Comments Add Comment

४० हजारभन्दा बढीमा परीक्षण हुँदैछ

संक्रमित चारैजना खतरामुक्त छन्, लकडाउन र क्वारेन्टाइन पालना गरौं

१९ चैत, काठमाडौं । सरकारले कोरोना संक्रमणको नमुना परीक्षण गर्न ल्याइएका र्‍यापिड टेस्ट किटहरु स्वास्थ्य अनुसन्धान परिषद्बाट गुणस्तर अनुसन्धान गरेरमात्र तलसम्म वितरण गर्ने भएको छ । ठूलो महामारी फैलिएका अवस्थामा तत्काल परीक्षण गर्नका लागि सरकारले खरिद गरेका किटहरु पनि अहिले वितरण गरिएको छैन ।

केही व्यवसायीले बजारमा ल्याएका किटहरुको गुणस्तरमा प्रश्न उठेपछि वितरणमा रोक लगाइएको स्वास्थ्य मन्त्रालयका सल्लाहकार डा. खेम कार्कीले बताए । सरकारले किनेका किटको गुणस्तरमा भने प्रश्न नउठेको उनको भनाइ छ । र पनि, तिनलाई गुणस्तर परीक्षणका लागि स्वास्थ्य अनुसन्धान परिषद्मा पठाइएको उनले बताए ।

धेरैभन्दा धेरै व्यक्तिमा कोरोना परीक्षण नगरी नेपाल ढुक्क हुने अवस्था नरहेको भन्ने टिप्पणी विज्ञहरुबाट आइरहेका बेला स्वास्थ्य मन्त्रालयका सल्लाहकार डा.कार्कीले विदेशबाट आएका र विभिन्न क्वारेन्टाइनमा रहेका ४० हजार जनाको एकैपटक परीक्षण गरिने बताए ।

नेपालमा हालसम्म कोरोना संक्रमण पुष्टि भएका पाँचैजना विदेशबाट आएका हुनाले देशभित्रैका मान्छेमा यसको जोखिम नरहेको उनले बताए । विदेशबाट आएका र उनीहरुले भेटघाट गरेकाहरु पहिचान गरिएको उनको भनाइ छ । हाल अस्पतालमा रहेका संक्रमित चारैजना खतरामुक्त रहेको र दुई सातामा पुनः परीक्षण गरेर उनीहरु घर फर्किने डा. कार्कीको भनाइ छ ।

अनलाइनखबरले डा.कार्कीसँग जनस्तरबाट उठेका केही प्रश्नको जवाफ मागेको छ ।

कोरोना संक्रमितको र्‍यापिड टेस्टका लागि ल्याइएका किट गुणस्तरहीन देखिएका हुन् ?

मैले पत्रकार सम्मेलनमा केही व्यापारीबाट स्वास्थ्य संस्थाले किनेका किटको गुणस्तरमा गुनासो आएपछि सरकारले गुणस्तर प्रमाणित नगरेका किट प्रयोग नगर्न भनेको थिएँ । अहिले सरकारले किनेका किट समेत स्वास्थ्य अनुसन्धान परिषद्लाई जिम्मा दिइएको छ । त्यसको अनुसन्धान गरेर सही सूचना दिएपछि वितरण हुने भनेका छौं । त्यो किट हामीलाई अहिले नै भन्दापनि धेरैमा संक्रमण देखिएका बेला आवश्यक पर्ने हो ।

कालोबजारी, दुई नम्बरी नहोस् भन्ने पक्षमा सरकार होसियार हुनैपर्छ । यो भनाइलाई केही साथीले नेपाल सरकारले ल्याएको किट नै गुणस्तरहीन भनेर बुझ्नुभएछ । सरकारले नै किनेको र्‍यापिड टेस्टिङ किट पनि हामीले स्वास्थ्य अनुसन्धान परिषद्लाई जिम्मा दिएका हौं । त्यसको क्वालिटी हेरिन्छ । त्यसपछि मात्रै वितरण गर्ने हो ।

अहिले प्रदेशहरुमा किट पठाइएको छैन ?

टेस्ट किट वितरण गरेकै छैन । अहिले जरुरी पनि छैन । अहिले त पीपीई र ल्याबहरुका लागि आवश्यक सामाग्रीहरु पठाइएको हो । पीपीई ग्लोबल स्ट्याण्डर्ड अनुसारका नै हुन्छन् । र्‍यापिड टेस्ट किटलाई चाहिँ हामी हाम्रै मापदण्ड अनुसार हेर्छौं । यसले सही सूचना दिन्छ भन्ने भयो भने वितरण गर्छौं ।

यो महामारीको पूर्व तयारी हो । हजारौं मान्छेमा संक्रमण भयो भने त पीसीआरको टेस्टबाटमात्र त पुग्दैन । टेस्टको क्षमता बढाउन स्टकका रुपमा राखेको हो । त्यो गुणस्तरीय भएन भने फिर्ता गर्छौं । त्यसैले गुणस्तर नहेरी टेस्ट किट वितरण गर्दैनौं भनेको ।

सरकारले अर्को चरणमा पनि चीनबाट मेडिकल सामग्री ल्याउँदैछ ?

अस्तिको सम्झौता अनुसार पनि २० प्रतिशतमात्रै सामान आएको छ । हामी नेपालभित्रै पनि सेनिटाइजर र पीपीई उत्पादनको सम्भावना हेरिरहेका छौं । गुणस्तर विभागले भर्खरै पीपीई र सेनिटाइजरको गुणस्तर निर्धारण गर्ने मापदण्ड बनाएको छ । गुणस्तरीय पीपीर्ई र सेनिटाइजर यही उत्पादन भयो भने त हामीलाई उता सम्झौता गरेपनि ल्याउनुपर्छ भन्ने छैन ।

यही गुणस्तरीय सामान उत्पादन हुने भयो भने उताको सामान आउँदैन । यहाँ उत्पादन भएन भने त ल्याउनुपर्ने हुन्छ । महामारी भयो भने अहिले हामीसँग भएका १५–२० हजार पीपीर्ई आठ–दश दिनमा सकिन्छ । त्यसैले स्टक गरेर आपुर्ति नियमित गर्नुपर्छ ।

फेरि चार्टर विमान चीन जाँदैछ भन्ने छ, सरकारले अर्को लट सामान ल्याउन होइन ?

निजी कम्पनीहरुले पनि सामान ल्याउन विमान चार्टर गरेका छन् । सरकारले गरेको सम्झौता अनुसारका सामाग्री आवश्यकता अनुसार ल्याउने हो ।

नेपालमा अहिलेसम्म हजार जनाको परीक्षण भएको छ । यति गरेर ढुक्क हुने अवस्था छ ?

अहिले एक हजार ३० जनाको परीक्षण रिपोर्ट आएको छ । पहिलो केस देखिएको दुई महिना भयो । ती व्यक्तिबाट कतै पनि संक्रमण भएन । अहिले उनी किताब पढेर मजाले घरमा बसेका छन् । उनको जस्तो लक्षण भएकाहरुलाई हामीले टेस्ट गरेका हौं । अलिकति ज्वरो आउनासाथ मान्छेहरु आफैं दौडेर आइहाल्छन् नि ।

विदेशबाट आएको मात्र होइन ज्वरो आएका सबैलाई स्क्रिनिङ गरेर टेस्ट गरिएको छ । स्वाब निकालेर टेस्ट गरिएको छ । अहिलेसम्म टेस्ट गरिएकामा ज्वरो आएका, शंका गरिएका सबै परेका छन् ।

विदेश नगएको, कोरोना संक्रमित देशबाट नआएहरु सबै नेगेटिभ देखिएका छन् । त्यसो भएको हुनाले अहिलेसम्म ‘लोकल ट्रान्समिसन’ भएको छैन भन्नेमा हामी ढुक्क हो । भोलि यहि स्थिति नरहनसक्छ भन्ने हिसाबले पूर्व तयारी गरिएको हो । भोलि अर्कै स्थिति देखियो भने व्यापक परीक्षण गर्नुपर्छ । सरकार त्यही तयारीमा छ ।

अहिले प्रदेशहरुमा गरिएको ल्याबको व्यवस्था र पठाइएका सामग्री पूर्व तयारीको लागिमात्र हो ?

क्वारेन्टाइनमा राखिएका मान्छेहरुलाई घर फर्काउनुअघि टेस्ट गर्नुपर्छ । उनीहरुलाई क्वारेन्टाइनमा राखेको १०–१२ दिन हुन लाग्यो । उनीहरुको पनि टेस्ट गर्न सामान पठाइराखेका छौं । त्यसको लागि प्रदेशस्तरमै क्षमता वृद्धि गरिएको हो ।

कतिजति मान्छेमा परीक्षण हुन्छ होला ?

क्वारेन्टाइनमा ठ्याक्कै कतिजना मान्छे बसेका छन् भन्ने अहिले मलाई थाहा भएन । ट्रेसिङ गरिएका चाहिँ करिब ४० हजार मान्छे हाम्रो सम्पर्कमा आइसकेका छन् । उनीहरु कोही होम क्वारेन्टाइनमा छन्, कोही स्थानीय तह र अन्य ठाउँमा तोकिएका क्वारेन्टाइनमा छन् ।

क्वारेन्टाइनबाट घर पठाउनुअघि सबैको टेस्ट गर्नुपर्छ । त्यसका लागि ल्याबको क्षमता बिस्तार गर्नुपरेको हो । अहिले बिरामी भएका शंकास्पदहरुको टेस्ट त हाम्रो एनपीएचएलले नै गरिरहेको छ ।

टेकुले गरिरहेको काम अब प्रादेशिक स्तरमै हुने हो ?

नामै र्‍यापिड टेस्ट भन्ने छ । त्यो जहाँसुकै पनि गर्न सकिने खालको सामान्य टेस्ट किट हो । त्यो पनि अहिले हामीले स्टक गरिराखेको हो । गुणस्तरीय छ भने प्रयोग गर्छौं, छैन भने फिर्ता गर्छौं ।

भोलि ठूलो संख्यामा संक्रमण भयो भने हामीलाई ती किट चाहिने हो । किटले दिएको रिपोर्टलाई पनि हामी पिसिआर ल्याबमा ल्याएर फेरि यकिन गर्छौं । र्‍यापिड टेस्ट किटले दिएको पोजेटिभ पनि नेगेटिभ हुनसक्छ । फल्स पोजेटिभ हुने सम्भावना हुन्छ । अहिले एचआइभीमा पनि हामी त्यही गरिरहेका छौं ।

देशका कुन–कुन ठाउँमा कोरोना संक्रमणको परीक्षण हुन्छ ?

टेकु बाहेक धरान, जनकपुर, हेटौंडा र पोखरामा हुन्छ । ती प्रादेशिक ल्याब हुन् । त्यसपछि धनगढी, सुर्खेत र बुटबलमा पनि हुन्छ ।

कोरोनाविरुद्धको लडाइमा हामी सही दिशामा छौं ?

छौं । क्वारेन्टाइन राम्ररी लागु भयो र लकडाउन राम्रोसँग पालना भयो भने नेपालमा संक्रमण फैलिँदैन भन्ने हाम्रो विश्वास छ । हाम्रो जस्तो देशको लागि लकडाउन सबभन्दा उत्तम विकल्प हो ।

अहिलेसम्म देखिएका संक्रमितहरुको सम्पर्कमा पुगेका मान्छेहरुको ट्रेसिङ भइरहेको त छ ?

सबैको ट्रेसिङ भइसकेको छ । परिवारका सदस्यहरुको स्वाब टेस्ट पनि भइसक्यो । परिवारका मान्छेहरुमा नेगेटिभ छ । फेरि, अर्को १४ दिनमा टेस्ट गर्छौं । सबैभन्दा पहिले त परिवारका मान्छेमा सर्ने हो । त्यहाँ नेगेटिभ छ । त्यसबाहेक अरु संसर्गमा आएका मान्छेहरुलाई क्वारेन्टाइनमा राखिएको छ । ती मान्छेहरुको पनि लक्षण देखियो भने तुरुन्तै टेस्ट हुन्छ । १४ दिनपछि त सबैको टेस्ट भइहाल्छ ।

संक्रमित चार जनाको स्वास्थ्य अवस्था कस्तो छ ?

उनीहरु सबैजना खतरामुक्त छन् । नेपालको लागि खुशीको कुरा के छ भने जति पोजेटिभ भएका छन्, उनीहरुलाई सिकिस्त बनाएको छैन । सामान्य किसिमका बिरामी हुन् उनीहरु । उनीहरु स्वस्थ भइसकेका छन्, तर पनि १४ दिनसम्म त राख्नैपर्छ ।

कोरोना भाइरसको आशंकामा स्वाब रिपोर्ट पर्खिँदा निमोनियाका बिरामीले उपचार नपाएर ज्यान गुमाउने अवस्था आएको छ । यसमा सरकार गम्भीर हुनुपर्दैन ?

यसबारे मेडिकल काउन्सिलले पनि भनिसकेको छ– ज्वरो आएका कसैलाई पनि कोरोना भाइरस लागेको आशंकामा पन्छाउन पाइँदैन । सर्वोच्च अदालतबाट यस्तै अन्तरिम आदेश जारी भएको छ । हामीले पनि आफ्ना ठाउँबाट गरिरहेका छौं ।

निजी अस्पतालहरुको यही रवैया रह्यो भने प्रचलित कानुन अनुसार कारवाही प्रक्रिया अघि बढ्छ । निजी अस्पताल र मेडिकल कलेजका अध्यक्षहरुले हामीकहाँ आएर प्रतिबद्धता जनाउनुभएको छ । सरकारले भनेका कुरामा निःशर्त सहयोग गर्छौं भन्नुभएको छ ।

छिटपुट रुपमा साना अस्पतालले गलत गरेका होलान्, ठूलाले गरेका छैनन् । ह्याम्स अस्पतालले हिजै मात्र बिरामीको स्क्रिनिङ गरेर ४० वटा स्याम्पल पठायो । त्यसमा इन्फ्लुएन्जाका बिरामीहरु देखिए भनेको छ । गल्ती गरेका साना अस्पतालहरुलाई पनि सच्चिन भन्छौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment