Comments Add Comment

कोभिड-१९ र यसका तीन आयाम

कोभिड-१९, अर्थात् नोबेल कोरोना भाइरसको संक्रमण र यसका तीन आयाम बारे यस लेखमा चर्चा गरिएको छ ।

यी तीन आयाम हुन् – पहिलो : ‘कोभिड–१९ रोकथाम र नियन्त्रण’  दोस्रो : ‘कोभिड-१९ र अर्थतन्त्र’  र तेस्रो : ‘दृष्टिकोण र प्रणालीकाे सवाल’

१) कोभिड-१९ः रोकथाम र नियन्त्रण

नोबेल कोरोना भाइरसको संक्रमण, कोभिड-१९ विश्व महामारीले यतिबेला सारा विश्वलाई गाँजेको छ र विश्व समुदाय यसविरुद्ध लडाइँको मोर्चामा सम्पूर्ण प्रयत्नसाथ जुटिरहेको छ । २०१९ को डिसेम्बरमा चीनको वुहान सहरमा पहिलोपटक देखिएको यो रोग अहिले करिब २०० देशमा फैलिएको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार अहिलेसम्म यसबाट ६६२,९६७ संक्रमित भएको र ३०,८५१ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

एक सय वर्षअघिको १९१८ को स्पेनिस ‘फ्लु’को महामारीबाट विश्वमा करिब ५ करोड मानिसको मृत्यु भएको थियो । हाम्रो छिमेकी देश भारतमा मात्र यसबाट करिब २ करोड मानिसको ज्यान गएको थियो । त्यसअघि प्लेग, हैजा, बिफर आदिको महामारीले पनि अत्यन्त ठूलो मानवीय क्षति भएको थियो ।

सन् १९१८ को फ्लुपछि पनि विश्वले एभियन फ्लु, हङकङ फ्लु आदिबाट लाखौँ मानवको मृत्यु व्यहोर्नुपरेको थियो । करिब २० वर्षयताको मात्र कुरा गर्ने हो भने पनि सार्स (२००२), स्वाइन फ्लु (२००९), मर्स (२०१२), इबोला (२०१३) आदि विश्व महामारीबाट मानवजातिले ठूलो दुःख पाएको थियो । यस्ता भयानक महामारीसँग जुझ्दै, विजय प्राप्त गर्दै र केही सिक्दै (इतिहासमा त्यस प्रकारका विपत्तिबाट मानव समुदायले कति सिक्यो भन्ने बारेमा अहिले विश्वव्यापी बहस भइरहेको छ र त्यो बहसमा लिनुपर्नेजति शिक्षा नलिएको तर्क जबर्जस्तरूपमा अगाडि आइरहेको छ) विश्व अघि बढिरहेको छ ।

निश्चय पनि अहिलेको कोभिड–१९ महामारीका सन्दर्भमा पनि त्यही कुरा सत्य सावित हुनेछ अर्थात् यसमाथि पनि विजय प्राप्त गरी छाड्नेछौं । तर, जसरी हिजोका चुनौतीमाथि सजिलै विजय प्राप्त भएका थिएनन्, आज आइरहेको चुनौतीमाथि पनि सजिलै जित्न सकिने छैन । अझ मुख्य कुरो हो, कसरी कम क्षतिमा छिटोभन्दा छिटो यसबाट मुक्ति पाउन सक्नेछौं ।

अहिले पुष्टि भएको अर्को कुरा के हो भने एन कोरोनाबाट संक्रमण भएदेखि रोग लाग्दासम्मको अवधि तुलनात्मकरुपमा लामो हुन्छ र मानवबाट मानवमा रोग संक्रमणको गति तीव्र हुन्छ ।

यस सन्दर्भमा विश्व स्वास्थ्य संगठनका डाइरेक्टर जनरलले हालै मात्र व्यक्त गर्नुभएको यो कथन अत्यन्त सही छ, ‘हामीले यसअघिका महामारी र संकटमाथि विजय हासिल गरेका छौं । हामी अहिलेको यस महामाहारीमाथि पनि विजय प्राप्त गर्नेछौं । तर, सवाल हो, यसका लागि हामीले कति ठूलो मूल्य चुकाउनेछौं ।’

विश्वका धेरै देशले कोरोना भाइरसको संक्रमणविरुद्ध चालेका आक्रामक कदमले केही ढिलाइका बाबजुद यो सत्यलाई आत्मसात् गरेको देखिन्छ । विश्वका करिब एक चौथाइभन्दा बढी जनसंख्या अहिले ‘लकडाउन’ अन्तर्गत रहेका छन् । विश्वका सम्बन्धित वैज्ञानिक र महामारीविदहरु अझ पनि यसको उत्पति स्रोत, आनुवंशिक परिवर्तन, मान्छेमा सार्ने माध्यम, खोपको विकास र महामारीको व्यापकताका बारेमा निश्चितरुपमा भन्न सक्ने गरी स्पष्ट भइसकेका छैनन् ।

यो महामारी अहिलेको चरणको नियन्त्रणपछि अर्को लहरको रुपमा आउला कि नआउला, त्यो पनि कुनै टुंगो छैन । अध्ययन, अनुसन्धान जारी छन् । उनीहरु थप अध्ययन, अनुसन्धानको आवश्यकता औंल्याइरहेका छन् । त्यसबीच पनि उनीहरुको यो आँकलनप्रति सबैको गम्भीर ध्यान जानु जरुरी छ कि अहिले यसबाट पुग्न गएको क्षति प्रारम्भिक चरणको हो र यसको उल्लेख्य विस्तार हुने करिब निश्चित जस्तै छ ।

सम्बन्धित वैज्ञानिक र विज्ञले यो पनि बताइरहेका छन् कि यसको विस्तार र यसले पुर्‍याएको क्षति विश्वसमुदाय, देश, समाज र व्यक्तिको नीतिनिर्णय, योजना, कामकारबाही, कदम र व्यवहार–आचरणमा पनि निर्भर रहनेछ । यो तथ्यलाई आत्मसात् गर्नु र यसको रोकथाम र नियन्त्रणमा युद्धस्तरमा जुट्नु आजको आवश्यकता हो ।

केही आधारभूत तथ्य : भाइरस, कोरोना भाइरस, एन कोरोना भाइरस, कोभिड–१९ का लक्षण, लाग्ने तरिका, रोकथाम, नियन्त्रण र उपचार आदिका बारेमा वैज्ञानिक तथ्य जीववैज्ञानिक, महामारी विज्ञ, जनस्वास्थ्यविज्ञ र सम्बन्धित क्षेत्रका चिकित्सक एवं अनुसन्धानकर्ताले नै आधिकारिक रुपमा बताउने कुरा हो । अहिलेसम्मको अध्ययन, अनुसन्धानका आधारमा उनीहरुले जानकारी पनि दिइरहेका छन् । जे कुरा स्पष्ट छैन, त्यसको थप अध्ययन, अनुसन्धान गरिरहेका छन् । तसर्थ, यो विषय मूलतः हाम्रो लेखनको क्षेत्र होइन । तथापि यो विश्व महामारीले हाम्रो समाजको समेत एक एक व्यक्तिलाई प्रभावित पारेकाले जनसाधारणका लागि सामान्य जानकारी सहज होस् भन्ने उद्देश्यले केही आधारभूत तथ्यमाथि संक्षेपमा चर्चा गर्नु अन्यथा हुनेछैन ।

भाइरस र एनकोरोना भाइरस : भाइरस अत्यन्त सूक्ष्म विषाणु हो, जसलाई आँखाले देख्न सकिँदैन । यो ब्याक्टेरिया भन्दा पनि धेरै सानो हुन्छ र ज्यादै शक्तिशाली सूक्ष्मदर्शक यन्त्रले मात्र देख्न सकिन्छ । यो वनस्पति, जीव र सबै प्रकारका जीवाणुमा हुन सक्छ ।

पृथ्वीमा लाखौँ प्रकारका भाइरस छन् । भाइरसको मुख्य विशेषता हो, यो आफैंमा सक्रिय हुन सक्दैन र पुनरुत्पादन पनि गर्न सक्दैन । कुनै वनस्पति, पशुपंक्षी, मान्छे, जीवाणुको कोष आश्रयस्थल (होस्ट)को रुपमा फेला परेपछि मात्र यो सक्रिय हुन्छ र यसले आफूजस्तै पुनरुत्पादन (विभाजन) गर्दै जान्छ । यसले यसरी प्याथोजेन अर्थात् रोगको बाहकको काम गर्दछ ।

भाइरसले शरीर वा कोषमा प्रवेश गर्दैमा अनिवार्यतः रोग लागि हाल्दैन । शरीरमा भएको प्रतिरोध शक्ति (इम्युनिटी पावर)ले यसलाई रोगी बनाउने हदसम्म जान नदिन सक्छ । शरीरको प्रतिरोध क्षमताले नै भाइरसबाट रोग लाग्न नदिने वा रोग लागे पनि घातक हदसम्म विकास हुन नदिई निको पार्ने काम गर्छ ।

भाइरस संक्रमणबाट जुनसुकै रोग लागे पनि त्यसलाई निको पार्ने औषधी बनेको छैन । त्यसैले खोप (भ्याक्सिन) दिएर खास रोग विशेषको प्रतिरोध शक्ति तयार पारेर वा शरीरभित्र रहने स्वाभाविक प्रतिरोध शक्तिको विकास गरेर रोगबाट बचाउने गरिन्छ । अरु सबै उपचार लक्षणलाई सम्बोधन गर्न वा प्रतिरोध क्षमतामा देखिएको ह्रासलाई केही बल पुर्‍याउनका लागि गरिएको हुन्छ । त्यसैले भन्ने गरिन्छ : सामान्य रुघाखोकी (भाइरसको कारणबाट) उपचार गरे सात दिनमा र उपचार नगरे पनि एक हप्तामै निको हुन्छ ।

एनकोरोना र कोभिड १९ : अहिले संसारभर कोलाहल मच्चाइरहेको कोरोना भाइरस त्यस्तै एउटा भाइरस हो । कोरोना भाइरस पनि एकभन्दा बढी छन् ।यसअघि नै विभिन्न प्रकृतिका कोरोना भाइरस देखापरिसकेका थिए, जसले सार्स र मर्स जस्ता महामारी गरिसकेको छ । तर, अहिले देखापरेको कोरोना भाइरस नयाँखालको हो । यसलाई नोवेल कोरोना भाइरस र यसको संक्रमणबाट हुने रोगलाई कोभिड–१९ नामाकरण गरिएको छ ।

एनकोरोना भाइरसको उत्पत्ति स्रोत के हो र यो कसरी मानिसमा संक्रमण भयो भन्ने बारेमा वैज्ञानिकहरुले अहिलेसम्म किटानी गर्न सकेका छैनन् । अहिलेसम्म स्पष्ट भएको कुरा के हो भने रुघाखोकी, उच्च ज्वरो र थकाइलाग्नु यो संक्रमणको मुख्य लक्षण हुन् । नाकबाट पानी बग्ने र हाँछ्यु आउने पनि हुन सक्छ । रोगले च्याप्दा सास फेर्न गाह्रो हुने र कडा निमोनिया देखा पर्ने गर्छ ।

अहिले पुष्टि भएको अर्को कुरा के हो भने एन कोरोनाबाट संक्रमण भएदेखि रोग लाग्दासम्मको अवधि तुलनात्मकरुपमा लामो हुन्छ र मानवबाट मानवमा रोग संक्रमणको गति तीव्र हुन्छ ।

संक्रमण कसरी र रोक्ने कसरी ? कोभिड १९ को संक्रमण कसरी हुन्छ भन्ने तथ्य बुझ्नु यसको रोकथाम र नियन्त्रणका लागि अनिवार्य हुन्छ । संक्रमित विरामीको सम्पर्कमा आएको खण्डमा मात्र यो रोग सर्न सक्छ । संक्रमित व्यक्तिले हाँछ्यु गर्दा, बोल्दा वा सास फाल्दा निस्कने छिटा वा थोपाबाट रोगको संक्रमण हुन सक्छ । संक्रमित व्यक्तिबाट उक्त प्रक्रियामा निस्केका थोपा वा छिटा कुनै वस्तु, सतह वा सँगै बसेको व्यक्तिको वरिपरि खस्छ र त्यस्ता छिटा सम्पर्कमा रहेको अर्को व्यक्तिको मुख, नाक र आँखाबाट शरीरमा पसी रोगको संक्रमण हुन सक्छ ।

स्वास्थ्य वैज्ञानिकहरुको यो निष्कर्षलाई गहिरो गरी आत्मसात् गर्नु जरुरी छ कि, संक्रमित व्यक्तिसँग सम्पर्क नभएमा यो रोग सर्दैन, लाग्दैन । संक्रमित व्यक्तिको मुख वा नाकबाट आउने थोपाबाट सर्छ, शुद्ध स्वास वा हावाबाट सर्दैन । तसर्थ, कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि तीनवटा उपाय अवलम्वन गर्नुपर्छ ।

महामारीविरुद्धको अभियानमा अहिले दुई नीति लिने गरिएको छ । एक, सामाजिक, भौतिक दूरत्वका लागि आम ‘लकडाउन’ एवं ‘होम क्वारेन्टाइन’ र दुई, पहिचान, परीक्षण, उपचार र अनुगमन निरीक्षण (आइडेन्टीफाइ, टेस्ट, ट्रिट र ट्रयाक) ।

एक, संक्रमित व्यक्तिको सम्पर्कबाट टाढा रहनु । अहिलेको सन्दर्भमा संसारभर यो फैलिसकेकाले कसलाई यसको संक्रमण भएको छ, यकिन गर्न कठिन छ । त्यसैले केही समय (सामान्यतः कम्तीमा दुई हप्ताको अवधि) सबैको सम्पर्कबाट अलग बस्नु आवश्यक छ । यसैलाई सामाजिक भौतिक दूरत्व (सोसल फिजिकल डिस्ट्यान्सिङ) का रुपमा विश्वव्यापी अभ्यास गरिँदैछ । घरमै बन्द अर्थात् ‘लकडाउन’ यसैमा आधारित छ ।

दुई, कुनै टार्न नसकिने अनिवार्य कामले भेट्नु पर्दा पनि सर्जिकल मास्क (सबैले) प्रयोग गर्नुपर्छ, कम्तिमा तीन फिट दूरी कायम गर्नु पर्छ, ता कि भेटेको व्यक्ति वा व्यक्तिहरु संक्रमित भएका रहेछन् भने पनि उनीहरुको मुख वा नाकबाट निस्कने थोपा वा छिटा आफू वा आफ्नो वरिपरिको सतहमा नपरोस्् । उपरोक्त व्यवहारबाट आफू संक्रमित भएको छ भने अरु व्यक्तिलाई संंक्रमित हुनबाट पनि बचाउनेछ ।

तेस्रो, कसैसँगको सम्पर्कपछि लगत्तै र बेलाबेलामा साबुनपानीले हात धुने, मुख, नाक र आँखामा हातले नछुने, खोक्दा वा हाँछ्यु गर्दा खुला नगरी कुइनोले छोप्ने गर्नुपर्छ । थोरै थोरै तातोपानी बेलाबेलामा पिऔं । छाला वा हावाबाट संक्रमण नहुने, संक्रमिक व्यक्तिको मुख, नाकबाट निस्कने छिटा आफ्नो मुख, नाक वा आँखामा पसेपछि मात्र संक्रमणको सम्भावना हुने भएकाले यसो गर्दा संक्रमणको खतरा कम हुनेछ ।

यसरी आमरुपमा सामाजिक भौतिक दूरत्व कायम गर्न सार्वजनिक क्रियाकलाप बन्द गरी घरभित्र रहनुपर्छ र संक्रमण देखिएका देश वा समाजबाट आएका वा संक्रमित व्यक्तिको सम्पर्कमा रहेका वा हुन सक्ने शंकास्पद व्यक्तिहरुलाई विशेष अलगाव (स्पेसियल क्वारेन्टाइन) को स्थितिमा राख्नुपर्छ । संक्रमित व्यक्तिको सम्पर्कमा रहेको हुन सक्ने व्यक्तिलाई तुरुन्त प्रयोगशालामा परीक्षण गराइहाल्नुपर्छ । रोगको लक्षण देखिएका व्यक्तिहरुको तत्काल प्रयोगशाला परीक्षणसहित यसका लागि विशेष व्यवस्था गरिएको अस्पताल वा वार्डमा उपचार गर्नुपर्छ ।

यसरी विश्वव्यापी रुपमा यस महामारीविरुद्धको अभियानमा अहिले दुई नीति लिने गरिएको छ । एक, सामाजिक, भौतिक दूरत्वका लागि आम ‘लकडाउन’ एवं ‘होम क्वारेन्टाइन’ र दुई, पहिचान, परीक्षण, उपचार र अनुगमन निरीक्षण (आइडेन्टीफाइ, टेस्ट, ट्रिट र ट्रयाक) ।

कोभिड १९ विरुद्धको खोप अहिलेसम्म तयार भइसकेको छैन । वैज्ञानिकहरु यसको विकासमा मेहनत गरिरहेका भए पनि कहिलेसम्म यसको विकास हुन्छ वा अझ विकास हुन सक्छ कि सक्दैन भन्ने कुरा अहिले नै किटेर भन्न सकेका छैनन् । खोपको विकास भएमा पनि यसको प्रयोगको बिन्दुमा पुग्न कम्तीमा डेढ वर्ष लाग्ने अनुमान विज्ञहरुले गरेका छन् । त्यसैले यसको रोकथामका लागि खोपको सुविधा अहिले छैन ।

नेपाल र कोभिड १९ : नेपाल सरकारले सबभन्दा पहिले चीनमा कोभिड–१९ को प्रकोप देखापरेपछि नै चीनको वुहानमा रहेका नेपालीलाई संक्रमणबाट बचाउन पहल गर्‍यो र नेपालमा ल्याई विशेष क्वारेन्टाइनमा राख्यो । त्यो कार्य सफल भयो ।

चीनसँग हवाई यातायात र आवागमनलाई नियन्त्रित गर्दै यसबारे सतर्कतासाथ रोकथाम र नियन्त्रणका लगि आवश्यक तयारी गर्न नेपालमा उच्चस्तरीय समन्वय समिति गठन गरियो । यस अवधिमा नेपालमा पाँच जनामा एनकोरोना संक्रमणको पुष्टि भएको छ । सबै विदेश (प्रवास) बाट देश भित्रिएका नेपालीहरु हुन् । पाँच जनामध्ये एकजनाले पूर्ण स्वास्थ्यलाभ गरिसकेका छन् भने चारजना उपचाररत छन् । सरकारले यसको प्रभावकारी नियन्त्रणका लागि चैत ११ गतेदेखि राष्ट्रव्यापी ‘लकडाउन’ घोषणा गरेको छ र आमरुपमा घरमै बस्न अपिल गरेको छ । सिंगो राष्ट्र यो महाअभियानमा एकताबद्ध भएको छ ।

घरमै बसौं, संक्रमणबाट बचौं र बचाऔं : कतिपयमा अझै पनि ‘लकडाउन’ र ‘होम क्वारेन्टाइन’को महत्वका बारेमा अस्पष्टता भएजस्तो पनि देखिन्छ । पूर्ण स्पष्टता साथ यसको कडाइपूर्वक पालना गर्न अत्यन्त जरुरी छ ।

एनकोरोनाले तपाईं हामीमध्ये कसैलाई संक्रमण नगर्न पनि सक्छ । यसको सम्पर्कमा आएपछि आफूमा निहित प्रतिरोध शक्तिले गर्दा संक्रमण नहुन सक्छ । संक्रमण नै भए पनि सामान्य रुघाखोकी जस्तो सजिलै निको हुन पनि सक्छ । स्वास्थ्य वैज्ञानिकका अनुसार करिब ८० प्रतिशत संक्रमित आफैं निको हुन्छन्, करिब १६ प्रतिशत उपचार गरेर निको हुन्छन् र करिब ४ प्रतिशत मर्छन् ।

तर, त्यसले हाम्रो ज्यान लिन सक्ने खतरा पनि हुन्छ । अनि तपाईं हाम्रो ज्यान लिएन भने पनि हाम्रो सम्पर्कबाट संक्रमण भएको अर्को व्यक्तिको ज्यान जान सक्छ, सिंगो समुदाय र देश यस प्रकोपको मारमा पर्न सक्छ । यसप्रति हामी संवेदनशील एवं गम्भीर भएनौं भने यो चरम गैरजिम्मेवारी हुनेछ, आफ्नो जीवन, परिवार, समुदाय र सिंगो देशप्रति ।

त्यसैले फेरि पनि गहिरो गरी बुझौं, संक्रमित व्यक्तिसँग सम्पर्क नभए रोग सर्दैन, लाग्दैन । घरमै सुरक्षितसँग बस्नु रोगबाट बच्ने अचूक अस्त्र हो । ख्याल गरौं, भाइरसको आश्रयस्थल वा घर (होस्ट) हामी हौं । अन्यथा, त्यो सक्रिय हुन र लामो समय बाँच्न सक्दैन । तसर्थ, भाइरसलाई आश्रयस्थल नदिऔं, त्यसको घर नबनौं । अनि मात्र संक्रमणलाई रोेक्न र यो महामारीलाई अन्त्य गर्न सकिन्छ । यसका निम्ति हाम्रो जीवन र व्यवहारमा पनि केही परिवर्तन गर्नु आवश्यक छ । यसलाई जिम्मेवारीबोधका साथ पालना गर्नु आजको आवश्यकता र हाम्रो कर्तव्य हो ।

दुईथरि क्वारेन्टाइन : अहिले हामीले दुई प्रकृतिको क्वारेन्टाइनको नीति लिएका छौं ।

यो कम्युनिस्ट पार्टीको सरकार हो । तसर्थ, हाम्रो सरकारले ‘भाइरसबाट मर्न दिन्नौं, भोकै मरे मर’ कुनै पनि हालतमा भन्दैन भन्ने कुरा व्यवहारबाटै स्पष्ट पार्नेछ ।

एक, आमरुपमा घरमै बस्ने र सामाजिक भौतिक दूरत्व कायम गर्ने । देशभित्रै रहिरहेका परिवारका सदस्यहरु होम क्वारेन्टाइनमा सजिलै रहन सक्छन् । त्यसमा बुढाबुढी र रोगी (उच्च रक्तचाप, मधुमेह, मुटुरोग आदि) का लागि घरमै पनि क्वारेन्टाइनमा विशेष ध्यान दिनुपर्छ । किनकि उनीहरुलाई संक्रमण भए घातक हुन सक्ने सम्भावना बढी हुन्छ ।

दुई, कोभिड–१९ को संक्रमण देखिएका मुलुकबाट आएका व्यक्तिलाई सकेसम्म छुट्टै विशेष क्वारेन्टाइनमा राखिनुपर्छ । संक्रमित व्यक्तिको सम्पर्कमा रहेका वा रहेको हुन सक्ने ठानिएका व्यक्तिलाई पनि अलग्गै विशेष क्वारेन्टाइनमा राखिनुपर्छ । त्यस्ता विशेष क्वारेन्टाइनको व्यवस्था र अनुगमन कार्य तीनै तहका सरकारले आपसी समन्वयमा गर्नुपर्छ र समुदाय एवं समाजले अभिन्न सहयोगी भूमिका निर्वाह गर्नुपर्छ ।

विदेशबाट आएका तर ठूलो सामुदायिक संक्रमण नभएका क्षेत्रबाट आएका र घरमा कडाइपूर्वक दूरी कायम गरेर रहन सकिन्छ भने घरमै पनि बस्न सकिने हुन सक्छ । हामीले आम लकडाउनसम्मको निर्णय गरिसकेको अवस्थामा उपरोक्त क्वारेन्टाइन विधिलाई कडाइपूर्वक पालना गर्नैपर्छ । मलाई संक्रमणले छुँदैन वा म घरमै थुनिएर बस्नेवाला छैन भनेर अनावश्यक बहादुरी देखाउनु यो सन्दर्भमा घातक हुन्छ र एक अर्थमा अपराध पनि ।

‘क्वारेन्टाइन’लाई प्रभावकारी बनाउन थप ध्यान दिनु आवश्यक देखिन्छ । विदेशबाट फर्केकालाई पहिचान गर्ने (ट्रयाकिङ) र उनीहरुलाई कडाइपूर्वक क्वारेन्टाइनमा राख्ने कार्यमा कुनै कमजोरी हुन दिनुहुँदैन । त्यसैगरी संक्रमितको सम्पर्कमा आएका वा आएका हुन सक्ने ठानिएकालाई पनि पहिचान गरेर क्वारेन्टाइनमा राख्न अझै मेहनत गर्नु जरुरी छ । संक्रमितको सम्पर्कमा रहेका परिवार वा अरु कोही भए उनीहरुको प्रयोगशाला परीक्षणलाई पनि प्राथमिकता दिनुपर्छ ।

परीक्षण र उपचार :  लकडाउन, होमक्वारेन्टाइन र सामाजिक भौतिक दूरीको नीतिलाई मुख्य बनाउँदै कोभिड–१९ माथि विजय प्राप्त गर्न महत्वका साथ अवलम्वन गर्नुपर्ने अर्को नीति हो, संक्रमित व्यक्तिको पहिचान, अलगाव, परीक्षण, अनुगमन र उपचार । सरकारले यो पक्षमा पनि ध्यान दिइरहेको देखिन्छ । यस सम्बन्धमा लिइएका निर्णयलाई तत्काल कार्यान्वयन गराइहाल्नुपर्छ । यसका लागि आवश्यक निम्न पक्षमा थप जोड दिनुपर्छ ।

पहिलो, संक्रमितको सम्पर्कमा रहेका वा लक्षण देखापरेका व्यक्तिको ट्रयाकिङ र पहिचान गर्ने प्रणालीलाई दुरुस्त र प्रभावकारी बनाउनु पर्छ ।

दोस्रो, प्रयोगशालालाई सातवटै प्रदेशमा स्थापना गर्ने निर्णय कार्यान्वयनमा लैजानुपर्छ । त्यसका लागि आवश्यक किट्स र अन्य उपकरणको व्यवस्था हरहालतमा गरिहाल्नुपर्छ ।

तेस्रो, कोभिड–१९ को उपचारका निम्ति सम्भावित विशेष अस्पतालको व्यवस्था । सरकारले टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालका अतिरिक्त बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताललाई पनि डेडिकेटेड अस्पताल बनाउने निर्णय गरिसकेको छ । यसलाई पनि तत्काल सुचारु हालतमा ल्याउनुपर्दछ । सरकारले उपत्यकाका ६ र उपत्यका बाहिरका १९ हव अस्पतालको घोषणा गरिसकेको छ । भरतपुर महागरपालिकाले त्यसका निम्ति अस्थायी अस्पताल स्थापना गरेर राम्रो काम गरेको छ । त्यसलाई स्तरीय र विश्वसनीय बनाउन ध्यान दिनुपर्छ । अरु अस्पतालमा पनि ज्वरो क्लिनिकदेखि आइसोलेसन वार्डको व्यवस्था गर्न गरिएको निर्णयलाई कार्यान्वयन गर्नुपर्छ । आवश्यक आईसीयु र भेन्टिलेटरको व्यवस्था गरी हाल्नुपर्छ ।

चौथो, चिकित्सक, नर्स र स्वास्थ्यकर्मीहरु नै उपचारका लागि निर्णायक र अपरिहार्य पात्र हुन् । उनीहरुको स्वास्थ्य सुरक्षा र प्रोत्साहनको व्यवस्था गर्नुपर्छ । सरकारले यस सन्दर्भमा आवश्यक पहल गरिसकेको छ । एन ९५ मास्क, पीपीईलगायत अन्य आवश्यकताहरु पूरा गरिहाल्नुपर्छ । चिकित्सक र स्वास्थ्यकर्मीको स्वास्थ्य सुरक्षाको सुनिश्चिततासहित उनीहरुको मनोबल उच्च नराखेसम्म संक्रमित विरामीको उपचार हुन सक्ने छैन भन्ने कुरा स्पष्ट नै छ । साथै, स्वास्थ्यकर्मीले पनि आफ्नो कर्तव्य पूरा गर्ने कार्यमा रत्तिभर हिचकिचाहट प्रदर्शन गर्नुहुँदैन र गरेका छैनन् पनि । संक्रमित बिरामीको उपचारको सम्पूर्ण जिम्मेवारी सरकारले लिने निर्णय पनि सार्बजनिक भइसकेको छ ।

विदेशमा रहेका नेपाली नागरिकबारे : संक्रमण रोकथाम, नियन्त्रण र उपचारको प्रक्रियालाई यस रुपमा अघि बढाउने क्रममा अर्को एक संवेदनशील विषयमा ध्यानाकर्षित हुनु स्वाभाविक छ । संक्रमण देखापरेका देशमा रहेका नेपाली नागरिकलाई कसरी सम्बोधन गर्ने ? कतिपयले सकारात्मक मनसायले उनीहरुलाई देशभित्र ल्याउनुपर्छ भनिरहेको पाइन्छ । यो भावनात्मक शुभचाहना हो । तर, अहिले नै व्यवहारिक एवं सम्भव देखिँदैन । यतिबेला ती सबैजसो देश लकडाउनमा छन् र यातायात सेवा पनि बन्द छन् । यस्तो अवस्थामा ३०/४० लख नेपालीलाई देशभित्र ल्याउन सम्भव हुन्छ र ? त्यसैले असम्भव भावनात्मकतामा बग्नु भन्दा त्यहाँ रहेका नेपालीको स्वास्थ्य सुरक्षा र जीविकाका निम्ति हाम्रा नियोगहरुको प्रभावकारी परिचालन र मूलतः कुटनीतिक पहलद्वारा सम्बन्धित देशका सरकारको गम्भीर ध्यानाकर्षणद्वारा समर्थन, सहयोग हासिल गर्नमा जोड दिनुपर्छ ।

सार्वजनिक स्वास्थ्य प्रणालीमा जोड : संसारका धेरै देशमा जस्तै हाम्रो देशमा पनि उपचारात्मक स्वास्थ्य प्रणाली (क्लिनिकल हेल्थ) मा जोड दिने र सार्वजनिक स्वास्थ्य (पब्लिक हेल्थ) लाई कम महत्व दिने गरिएको छ । जनस्वास्थ्य क्षेत्र क्लिनिकल हेल्थको तुलनामा उपेक्षितजस्तै छ । जब कि जनस्वास्थ्य प्रणालीको प्रभावकारिताले उपचारात्मक स्वास्थ्य प्रणाली (क्लिनिकल मेडिसिन)ले भन्दा धेरै मानिसको ज्यान बचाएको विश्व अनुभव छ र बचाउन सक्छ । कोभिड–१९ को महामारीसँग जुधिरहँदा हामीले लिनुपर्ने महत्वपूर्ण शिक्षा यो पनि हो, समग्र स्वास्थ्य सेवा प्रणालीलाई विकसित गर्ने क्रममा उपचारात्मक स्वास्थ्य प्रणालीलाई मात्र होेइन, सार्वजनिक जनस्वास्थ्य प्रणालीको विकासमा पनि विशेष जोड दिनुपर्छ ।

त्यसो त यस प्रकारका परिघटनाले सबै प्रकारका प्राकृतिक विपत्तिको सामना गर्न दूरगामी दृष्टिका साथ आवश्यक तयारी गर्नुपर्ने कार्यको महत्वलाई आत्मसात् गर्नुपर्ने शिक्षा पनि दिएको छ ।

स्वयंसेवक बन्ने तत्परता : कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि ‘लकडाउन’सहित ‘होम क्वारेन्टाइन’को आवश्यकता र आह्वानलाई आत्मसात् गर्दै नेपाली जनता घरभित्रै बसिरहेका छन् । त्यो सही छ । तर, राष्ट्रले आवश्यक देखेमा र सरकारले आह्वान गरेमा नागरिकहरु स्वयंसेवक बन्न पनि तयार हुनुपर्छ । त्यस्तो तत्परता प्रदर्शन गर्नुपर्छ ।

राज्यको योजनामा स्वास्थ्य सुरक्षाका आवश्यक प्रोटोकलको अवलम्वन गर्दै स्वयंसेवक रुपमा परिचालित हुन पनि आफूलाई तयार गर्नुपर्छ । अझ युवा, विद्यार्थी र स्वास्थ्यकर्मीहरुले त्यसका निम्ति उच्च तत्परता देखाउने बेला हो यो । त्यसका लागि मानसिक रुपमा तयार रहनुपर्छ ।

कतिपय देशमा उपचारमा सक्रिय डाक्टर, नर्सको विरामीको उपचार गर्दागर्र्दै संक्रमण भएर मृत्यु भएको हामीले देखेका छौं । देशले, राज्यले आवश्यक देखेर आह्वान गरेको अवस्थामा पनि हामी घरभित्र मात्रै बसिरहन्छौं भन्ने स्थिति रहनुहँुदैन । व्यक्तिगत रुपमा आफूखुशी स्वयं सेवाको नाममा निस्कनु भने हुँदैन । सरकारको आह्वान एवं संस्थागत योजनामा स्वास्थ्य प्रोटोकलको पालनासहित गरिनु पर्छ ।

क्वारेन्टाइनमा रहँदा के गर्ने : घरमा क्वारेन्टाइनमा बस्दा कसरी समय बिताउने ?

एक, घरमा रहेर नै कार्यालय, नोकरी वा व्यवसायको काम गर्न सक्नेले आफ्नो काम गरौं ।

दुई, आफ्नो शरीर, घरभित्र र बाहिर राम्रोसँग सफा गरौं । सम्भव भएसम्म सन्तुलित र पौष्टिकयुक्त खाना बनाऔं र खाऔं । योग, ध्यान र अध्ययन गरांै । राम्रा चलचित्र हेरौैं । धेरैजसोले नियमित कामले गर्दा परिवारका सदस्यसँग समय बिताउन पाइरहेका हुँदैनन् । यो समयको सदुपयोग गरौं । पारिवारिक छलफल गरौं र योजना बनाऔं ।

तीन, यतिबेला सामाजिक भौतिक दूरी कायम गर्ने हो । तर, त्यो भनेको फोन, सामाजिक सञ्जाल प्रयोग नगर्ने होइन । फोन र सामाजिक सञ्जालबाट सम्पर्क, अन्तरक्रिया गरौं । अन्य कुराका अतिरिक्त कोभिड–१९ बाट बच्न सूचना, सुझाव आदान–प्रदान गरौं ।

चार, कोभिड–१९ बाट आतङिकत हुने, डराउने, निराश हुने, चिन्ताग्रस्त हुने, झोक्राउने काम नगरौं । चिन्ता होइन, चिन्तन गरौं । चिन्ता र अनिद्राले प्रतिरोध शक्ति पनि कमजोर बनाउँछ । सहजसँग समय बिताऔं ।

हामी सबैले मिलेर आ–आफ्नो ठाउँबाट आवश्यक भूमिका निभाएर कोभिड–१९ महामारीविरुद्धको महाअभियानलाई सफल पार्न सकिन्छ र पार्नैपर्छ । यतिबेला हामीले छिमेकी देश, मित्रराष्ट्र, विश्व संस्थासँगको पारस्परिक सहयोगात्मक सम्बन्ध कायम गर्दै आफ्नो देशमा यसको रोकथाम र नियन्त्रणमा ध्यान केन्द्रित गर्नुपर्छ । तर, अन्ततः सिंगो विश्व समुदायको एकतावद्ध पहल, सहकार्य र सक्रियताबाट नै यस विरुद्धको संघर्षलाई विजयमा पुर्‍याउन सकिनेछ ।

२. कोभिड १९ र अर्थतन्त्र

कोभिड–१९ महामारीको अहिलेको सन्दर्भमा यसको संक्रमण नियन्त्रण र मान्छेको जीवनरक्षा नै तत्कालको प्रमुख प्राथमिकता बनिरहेको छ, जुन स्वाभाविक हो । तर, यसको प्रभाव एवं परिमाण बहुआयामिक र दूरगामी छन् । त्यसैले कोभिड–१९ को महामारी स्वास्थ्य समस्या मात्र रहेन । यसले विश्व, देश, समाज र मानवजीवनलाई चौतर्फी प्रहार गरेको छ र समय बित्दै जाँदा यो झन् गम्भीर एवं भयावहरुपमा देखा पर्नेछ । यसरी प्रभावित भएको एउटा मुख्य क्षेत्र अर्थतन्त्र हो भन्ने कुरा महामारीको छोटो अवधिमा नै छर्लङ्ग भइसकेको छ ।

क्रमशः ओरालो लागिरहेको र आर्थिक मन्दीको आशंकामा परिसकेको विश्व अर्थतन्त्र कोभिड–१९ बाट उत्पन्न परिस्थितिका कारणबाट २००८ को आर्थिक मन्दीपछिको अर्को ठूलो आर्थिक मन्दीको शिकार हुने निश्चित प्रायः छ भन्ने कुरा सम्बन्धित विज्ञ र अनुसन्धानकर्ताहरुले बताइसकेका छन् ।

संयुक्त राष्ट्र संघका महासचिव गुटेरसले रेकर्ड राख्ने स्तरको आर्थिक मन्दी अवश्यम्भावी भएकाले चेतावनी दिँदै यसको सामना गर्न आवश्यक पहलका लागि आह्वान गरिसकेका छन् । अन्तर्राष्ट्रिय श्रम संगठनको नेतृत्वले पनि अर्थतन्त्र र मजदुरले असाधारण विपत्तिको सामना गर्ने अवस्था आउने यथार्थप्रति गम्भीर ध्यानाकर्षण गराएका छन् । अहिले नै बेरोजगारी, महंगी, अभाव, उद्योग कलकारखाना बन्द, मजदुरको निष्कासनदेखि करोडौं जनसंख्या भोकै पर्ने अवस्थातिर धकेलिँदैछ ।

यसलाई ध्यान दिँदै विभिन्न देशका सरकारले अर्थतन्त्र र जनजीविकामा देखापरेको संकटलाई ‘सम्वोधन’ गर्न आ–आफ्नो दृष्टिकोण एवं सामथ्र्यअनुसार आर्थिक राहत प्याकेजको घोषणा गरेका छन् । अमेरिकाले २.२ ट्रिलियन डलर र भारतले भारु. १ सय ७० लाख करोडको प्याकेज घोषणा गरिसकेको छ । अरु विभिन्न देशले पनि यस्तै घोषणा गरिरहेका छन् र गर्ने क्रममा छन् । यद्यपि घोषित राहत प्याकेजले आर्थिक संकटको सम्बोधन एवं समाधान कति गर्न सक्छ भन्ने बारेमा आशंका एवं बहस पनि भई नै रहेका छन् ।

हाम्रो देश नेपाल पनि यो परिदृश्यबाट अलग, अछुतो रहन सक्ने कुरा भएन, छैन । अहिले नै पर्यटन उद्योग, व्यवसाय ठप्प भइसकेको छ । सेवा र निर्माण क्षेत्र नराम्ररी प्रभावित भइसकेको छ । विप्रेषणले ठूलो भूमिका खेलेको हाम्रो अर्थतन्त्रमा गन्तव्य मुलुकले सामना गरिरहेको ‘लकडाउन’ र हाम्रो ‘लकडाउन’को असर सहजै अनुमान लगाउन सकिन्छ । व्यापार, व्यवसाय र अन्य उद्योगधन्दामा पनि स्वाभाविक असर परिसकेको छ र आगामी दिनमा नराम्ररी प्रभावित हुने खतरा छ । सबभन्दा ठूलो संकट त दिनदिनै ज्याला – मजदुरी गरेर दैनिक गुजारा चलाइरहेका असंगठित क्षेत्रका श्रमिकहरुले सामना गरिरहेका छन् । उनीहरुलाई विहान–बेलुकी छाक टार्ने समस्याले गाँज्न थालिसकेको छ । हाम्रो सरकारले अवश्य पनि यी सबै कुरालाई मध्यनजर गरेर आवश्यक नीति, योजनासहित राहत प्याकेजको गृहकार्य गरिरहेको छ र छिट्टै घोषणा गर्नेछ भन्ने विश्वास गर्न सकिन्छ ।

सरकारले कोभिड–१९ को उपचारसहित अनिवार्य स्वास्थ्य सेवालाई सुचारु रुपले सञ्चालन गर्न आवश्यक औषधी र स्वास्थ्य सामग्रीको आपूर्ति व्यवस्थालाई सहज बनाउन पहिलो प्राथमिकता दिनुपर्ने कुरा स्वतः स्पष्ट छ । त्यसबाहेक आम जनजीवनसँग जोडिएका दुई क्षेत्रलाई प्राथमिकता दिएर आफ्नो नीति, योजना र राहत प्याकेज घोषणा गर्नुपर्छ ।

एक, दैनिक जीवनका लागि अत्यावश्यक उपभोग्य वस्तु (ग्यास, तेल, खाद्यान्न आदि)लाई आम जनताले सहजै प्राप्त गर्न सक्ने गरी आपूर्ति व्यवस्था मिलाउने । दुई, दैनिक ज्यालादारीमा बिहान, बेलुकाको छाक टार्ने श्रमिकलाई तत्काल पर्ने संकटबाट मुक्त गर्ने ।

यसलाई प्राथमिकता दिँदै विपन्न, किसान, संगठित क्षेत्रका मजदुर, राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, सानाठूला उद्योगी, व्यवसायी र समग्र अर्थतन्त्रले सामना गर्नुपर्ने संकटको आँकलन गरेर प्राथमिकताक्रम निर्धारण गरी राहत दिने नीति लिनु आवश्यक छ ।

अहिलेको सरकार युगान्तकारी राजनीतिक परिवर्तनपछिको जनादेश प्राप्त सरकार हो । यो कम्युनिस्ट पार्टीको सरकार हो । यो आम जनताको, श्रमजीवीवर्ग र उत्पीडित समुदायको सरकार हो । तसर्थ, हाम्रो सरकारले ‘भाइरसबाट मर्न दिन्नौं, भोकै मरे मर’ कुनै पनि हालतमा भन्दैन भन्ने कुरा व्यवहारबाटै स्पष्ट पार्नेछ ।

राजनीतिक दल, आम जनता र समाजका विभिन्न तह एवं तप्काले पनि केही समय कठिनाइको सामना गर्न एवं कष्ट बेहोर्न तयार छौं, यो संकटबाट देशलाई पार लगाउन आ–आफ्नो ठाउँमा भूमिका खेल्न र सरकारलाई सहयोग गर्न तयार छौं भन्ने संकल्पसहित व्यवहार गर्न आवश्यक छ ।

३. दृष्टिकोण र प्रणालीको सवाल

कोभिड–१९ महामारीसँग जुझ्दै गर्दा यो समस्या स्वास्थ्य क्षेत्रको समस्या मात्र होइन भन्नेमा सबै सहमत छन् । यो समस्या अर्थतन्त्रको क्षेत्रमा गम्भीर संकटको रुपमा विस्तारित भएको छ भन्नेमा पनि सबै सहमत छन् ।

के कारणले त्यति विकसित भनिएको अमेरिकाको हालत यस्तो भयो होला ? आकस्मिक महामारीले थप्ने समस्या बुझ्न सकिन्छ । तर, यो स्तरको अव्यवस्थाको कल्पना सायद कसैले गरेका थिएनन् होला । यस्तो किन भयो होला ?

तर, त्यसभन्दा अगाडि बढेर यो समग्र जीवन दृष्टिकोण र सामाजिक, आर्थिक, राजनीतिक प्रणालीसँग सम्बन्धित पनि छ भन्ने बहस गम्भीरतापूर्वक उठेका छन् । यद्यपि प्रश्न र छलफल यो बिन्दुसम्म आइपुग्दा भने स्वाभाविकरुपमा यसमा आम सहमति छैन । सजिलै र छिट्टै यो सम्भव पनि देखिँदैन । तर, यो छलफल र बहस गम्भीररुपमा अघि बढ्ने र मानवजातिको उज्ज्वल भविष्य चाहने धेरैको दिमाग तरंगित पार्दै जाने भने निश्चित छ । यो प्रश्न वरिपरिको छलफल दुई दिशामा अभिमुख हुनेछ ।

एउटा, स्वास्थ्य क्षेत्रका सुधार र २००८ को जस्तो आर्थिक मन्दीको चक्रलाई तात्कालिक रुपमा कसरी चिर्ने भन्नेमा सीमित हुनेछ । त्यो अन्ततः यथास्थितिवाद नै हुनेछ । अर्को, बेरोजगारी, गरिबी, अभाव, रोगव्याधी, आर्थिक मन्दी, जलवायु संकट, प्राकृतिक विपत्ति, महामारी, युद्धजस्ता समस्यालाई समग्रतामा समाधान गर्न दृष्टिकोण र सामाजिक प्रणालीमा नै परिवर्तन आवश्यक छ ।

सबै समस्याको एकमुष्ट समाधान गर्ने कुनै जादुको छडी नभए पनि त्यसबाट मानवजातिलाई मुक्ति र स्वतन्त्रताको दिशामा अभिमुख गराउन सम्भव हुनेछ । प्रश्न, छलफल र बहसको यी दुई दिशाको सार्थक निरुपण र संश्लेषणले नै मानवजातिको भविष्य निर्धारण गर्नेछ भन्न सकिन्छ । तर, यसको निरुपण छलफल, बहस, संघर्षले कहिले, कुन रुपमा गर्ला भन्ने चाहिँ स्पष्ट भइसकेको छैन ।

अहिलेको कोभिड–१९ को महामारी विश्वव्यापी बनेको छ । अहिलेसम्म सबभन्दा बढी संक्रमण अमेरिकामा देखिएको छ । त्यस्तै युरोपका इटाली, स्पेनलगायत पश्चिमा विकसित देश यसको चपेटामा नराम्रोसँग पररेका छन् । हामी सबैको चाहना छ, अमेरिकालगायत सबै देशमा संक्रमण नियन्त्रण होस् र संक्रमित कसैको थप मृत्यु नहोस् ।

तर, केहीे तथ्यले सबैको मथिङ्गल हल्लाइरहेको छ । उच्च आर्थिक वृद्धि र भौतिक विकासमा अग्रणी रहेको अमेरिकामा अहिले चिकित्सक र नर्स सामान्य सर्जिकल माक्स नपाएर, पीपीई नपाएर विचल्लीमा परेका छन् । परीक्षणका लागि प्रयोगशाला तुलनात्मकरुपमा असाध्यै न्यून संख्यामा देखिएका छन् ।

अस्पतालमा आईसीयु र भेन्टिलेटर सोचेभन्दा कम पाइयो, स्वास्थ्य सेवा प्रणाली कमजोर देखियो र स्वास्थ्यकर्मीलाई तलबसहितको विरामी विदाको सुनिश्चितता पनि रहेन छ । तर, के कारणले त्यति विकसित भनिएको अमेरिकाको हालत यस्तो भयो होला ? आकस्मिक महामारीले थप्ने समस्या बुझ्न सकिन्छ । तर, यो स्तरको अव्यवस्थाको कल्पना सायद कसैले गरेका थिएनन् होला । यस्तो किन भयो होला ? के नाफा नै जीवनको चालकशक्ति तथा मूल उद्देश्य ठान्ने, मान्छे, विज्ञान, कला, प्रेम सबैलाई क्रय–विक्रयको वस्तु (कमोडिटी) ठान्ने र बजारलाई ‘भगवान्’ (मार्केट गड) ठान्ने पुँजीवादी दृष्टिकोण र प्रणालीको परिणाम होइन यो ?

एन कोरोना भाइरसबाट उत्पन्न कोभिड १९ महामारी निश्चय पनि प्राकृतिक विपत्ति हो । तर, के यो प्राकृतिक प्रकोप मात्र हो या यो मूलतः प्राकृतिक विपत्ति हो ? यसबारेमा पनि गम्भीररुपमा घोत्लनुपर्ने आवश्यकता छ । के हाम्रो यान्त्रिक भौतिक विकासवादी दृष्टिकोण र उपभोक्तावादी जीवन आचरण यसको निम्ति जिम्मेवार छैन ? पुँजीवाद र उपभोक्तावादले तात्कालिक स्वार्थका लागि प्रकृति नष्ट गरेर जलवायु तथा वातावरणीय संकट निम्त्याएजस्तै त्यो भाइरसको उत्परिवर्तन र रोगको बाहक बन्ने स्थितिको विकासका निम्ति पनि जिम्मेवार छैन ?

शोषण, असमानता, गरिबीले रोगको महामारी फैलिन मद्दत गर्दैन ? अनि यसले महामारीको नियन्त्रणमा समस्या उत्पन्न गर्दैन ? अनि के यसबाट उत्पन्न अन्य परिमाणात्मक संकट झन् गहिरो हुँदैन ? त्यसैले पुँजीवादअन्तर्गत जलवायु संकट र वातावरणीय प्रदूषणको समस्या समाधान गरेर पृथ्वी र मानवजातिको भविष्य सुरक्षित गर्न असम्भव देखिएजस्तै यस्ता महामारीबाट मानवजातिलाई जोगाउन पुँजीवाद अन्तर्गत सम्भव छ त ? यी विषयमा गम्भीरतापूर्वक घोत्लिनु आवश्यक छ ।

हरेक संकट अवसर पनि बन्न सक्छ । अहिलेको विश्वमहामारीले पनि विश्व मानवजातिलाई एउटा राम्रो अवसर दिन सक्छ आत्मसमीक्षा र परिवर्तनको । यसको सदुपयोग गरौं ।

प्रकृतिलाई नष्ट गर्ने कार्य मूलतः पुँजीवादले गरे पनि आज विश्वमा आमरुपमा स्थापित भएको भौतिकवादी विकास ढाँचालाई नै अंगीकार गर्ने हो भने कसैले पनि प्रकृतिको रक्षा गर्न र प्रकृतिसँगको सहबासमा मात्र हुन सक्ने मानवजातिको रक्षा तथा विकास गर्न सक्दैन ।

त्यसैले, समाजवादी दृष्टिकोण एवं प्रणाली, प्रकृतिमैत्री, जैविक, समावेशी, सामाजिक न्यायसहितको विकासको मोडेल र तदनुरुप जीवनमूल्य एवं आचरण मानवजातिको सामूहिक विकास र स्वतन्त्रता यात्राका लागि आवश्यक छ । अध्यात्मका योग, ध्यानसहित स्वरुपान्तरणका कतिपय महत्वपूर्ण सकारात्मक पक्षलाई आत्मसात् गर्नु पनि उपयुक्त हुनेछ । यो पूर्णरुपमा विज्ञानसम्मत छ ।

( राष्ट्रियसभा सदस्य श्रेष्ठ नेकपाका प्रवक्ता हुन् )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment