
१८ चैत, काठमाडौं । बेलायतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) बाट तीन सय ९३ जनाको मृत्यु भएको छ ।
बेलायतको नेशनल हेल्थ सर्भिस (एनएचएस) ले दिएको जानकारीअनुसार बेलायतमा मंगलबारसम्म यो भाइरसबाट मृत्यु हुनेको संख्या एक हजार आठ पुगेको छ । पछिल्लो २४ घण्टामा बेलायतमा एकैदिन सबैभन्दा धेरै मानिसको मृत्यु भएको हो ।
द इन्डिपेन्डेन्टले उल्लेख गरेअनुसार पछिल्लो २४ घण्टामा इंगल्याण्डमा तीन सय ६७, स्कटल्याण्डमा १३, वेल्समा सात र उत्तरी आयरल्याण्डमा छ जना मानिसको ज्यान गएको हो । बेलायतमा यो भाइरसबाट संक्रमित हुनेको संख्या २५ हजार एक सय ५० पुगेको छ ।
केही दिनअघि मात्र एनएचएसका एक वरिष्ठ अधिकारीले बेलायतमा कोभिड–१९ बाट ज्यान गुमाउनेको संख्या एक लाखभन्दा कममा राख्नु ठूलो उपलब्धि हुनसक्ने बताएका थिए ।
एनएचएसका कर्मचारीको भिसा एक वर्ष थप
बेलायतले एनएचएसमा काम गर्ने विदेशी कर्मचारीको भिसा अवधि एक वर्ष थप गर्ने निर्णय गरेको छ । बेलायती गृहमन्त्री प्रिती पटेलले एनएचएसमा कार्यरत सबै विदेशी डाक्टर, नर्स र फर्माफेमिकल कर्मचारीको भिसाबिना कुनै शुल्क एक वर्ष थप गरिने बताएकी हुन् ।
अहिले एनएचएसमा २ हजार ८०० विदेशी मेडिकल कर्मचारीको भिसा आगामी अक्टोबर १ अघि सकिँदैछ । यो व्यवस्था उनीहरुको परिवारका लागि पनि लागू हुने बताइएको छ । कोभिड–१९ विरुद्ध लड्नमा सहयोग पुर्याएको भन्दै उनीहरुको भिसा थप गर्न लागिएको बताइएको छ । एनएचएसका समग्र १२ लाख कर्मचारीमध्ये १ लाख ५३ हजार विदेशी छन् ।
प्रतिक्रिया 4