Comments Add Comment

कोरोनाविरुद्ध भारतलाई महत्वपूर्ण ‘हतियार’ दिने महिला

१५ चैत, काठमाडौं । भारतमा धेरै मानिसमा कोरोना भाइरसको परीक्षण नगरेको भनेर सरकारको आलोचना भइरहेको छ । अब यो अवस्थामा परिवर्तन आउनसक्ने आशा देखिएको छ । यो आशाको कारण एक भारतीय संक्रामक रोग विशेषज्ञको कोसिस हो ।

महिला विशेषज्ञ मीनल दखावे भोसलेले आफ्नो बच्चालाई जन्म दिनुभन्दा केही घण्टाअघिसम्म पनि लगातार काम गरेर भारतको पहिलो वर्किङ टेस्ट किट तयार पारेकी छिन् । त्यो नै भारत सरकारमाथि भइरहेको आलोचनालाई जोगाउने र समस्या समाधान गर्ने कारण बन्न पुगेको छ ।

गत बिहीबार भारतमा निर्माण गरिएको पहिलो कोरोना भाइरस टेस्टिङ किट बजारमा पुगेको छ । पछिल्लो समय भाइरस संक्रमितको आशंका बढिरहेको अवस्थामा यसको प्रयोगले कोरोना भाइरस (कोभिड–१९) का बिरामीको पुष्टि छिटै हुने अपेक्षा गरिएको छ ।

पुणेको मायल्याब डिस्कवरी भारतको पहिलो फर्म हो, जसलाई टेस्टिङ किट तयार पार्ने र बिक्री गर्ने अनुमति मिलेको छ । यो फर्माले गत साता पुणे, मुम्बई, दिल्ली, गोवा र बैंग्लोरमा आफ्नो एक सय ५० ओटा पहिलो चरणको टेस्ट किट पठाएको छ ।

मायल्याब डिस्कवरीका मेडिकल मामिलाका निर्देशक डा. गौतम बाखेडेले बीबीसीसँग कुरा गर्दैै भने, ‘हाम्रो उत्पादन एकाई अहिले सप्ताहको अन्त्यसम्ममा पनि काम गरिरहेको छ । अर्को चरणको किट्स सोमबार पठाउनेछौँ ।’

यो कम्पनीले एचआईभी, हेपाटाइटिस बी र सीसहित अन्य रोगको लागि पनि टेस्टिङ किट बनाउँदै आएको छ । कम्पनीले एक साताभित्र एक लाख कोभिड–१९ टेस्ट किटको आपूर्ति गर्ने र आवश्यक परेको अवस्थामा दुई लाख टेस्टिङ किट तयार गर्नसक्ने दाबी गरेको छ ।

गर्भवती विशेषज्ञले बनाइन् किट

मायल्याबको प्रत्येक किटबाट एक सय नमुना परीक्षण गर्न सकिन्छ । यो किटको मूल्य एक हजार दुई सय भारु छ । विदेशबाट भारतमा यस्तो किट मगाउँदा चार हजार पाँच सय भारु पर्छ ।

मायल्याब डिस्कवरीको रिसर्च एण्ड डेभलपमेन्टकी प्रमुख संक्रामक रोग विशेषज्ञ मीनल दखावे भोसलेले आफूहरुले बनाएको किटले साढे दुई घण्टामा यो भाइरसको परीक्षण गर्न सक्ने बताइन् । जबकी विदेशबाट आउने किटले परीक्षणको लागि ६÷७ घण्टा लगाउँछ ।

मीनल कोरोना भाइरसको टेस्टिङ किट अर्थात् पाथो डिटेक्ट तयार गर्ने टोलीको प्रमुख हुन् । यो टोलीले निकै कम समयमा उक्त किट निर्माण गरेको हो । यस्तो किट बनाउन तीनदेखि चार महिनाको समय लाग्छ । तर, उनीहरुले छ सातामा नै किट तयार पारेका हुन् ।

रमाइलो पक्ष के भने यो क्रममा मीनल आफैं एक डेडलाइनको सामना गरिरहेकी थिइन् । र, गत साता मात्र उनले एक बच्चालाई जन्म दिइन् । गर्भावस्थाको क्रममा गत फेब्रुअरीमा उनले टेस्टिङ किट निर्माणको प्रोजेक्टमा काम गर्न सुुरु गरेकी थिइन् ।

नेशनल इन्स्टिच्युट अफ भाइरोलोजी

मीनलले बीबीसीसँगको कुराकानीमा भनिन्, ‘यो आपतकालीन अवस्था थियो, त्यसैले मैले यसलाई एक चुनौतीको रुपमा लिएँ । मलाई आफ्नो देशको सेवा गर्नु थियो ।’

मीनलका अनुसार १० वैज्ञानिकको टोलीले यो प्रोजेक्ट सफल बनाउन निकै ठूलो मेहनत गरेका थिए । छोरीलाई जन्म दिनुभन्दा एकदिन पहिला १८ मार्चमा उनले किट परीक्षणको लागि नेशनल इन्स्टिच्युट अफ भाइरोलोजी (एनआईबी)लाई पुम्पिइन् ।

त्यसैदिन साँझ अस्पताल जानुभन्दा पहिला उनले यो किटको प्रस्तावलाई भारतको फुड एण्ड ड्रग्स कन्ट्रोल अथोरिटी (सीडीएससीओ)मा व्यावसायिक अनुमतिका लागि पठाएकी थिइन् ।

डाक्टर वानखेडेले आफूहरुसँग समय निकै कम रहेको र आत्मसम्मानको पनि कुरा रहेको बताए । ‘पहिलो प्रयासमा नै सबै कुरा ठिक भयो । हाम्रो प्रयासको नेतृत्व मीनलले गरिरहनुभएको थियो ।’

मेडिकल रिसर्च

यो किट परीक्षणका लागि पठाउनुभन्दा पहिला टोलीले फरक‍-फरक मापदण्डमा आधारित रहेर धेरैपटक यसको परीक्षण गरेको थियो । तर, त्यसको नतिजा सही नै आयो ।

मीनल भन्छिन्, ‘कुनै नमुनालाई १० पटक परीक्षण गर्नुछ भने सबै परीक्षणको नतिजा एउटै आउनुपर्छ । हामीले यो मापदण्ड हाँसिल गर्‍यौं । हाम्रो किट सबै हिसाबले सही छ ।’

भारतको इन्डियन काउन्सिल फर मेडिकल रिसर्च (आईसीएमआर)ले मायल्याब किटलाई सही साबित गर्‍यो । एनआईबीले आईसीएमआरको अधिनमा रहेर काम गर्छ । आईसीएमआरले टेस्टिङ किटको नतिजा शतप्रतिशत सही आउने मायल्याब भारतको पहिलो कम्पनी भएको बताएको छ ।

कम परीक्षण

भारतमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पत्ता लगाउने परीक्षण निकै कम भएको छ । यहाँ प्रति दश लाख मानिसमा केवल ६ दशमलव ८ मानिसमा मात्र परीक्षण गरिएको छ ।

विश्वका सबै मुलुकमा यो दर सबैभन्दा कम हो । सुरुवातमा भारतमा विदेशबाट आएका मानिसको वा बिरामीको सम्पर्कमा आएका वा कोरोना भाइरसको उपचार गरिरहेका स्वास्थ्यकर्मीको सम्पर्कमा आएका मानिसमा मात्र परीक्षण गरिएको थियो ।

पछिल्लो पटक सरकारले श्वासप्रश्वाससम्बन्धी गम्भीर रोगको कारण अस्पतालमा भर्ना भएको बिरामीको पनि जाँच गरिने घोषणा गर्‍यो । तर, संक्रमण रोकिएको छैन । कोरोनाको प्रकोप भारतमा तीब्र गतिमा फैलिन सक्ने आशंका व्यक्त गरिएको छ ।

डाइग्नोस्टिक किट

पछिल्लो केही दिनमा भारतमा भाइरसको संक्रमण पत्ता लगाउन गरिने परीक्षणको संख्या बढेको छ । सुरुवातमा केवल सरकारी ल्याबलाई यो परीक्षणको अनुमति मिलेको थियो । तर, अहिले यसको दायरा फराकिलो बनाउँदै केही निजी ल्याबलाई पनि यो सूचीमा सामेल गराइएको छ ।

बिहीबार भारतले १५ निजी कम्पनीलाई उनीहरुको लाइसेन्सको आधारमा व्यावसायिकरुपमा अमेरिका, यूरोपेली देश र अन्य देशहरुबाट मगाइएको डाइग्नोस्टिक किट बेच्ने अनुमति दिएको छ । वानखेडेका अनुसार ल्याब र आपूर्तिकर्ताको संख्या दिनानुदिन बढिरहेको अवस्थामा परीक्षणको नतिजा पनि छिटो आउनेछ ।

भारतको चुनौती के हो ?

कोरोना भाइरसको संक्रमणका लागि परीक्षणको बढ्दो संख्याले पक्कै पनि सहयोग पुग्नेछ । तर, भारतमा नाममात्रको स्वास्थ्य सुविधालाई मध्यनजर गर्दै विश्लेषकहरुले तत्काल परीक्षणको संख्या बढाउन माग गरिरहेका छन् ।

भारतकी पूर्व स्वास्थ्य सचिव सुजाता राव सानो मुलुक दक्षिण कोरियामा पनि भाइरस परीक्षणको लागि ६५० ल्याब भएकोमा भारतमा भने केवल एक सय ८८ ल्याब मात्र भएको बताउँछिन् ।

सरकारी अधिकारीले ५० निजी ल्याबलाई छिटै यो सूचीमा समावेश गरिने बताएका छन् । तर, एक अर्ब ३० करोडभन्दा बढी जनसंख्या भएको मुलुकको लागि यो पर्याप्त संख्या भने होइन । सुजाता राव भारतले यस्तो ल्याबको संख्या बढाउनुपर्ने र त्यहाँ टेस्टिङ किट पनि पुर्‍याउनुपर्ने बताउँछिन् ।

भाइरस संक्रमणको परीक्षण बढ्ने अवस्थामा कोरोना भाइरस संक्रमितको संख्या तीब्र गतिमा बढ्यो भने उनीहरुलाई अस्पतालमा ल्याउनु नै ठूलो चुनौती हुनेछ । रावका अनुसार भारतको ग्रामीण इलाकामा सामान्य स्वास्थ्य सुविधाको पनि अभाव रहेकाले आगामी दिनमा भारतको लागि यो ठूलो चुनौती सावित हुनसक्ने उनको भनाई छ ।

बीबीसी हिन्दीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment