ।’

अस्पताल बस्तीको माझमा रहेको र कम्पाउण्ड, झ्यालको सीसासमेत नभएको भन्दै स्थानीय वासिन्दाको टोलीले महानगरका मेयर र उममेयरसँग असहमति जनाए । महानगरका मेयर मानबहादुर जिसीले तत्काल त्यहाँ मान्छे नराख्ने र अन्त भरिएपछिमात्रै त्यहाँ लैजाने भनेर पठाए ।

महानगरले तम्तयार अवस्थामा राखेको भनिए पनि अझै क्वारेन्टाइन तयार भइसकेको छैन । अहिले तत्काललाई मालेपाटनस्थित प्रदेशले बनाएको क्वारेन्टाइनमा ब्यवस्थापन गर्ने र त्यसले पनि नपुगेपछि अर्को आवश्यक पर्दासम्म तयार हुने महानगरपालिकाको भनाइ छ ।

तस्वीर : युनिस गुरुङ/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment