Comments Add Comment

व्यावसायिक दूध किसान भन्छन्– लकडाउनले ढाडै भाँचियो

किसानलाई प्रजिअको जवाफ– दूध सहकारीको अध्यक्ष पनि मै बनिदिनुपर्यो

१७ चैत, चितवन । पश्चिम चितवनको चोकबजारमा रहेको अन्नपूर्ण दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष ऋषिराम चापागाईले चार दिनअघि लकडाउनमा दूध किसानका समस्या राख्दै प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईलाई फोन गरे । प्रजिअ भट्टराईलेले चापागाईका कुरा त सुने तर मुख बन्द हुने गरी जवाफ फर्काए, ‘ए अब दूध सहकारीको अध्यक्ष पनि मै बनिदिनुपर्यो ।’

प्रजिअका यस्ता कुरा सुनेपछि चापागाईले निराश हुँदै फोन राखे । कोरोनाको त्रास र लकडाउनले गर्दा जिल्लाका व्यावसायिक दूध किसानहरू निकै मर्कामा परेका छन् । उनीहरूले उत्पादित दूध बिक्री गर्न सकिरहेका छैनन् ।

एकातिर उपभोक्ताले दूध खान पाएका छैनन् भने अर्कातिर किसानलाई दूध कहाँ लगेर बेच्ने भन्ने पिरलो छ । भरतपुर–६ केशरबाग चोकबजारका गाई किसान हरि चापागाईले भने, ‘गाईलाई अहिले लकडाउन छ, दूध नदे भन्ने कुरा भएन, गाईले दूध त दिइनै हाल्छ, दुहुनै पर्यो । घाँस, कुँडो, पानी र दानाचोक्कर खुवाउनै पर्यो ।’

 

एकातिर उपभोक्ताले दूध खान पाएका छैनन् भने अर्कातिर किसानलाई दूध कहाँ लगेर बेच्ने भन्ने पिरलो छ

अन्नपूर्ण सहकारीमा दिनको झण्डै ८ हजार ३ सय लिटर संकलन हुँदै आएको छ । अन्नपूर्णको आफ्नै गाइ स्रोतकेन्द्र पनि छ । यहाँबाट दैनिक ५ सय लिटर दूध दैनिक उत्पादन हुन्छ । तर दूध बिक्री गर्न नसक्दा किसानहरू चिन्तित बनेका छन् ।

अन्नपूर्णले दैनिक ४ हजार लिटर दूध दैनिक प्याकेजिङ गरेर बजारमा बेच्ने गरेको थियो । बाँकी दूध डीडीसी र आधुनिक डेरीले उठाउँदै आएका थिए । अहिले न त दूध प्याकेजिङ गरेर बेच्न सकिएको छ न त, डीडीसी र आधुनिक डेरी नै आएर उठाएका छन् । सहकारीसँग ८ हजार लिटर अट्ने कोल्ड स्टोर त छ तर, दैनिक दूध नै ८ हजार ३ सय लिटर उत्पादन हुने भएपछि एकदिनको दूध राख्न सक्ने अवस्था पनि छैन । किसानहरूले दूध बेचेर आउने पैसाबाट गाईलाई दाना चोक्कर र औषधि खुवाउँदै आएका थिए तर दूध नै बिक्री भएपछि गाईलाई खुवाउने दाना र चोक्करकै अभाव भएको छ । अध्यक्ष चापागाईले भने, ‘किसानको अर्थतन्त्र ड्यामेज भयो । कतैबाट पनि समाधान पाइएन ।’ उनले सरकारी निकायहरूसँग दूधका बारेमा हारगुहार गरे पनि कतैबाट समाधानको बाटो नपाएको बताए ।

‘किसान साथीहरू त दूध र आक्रोशलाई सडकमा एकैपटक पोख्ने भन्नुहुन्छ तर हामीले सम्झाउनुपरेको छ,’ अध्यक्ष चापागाईले भने । सरकारले दूधलाई अत्यावश्यक वस्तुअन्तर्गत राखेर ढुवानीमा केही समस्या नहुने बताए पनि उपभोक्ताहरूसमक्ष लैजान समस्या हुँदै आएको छ ।

अन्नपूर्णमा दैनिक ४५० किसानहरूले दूध संकलन गर्दै आएका छन् । अहिले दूधको उत्पादन बढाउन अन्नपूर्णमा आबद्ध किसानहरूले गाई पनि थपेका थिए । सोही कारण दूध बढेर चार हजारबाट ८ हजार ३ सय लिटर पुगेको थियो ।

अन्नपूर्णमा दूधको विविधीकरण गर्ने भनेर मेसिन पनि ल्याइएको छ । तर, दूधबाट विभिन्न परिकार बनाए पनि त्यसलाई बजारमा बेच्न नसक्ने अवस्था आएको छ । अधिकांश दुग्ध संकलन सहकारीहरूले दूध संकलन गर्न छाडेका छन् ।

व्यावसायिक पशुपालन तथा दुग्ध उत्पादक कृषक समाजका केन्द्रीय अध्यक्ष आनन्द न्युरेले भारतीय नाकाबन्दीभन्दा पनि अहिले किसानहरूलाई मर्का परेको बताए । ‘न त सञ्चय गरेर राख्न मिल्ने, न त आफूले मात्रैं खाएर सकिने । कस्तो फसाद आइलाग्यो,’ अध्यक्ष न्युरेले भने ।

न्युरेले ४० बटा गाईबाट दैनिक २ सय ५० लिटर दूध उत्पादन गर्ने गरेका छन् । जिल्लामा दैनिक करिब ३ लाख लिटर दूध उत्पादन हुनेमा करिब १ लाख ४० हजार यहीँ नै खपत हुन्छ । बाहिरी जिल्लामा १ लाख ६० हजार बाहिर जान्थ्यो । चितवनमा १ सय १० वटा दुग्ध सहकारी छन्

व्यावसायिक पशुपालन तथा दुग्ध उत्पादक कृषक समाजमा चितवनका झण्डै ५ सय बढी किसान आबद्ध छन् ।

चितवनमा करिब ३ सय साना डेरी छन् । चितवनमा डीडीसीका ८ र निजीक्षेत्रका करिब १० वटा र सहकारीका २० वटा चिस्यान केन्द्र छन् । यी चिस्यान केन्द्रमा एक दिनको दूध मात्रै राख्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment