
२० चैत, काठमाडौं । नेपालमा छैटौं कोरोना भाइरस (कोभिड–१९)को संक्रमित भेटिएका छन् । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नेपालमा कोरोना संक्रमित व्यक्तिको संख्या ६ पुगेको जानकारी दिएका हुन् ।
छैटौं व्यक्ति पनि चैत ४ गते कतारको दोहाबाट कतार एयरवेजको विमान क्यूआर ६५२ बाट नेपाल आएको डा. विकास देवकोटाले जानकारी दिए ।
ती व्यक्ति कहाँका हुन् र कहाँ उपचाररत छन् भन्नेबारेमा भने मन्त्रालयले केही बताएको छैन ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका एक चिकित्सकले भने, ‘पछिल्लो संक्रमित पुष्टि भएको विरामी हाम्रोमा भर्ना भएको हो कि अन्तको हो थाहा छैन । हामी खोज्दैछौं ।’
पहिलो कोरोना संक्रमित व्यक्ति भने उपचारपछि निको भइसकेका छन् ।
दोस्रो संक्रमित व्यक्ति काठमाडौंकी १९ वर्षीया युवती हुन् । उनी फ्रान्सबाट दोहा हुँदै कतार एयरवेजको क्यू आर ६५२ जहाजबाट काठमाडौं आएकी थिइन् । उनमा चैत १० गते कोरोना संक्रमण पुष्टि भएपछि सरकारले देशभर लकडाउन घोषणा गरेको थियो ।
तेस्रो धादिङको, चौथो धनगढीको र पाँचौं बाग्लुङको व्यक्तिमा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।
कतार एयरवेजको क्यू आर ६५२ जहाजमा १५८ यात्रु थिए ।
अहिलेसम्म काठमाडौं र काठमाडौं बाहिर गरी १ हजार १ सय ८४ वटा नमूना परीक्षण गरिएको पनि डा. देवकोटाले जानकारी दिए । ४३ वटा काठमाडौंमा र १२ वटा धरानमा नमूना परीक्षणको क्रममा रहेको तथा सैनिक अस्पतालले १७ वटा स्वाब लिएको पनि उनले जानकारी दिए ।
डाक्टर देवकोटाका अनुसार १६ जना उपत्यकामा र ९९ बाहिर गरी मुलुकभर १ सय ५ जना आइसोलेसनमा छन् ।
प्रतिक्रिया 4