
२० चैत, काठमाडौं । विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूले एक अनलाइनमा प्रकाशित समाचार हटाइएकोबारे छानबिन गरेर दोषीमाथि कारबाही गर्न माग गरेका छन् ।
२१ जना सम्पादकहरूले बिहीबार एक विज्ञप्ति जारी गर्दै काठमाडौंप्रेस डटकमको समाचार हटाइएको विषयमा छानबिन गर्न माग गरेका हुन् ।
काठमाडौंप्रेसले छापेको ‘चीनबाट झिकाएका कमसल स्वास्थ्य सामग्रीको घोटाला प्रकरणमा सरकारका उच्च अधिकारीका आफन्त संलग्न’ शीर्षकको समाचार सामग्री हटाउन प्रधानमन्त्रीका आईटी सल्लाहकारको प्रत्यक्ष भूमिका रहेको विषयमा आफूहरूको ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ ।
नेपाल पत्रकार महासंघले पनि आजै विज्ञप्तिमार्फत यो विषयमा छानबिन हुनुपर्ने माग गरेको छ ।
यस्तै, सम्पादकहरूले केही अनलाइन समाचार साइट बन्द गराउन प्रेस काउन्सिलले गरेको सिफारिस संविधानको मर्मविपरीत भएको निष्कर्ष पनि निकालेका छन् ।
नेपाल प्रेस काउन्सिलले १९ वटा अनलाइनहरू नेपालमा प्रकाशन/प्रसारण हुन नपाउने गरी बन्द गर्न दूरसञ्चार प्राधिकरणलाई सिफारिस गरेलगत्तै सम्पादकहरूले त्यसमाथि आफूहरूको ध्यानाकर्षण भएको जनाएका हुन् ।
प्रतिक्रिया 4