Comments Add Comment

घरको ग्यारेजबाटै कम्पनी हाँक्दै इन्स्टाग्रामका सीईओ

इन्स्टाग्रामका सीईओ एडम मोसेरी अहिले आफ्नै घरको ग्यारेजबाट कम्पनी हाँकिरहेका छन् ।

घरबाटै कम्पनी हाँकिरहँदा कस्तो अनुभूति भैरहेको छ भन्ने प्रश्नमा उनी भन्छन्, ‘सामान्य अवस्थामा मैले मेरो ग्यारेजबाट काम गर्दिनथेँ ।’

इन्स्टाग्राम तथा यसको मातृ संस्था फेसबुकले आफ्ना सबै कर्मचारीलाई घरमै बसेर काम गर्ने नियम लागू गरेसँगै सीईओ मोसेरीले पनि घरको ग्यारेजबाटै कम्पनीको कमाण्ड सम्हालिरहेका छन् ।

वर्षौँदेखि सोसल मिडिया प्रयोगकर्ताहरूका लागि इन्स्टाग्राम यात्रा र अनुभूति पोख्ने माध्यम बनिरहेको छ । करोडौँ प्रयोगकर्ताहरूले यो प्लाटफर्ममा नयाँनयाँ ठाउँ घुमेका चिटिक्कका तस्वीरहरू अपलोड गर्ने गर्दछन् । तर अहिले इन्स्टाग्रामका सीईओ मोसेरी आफैंले प्लाइउडले बारेको आफ्नो ग्यारेजको एउटा कोठाबाट यो कम्पनीको व्यवस्थापन चलाइरहेका छन् र इन्स्टाग्रामका प्रयोगकर्ताहरूलाई पनि आफूजस्तै घरभित्रै बस्न अनुरोध गरिरहेका छन् ।

कोरोना भाइरसको सन्त्रासका बीच प्रयोगकर्ताहरूलाई घरभित्रै बस्नका लागि उत्प्रेरित गर्न केही दिनअघि इन्स्टाग्रामले Stary at Home नामक फिचर सुरु गरेको छ । उक्त नयाँ फिचरको ट्याब इन्स्टाग्राम फिडको स्टोरीज सेक्सनमा सबैभन्दा माथिल्लो भागमा देखिन्छ ।

यो फिचरको नामबाटै प्रष्ट हुन्छ कि यसले प्रयोगकर्ताहरूलाई घरभित्रै बसिरहँदाको अनुभूति शेयर गर्ने मौका प्रदान गर्दछ । यो फिचर यति धेरै लोकप्रिय बनिरहेको छ कि सुरुवातका दिनमा अत्यधिक प्रयोगकर्ताका कारण झण्डै साइट नै डाउन हुने अवस्था आएको थियो । जसको खुलासा सीईओ मोसेरीले गरेका छन् ।

यसले पनि कोरोना भाइरसको महामारीका बेला प्रयोगकर्तामा सचेतना तथा सोसल मिडिया प्रयोगको नयाँ अनुभूति प्रदान गर्नका लागि सीईओ मोसेरी र इन्स्टाग्रामको टिम कसरी लागिपरेको छ भन्ने देखिन्छ ।

सिएनएनसँगको कुराकानीमा मोसेरीले भनेका छन्, ‘हाम्रा जनशक्तिहरू र खासगरी मोडेरेटरहरूले घरबाटै काम गरिरहेको अवस्थामा हामीले विभिन्न चुनौतीहरू सामना गरिरहनु परेको छ ।’

घरबाटै काम गर्नुपर्दा व्यक्तिगत कार्यदक्षतामा कमी आउनु स्वभाविक भए पनि यसको विकल्प नभएको र प्रयोगकर्ताहरूलाई प्लाटफर्ममा सुरक्षित बनाइ राख्नका लागि सिर्जनात्मक उपायको खोजी गरिरहनु अति आवश्यक भएको उनको भनाइ छ ।

स्मरण रहोस् इन्स्टाग्रामले पछिल्लो समयमा कोरोना भाइरसका विषयमा आफ्नो प्लाटफर्ममा गलत सूचना तथा अतिरञ्जना रोक्नका लागि विभिन्न प्रयास गरिरहेको छ । यसका लागि प्रयोगकर्ताको इन्स्टाग्रामको न्यूजफिडमा सबैभन्दा माथिल्लो भागमा सम्बन्धित देशका आधिकारिक स्वास्थ्य सम्बद्ध निकायहरूको वेबलिंक देखिने बनाइएको छ । त्यस्तै अन्य सोसल मिडियाले जस्तै इन्स्टाग्रामले पनि विश्व स्वास्थ्य संगठनका सूचनाहरूलाई पनि प्रमुखताका साथ प्रवाहित गर्ने गरेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment