+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
139/9 (20)
VS
Sudurpaschim royals won by 45 runs
कर्णाली याक्स 2025
94/10 (19.2)
Shares
शेरधन राईसँग वार्ता :

‘पुस्तान्तरण भनेर मात्रै हुँदैन, नेतृत्वमा सबैले पत्याउने मान्छे चाहिन्छ’

जेनजी पुस्ताको कोही युवालाई नेकपा एमालेको अध्यक्षमा राखिदिएर एमाले पूरै धमाकाका साथ अगाडि बढ्ने भन्ने हुँदैन । त्यस्तो खालको प्राविधिक कुराबाट राजनीति चल्दैन ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ९ गते ८:३०

जेनजी आन्दोलनपछि नेतृत्व परिवर्तनको माग भए पनि एमाले अध्यक्ष केपी शर्मा ओली पदबाट हट्न चाहेका छैनन् । यही मंसिर अन्तिम साता हुने महाधिवेशनबाट उनी दोहोरिने तयारीमा छन् । अध्यक्षमा ईश्वर पोखरेलले पनि प्रतिस्पर्धा गर्ने घोषणा गरिसकेका छन् । जेनजी आन्दोलन र एमालेका राजनीतिबारे एमाले स्थायी कमिटी सदस्य एवं कोशी प्रदेशका मुख्यमन्त्री शेरधन राईसँग अनलाइनखबरका हरि अधिकारीले गरेको संवाद :

२३ र २४ भदौमा जेनजी विद्रोह भयो । यो विद्रोह र त्यसपछिको परिस्थितिलाई कसरी हेर्नु भएको छ ?

भ्रष्टाचार नियन्त्रण र सुशासनको मागसहित युवाहरूले २३ भदौमा सुरु गरेको आन्दोलन हाइज्याक हुँदा देश अहिले संकटमा पुगेको छ । यो अवस्थामा पुर्‍याउनका लागि देशी–विदेशी शक्तिले काम गरे । युवाको आन्दोलनलाई भड्काएर राज्यका सबै संरचनामाथि प्रहार भयो । अस्थिरता मच्चाउने तत्वले घुसपैठ गरी राज्यका संवैधानिक र प्रशासनिक अंगहरूलाई कमजोर बनाए ।

लामो समयदेखि समाजमा ‘नकारात्मकताको खेती’ भइरहेको थियो । देशमा केही पनि भएन भन्ने भाष्य निर्माण गरियो । दोस्रो जनआन्दोलनपछि देशमा धेरै राम्रा र सकारात्मक परिवर्तन भएका छन् । तर भएका कामलाई ढाकछोप गरेर केही भएन भन्ने भाष्य निर्माण गरियो ।

नेपालमा अराजकता मच्चाउन चाहने र दलहरू बलियो भएको हेर्न नचाहने शक्तिहरूले संगठित रूपमा अनेकन बहानामा नेपालमा भएको परिवर्तनमाथि हमला गरे । देशी–विदेशी शक्तिहरूको खेल मैदान बनाउन डिजिटल प्लेटफर्मको दुरुपयोग गरियो । कस–कसका कुन–कुन देशका फन्डिङबाट कस्ता–कस्ता संस्थाहरू कहिलेबाट सञ्चालित रहेछन्, को–को त्यसमा सामेल रहेछन्, के–के बहानामा क्रियाशील रहेछन् भन्ने कुरा त सबै सतहमा आइसकेका छन् ।

आन्तरिक कमजोरी पनि त भयो नि सरकारको होइन ?

निश्चय नै हाम्रा कमजोरीहरू छन् । नेपालमा शान्तिपूर्ण जनआन्दोलनको माध्यमबाट हामीले ठुल्ठूला परिवर्तनहरू गरेका छौँ । ती परिवर्तन शान्तिपूर्ण संघर्षबाट भएका छन् । जेनजी विद्रोहमा बाहिरी हस्तक्षेप भयो ।

जेनजी विद्रोहले सुशासन र राजनीतिक नेतृत्वमा रिफर्म खोजेको होइन ?

जेनजी आन्दोलनले रिफर्म मागेको छ । हामी लगातार रिफर्म हुँदै आएका छौँ । हामी नियमित महाधिवेशन गर्छाैं । महाधिवेशनबाट नयाँ ताजा नेतृत्व निर्माण गर्छाैं । ताजा समसामयिक र सान्दर्भिक नीतिहरू हामी निर्माण गर्छाैं । जेनजी पुस्तालाई नेकपा एमालेले नवौँ राष्ट्रिय महाधिवेशनयता नै लगातार संगठनको संरचनामा राखेको छ । सबै संरचनाहरूमा युवालाई समावेश गरेर अघि बढेका छौं ।

अहिले जेनजी मुभमेन्ट पछाडि स्वाभाविक रूपमा राज्यको सम्पूर्ण संरचना हल्लिएको अवस्था छ । प्रभावित भएको अवस्था छ । एकपटक सबैलाई सोच्न बाध्य चाहिँ बनाएको अवस्था छ । अब बिल्कुलै नयाँ ढंगबाट अगाडि बढ्न पनि रिफर्म हुनुपर्छ । नेकपा एमाले समग्र परिस्थितिको समीक्षा गर्दै राष्ट्रिय महाधिवेशनमा जाँदैछ र राष्ट्रिय महाधिवेशनबाट आफूलाई रिफर्म गर्छ ।

जेनजी आन्दोलनको मुख्य एजेन्डा राजनीतिक नेतृत्वमा पुस्तान्तरण थियो । एमालेको अबको महाधिवेशनले पुस्तान्तरण गर्न गर्छ त ?

जेनजी आन्दोलनले पुस्तान्तरणको माग उठाएको छ । तर यसमा सिलसिला हुन्छ । त्यसको सान्दर्भिकता, औचित्य हुन्छ । नेतृत्व भनेको एउटा खास उमेर समूहको मान्छेलाई थपक्क एउटा पदमा राखिदिएर हुँदैन । लिडरसिप लिनको निम्ति, नेतृत्व निर्माण हुनको निम्ति धेरै कुरा जोडिन्छ । विचारको कुरा, दृष्टिकोणको कुरा, अडानको कुरा, परिपक्वताको कुरा, योग्यता क्षमताको कुरा आवश्यक हुन्छ । सबैले फलानाले नेतृत्व गर्नसक्छ भन्ने विश्वास हुनुपर्छ । हामी उसको नेतृत्वमा हामी अगाडि बढ्न सक्छौँ भन्ने विश्वास नेतृत्वले दिन सक्नुपर्छ । त्यस्तो व्यक्तित्वलाई उमेरले रोक्दैन ।

जेनजी पुस्ताको कोही युवालाई नेकपा एमालेको अध्यक्षमा राखिदिएर एमाले पूरै धमाकाका साथ अगाडि बढ्ने भन्ने हुँदैन । त्यस्तो खालको प्राविधिक कुराबाट राजनीति चल्दैन ।

नेकपा एमालेले पुस्तान्तरणको कुरा, हस्तान्तरणको कुरा, जेनजी युवाहरूलाई समेट्ने कुरा अघि बढाएको छ । महाधिवेशनमा जेनजी युवाहरूलाई प्रतिनिधि बन्नको निम्ति विशेष व्यवस्था नेकपा एमालेले गरेको छ । यो महाधिवेशनमा जेनजीलाई ठूलो मात्रामा केन्द्रीय नेतृत्वमै लिएर आउने खालको तयारी गरेको छ ।

यसको मतलब आगामी नेतृत्वमा ओली बाहेक अरू हुँदैन भन्ने हो ? 

मुलुकमाथि यत्रो हमला भयो । यो परिस्थितिमा लोकतन्त्रको लागि, संविधानको रक्षाको लागि र देशलाई बचाउनको लागि बोल्न सक्ने, उभिन सक्ने नेता केपी ओली हो । कुनै पार्टीका नेताहरू नउभिएको, नबोलेको समयमा केपी ओली ठिङ्ग उभिएर देशको रक्षार्थ लोकतन्त्र, संविधानको रक्षार्थ उभिनु भएको छ ।

यो परिस्थितिको सिर्जना पनि त ओलीकै कारण भएको भन्छन् नि ?

अहिलेको परिस्थिति केपी ओलीका कारण सिर्जना भएको हाइन । तर हमाला उहाँमाथि केन्द्रित भयो । उहाँ लगातार लोकतन्त्र, संविधान, गणतन्त्र, देशको स्वाधीनता, स्वाभिमान, अखण्डता र भूमिको पक्षमा उभिनु भएको छ । उहाँ छिमेकी मुलुकका समकक्षीहरूसँग आँखा जुधाएर बोल्नुभयो, उभिनुभयो । त्यस कारणले उहाँमाथि हमला भयो र दोष उहाँमाथि लाउन खोजियो । किनभने, देश बलियो हुँदै गयो, राजनीतिक स्थायित्वको बाटोमा मुलुक अगाडि बढ्न खोजेपछि हमला भएको हो ।

यो परिस्थिति सिर्जना गर्न पहिलेदेखि नै षड्यन्त्र भएको थियो । जसले निराशा मात्रै बाँडे, निराशाको मात्रै खेती गरे । जसले देशमा भएको सुधार र परिवर्तनलाई देखाएनन् । नकारात्मकताको खेती गरे । त्यसकारण यो परिस्थिति सिर्जना भएको हो । एउटा परिस्थितिमा टेकेर प्रहार भएको छ । त्यसो हुँदा केपी ओलीलाई सम्पूर्ण दोष दिने कुरा गलत हो ।

अब फेरि केपी ओलीलाई केन्द्रमा राखेर सबै लोकतान्त्रिक शक्ति, सबै दल एक ठाउँमा उभिनुको विकल्प छैन । लोकतन्त्रको रक्षा गर्न, संविधानलाई ट्र्याकमा ल्याउन र प्रतिगामी कदमहरूलाई सच्याउन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नेपाली कांग्रेस तुरुन्तै उठेर आउनुपर्छ । अन्य दल पनि उभिनुपर्छ ।

आन्दोलनपछि बनेको सरकारले २१ फागुनमा निर्वाचन तोकेको छ । अन्य सबै दलहरू निर्वाचनमा जाने निर्णय गरेसके । तपाईंहरू चाहिँ सडकमा हुनुहुन्छ नि ?

पहिलो कुरा, यो सरकार चुनाव गराउनको निम्ति बनेको नै होइन । यो सरकार नेकपा एमाले, नेपाली कांग्रेस लगायतका प्रमुख लोकतान्त्रिक शक्तिहरूलाई माटोमा मिलाउनको निम्ति बनेको हो । अर्कै कोर्समा मुलुकलाई लिएर जान बनेको हो । त्यसकारण यो सरकारले सरक्कै फागुन २१ मा चुनाव गराउँदैन ।

दोस्रो, निर्वाचन गराउनको निम्ति यो सरकारले वातावरण बनाइराखेको छैन । अहिलेसम्म पनि दलका नेतालाई तर्साउने, थुन्न खोज्ने, स्थान हद तोक्ने र विभिन्न खाले टर्चरहरू गर्ने काम भइरहेको छ ।

जेनजी आन्दोलनमा लुटिएका गोलीगठ्ठा कहाँ छन् भन्नेतिर यो सरकारको ध्यान छैन । साढे ५ हजार भन्दा बढी कैदीहरू बाहिर छन् । त्यसको बारेमा ध्यान छैन । १२०० भन्दा बढी हतियारहरू बाहिर छन्, त्यसका बारेमा कुनै चासो छैन । बरु लोकतान्त्रिक दलका नेताहरूलाई शान्तिपूर्ण कार्यक्रममा जानको निम्ति बन्देज गराउने वातावरण बनाइराखेको छ । एमाले निर्वाचनबाट भाग्ने दल होइन । तर सरकारले चुनावको वातावरण बनाएको छैन ।

कांग्रसेले पनि निर्वाचनमा जाने संस्थागत निर्णय गरिसक्यो नि ?

नेकपा एमाले चुनावको विपक्षमा छैन । एमाले चुनावको एउटा मैदानमा छ भन्ने अर्थमा बुझ्दा हुन्छ । एमाले जनताको बीचमा ओर्लिसकेको छ । तर हामी न्यूनतम वातावरण बन्नुपर्छ भन्ने पक्षमा छौँ । त्यो वातावरण नबनेसम्म निर्वाचन सम्भव छैन ।

निर्वाचनको वातावरण बनाउने दायित्व त एमालेको पनि होला नि ?

नेकपा एमालेको पनि हो । तर वातावरणको लागि शान्ति कायम गर्नुपर्याे । सुरक्षाकर्मीको मनोबल बलियो हुनुपर्याे । उनीहरूले काम गर्ने खालको वातावरण बनाउनुपर्याे । तर अहिलेसम्म वातावरण बनेको छ ? प्रहरी संगठनको मनोबल उठाउन सरकारले तयारी गरेकै छैन । अझ सिमराको घटनाले त्यो वातावरण बनाउनेतिर सरकारको ध्यानै छैन भन्ने देखाउँछ ।

सबभन्दा पहिला सुरक्षा निकायको मनोबल बलियो बनाउनु पर्याे । मेजर दलहरूसँग वार्ता संवाद गर्नुपर्याे । एउटा सर्वपक्षीय छलफलको माध्यमबाट एउटा सहमतिको बाटो निर्माण गरेर चुनावमा जानुपर्याे नि । बलपूर्वक २१ गते गराएरै छोड्छु भनेर मात्रै हुन्छ र ? त्यसकारण हामीले चुनावको सम्भवना देखेका छैनौँ ।

अन्त्यमा, एमाले महाधिवेशन हुँदैछ, तपाईंको उम्मेदवारी केमा रहन्छ ?

उम्मेदवारी घोषणा गर्ने बेला त भइसकेको छैन । तर म ११औँ राष्ट्रिय महाधिवेशनको पदाधिकारीको  स्वाभाविक उम्मेदवार पक्कै हो । दशौँ राष्ट्रिय महाधिवेशनमै पदाधिकारीको निम्ति म क्वालिफाइड भइसकेको व्यक्ति हुँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?