Comments Add Comment

कोरोना भाइरसबाट जोगिन एक मिटरको दूरी पर्याप्त छ ?

२१ चैत, काठमाडौं । कोरोना भाइरसको महामारी विश्वभर फैलिएपछि जसले पनि मास्क लगाएको देखिन्छ । माग उच्च भएसँगै मास्क अभाव पनि भएको छ । के कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि धेरैभन्दा धेरै मानिसहरुले मास्क लगाउन जरुरी छ त ?

अब यो प्रश्नको जवाफ खोज्न विश्व स्वास्थ्य संगठनका विशेषज्ञहरुले सुरु गरेका छन् । विशेषज्ञहरुको समूहले कोरोना भाइरस हाछ्युँ गर्दा वा खोक्दा कति टाढासम्म जान्छ भनेर पत्ता लगाउनेछ ।

विश्व स्वास्थ्य संगठनको यस अनुसन्धान टोलीको नाम ‘स्ट्राटेजिक एण्ड टेक्निकल एडभाइजरी ग्रुप फर इन्फेक्सियस हाजार्डस्’ दिइएको छ । केही दिनमा यो टोलीले अनलाइन बैठक गरेर काम सुरु गर्नेछ ।

हाल विश्व स्वास्थ्य संगठनले नै हाछ्युँ गर्दा वा खोक्दा कोरोना भाइरस एक मिटरसम्म पुग्नसक्ने भन्दै मानिसहरुलाई सकेसम्म दुरी कायम गर्न सल्लाह दिँदै आएको छ ।

विशेषज्ञहरुको खोज हाछ्युँ गर्दा वा खोक्दा कोरोना भाइरस छदेखि आठ मिटरभन्दा पनि टाढा जानसक्छ कि सक्दैन भन्ने कुरामा केन्द्रित हुनेछ ।

अमेरिकामा हालै भएको एक अध्ययनले हाछ्युँ गर्दा कोरोना भाइरस छदेखि आठ मिटर टाढासम्म पुग्ने निष्कर्ष निकालेको थियो । यो अध्ययनको अगुवाई गरेका प्रोफेसर डेभिड हेम्यानले बीबीसीसँग भनेका छन्- यो नयाँ सोधबाट मास्क लगाउने तरिका र सल्लाहमा बदलाव आउनसक्छ ।

विश्व स्वास्थ्य संगठनका पूर्वनिर्देशक प्रोफेसर हेम्यानले भने, ‘नयाँ तथ्यलाई देखेर हामीले मास्क लगाउने हालको तरिका परिवर्तन गर्न आवश्यक छ कि छैन भन्ने कुरा पत्ता लगाउन एक पटक फेरि कोसिस गर्नेछौं ।’

अहिलेको निर्देशन कस्तो छ ?

हाल विश्व स्वास्थ्य संगठनले संक्रमणको खतराबाट जोगिनका लागि खोक्ने वा हाछ्युँ गर्ने व्यक्तिबाट कमसेकम एक मिटर टाढा रहनुपर्ने भनेको छ । किनभने खोक्दा वा हाछ्युँ गर्दा मुखबाट निस्किने थुकका ससाना छिटाबाट कोरोना भाइरस अन्य व्यक्तिलाई सर्छ । त्यसैले कोरोना भाइरस संक्रमणसँग मिल्दोजुल्दो लक्षण देखिने व्यक्तिहरुलाई मास्क लगाउन सल्लाह दिइएको छ, ता कि थुकका सानासाना छिटा अरु व्यक्तिलाई नलागोस् ।

यसैगरी, कोरोना भाइरस संक्रमितको उपचार र हेरचाह गर्ने व्यक्तिहरुलाई पनि मास्क र सुरक्षा पोशाक पीपीई लगाउन विश्व स्वास्थ्य संगठनले भनेको छ । साथै, आफूले लगाएको मास्कलाई केही समयमै परिवर्तन गरेर उचित स्थानमा मात्र फ्याँक्न, बेला-बेलामा साबुन पानीले हात धुन र स्यानेटाइजर प्रयोग गर्न पनि सुझाव दिइएको छ ।

ब्रिटेन र अमेरिकासहित धेरै देशहरुले अहिले सामाजिक दुरीको नियम पालना गर्न भनिरहेका छन्। कोरोना भाइरस नाक र मुखबाट बाहिर आउने छिटामार्फत् फैलिन्छ भन्ने आधारमा सामाजिक दुरी कायम राख्न भनिएको हो। किनभने संक्रमित व्यक्तिको नाक र मुखबाट निस्किने सानासाना छिटाहरु कि वाफ बनेर उड्छन् या भुइँमा खस्छन् ।

नयाँ अनुसन्धानले के भन्छ ?

क्याब्रिज विश्वविद्यालयका एमआईटी सोधकर्ताहरुले खोक्दा वा हाछ्युँ गर्दा निस्किने छिटा कति टाढासम्म जान्छ भनेर पत्ता लगाउन एक हाई स्पीड क्यामरा र सेन्सर प्रयोग गरेका थिए ।

यसबाट के पत्ता लाग्यो भने खोक्दा र हाछ्युँ गर्दा निस्किने हावाको गति निकै तीब्र हुन्छ । यसमा अलग-अलग आकारका सानासाना केही थोपा पनि हुन्छन् । तीमध्ये जुन सबैभन्दा सानो थोपा छ, त्यो सबैभन्दा टाढासम्म जान्छ । प्रयोगशालामा गरिएको यो अध्ययनबाट खोक्दा वा हाछ्युँ गर्दा निस्किने छिटा छदेखि आठ मिटरसम्म जानसक्छ भन्ने निष्कर्ष निकालियो ।

यस अध्ययनको नेतृत्वकर्ता प्रोफेसर लिडिया बरबियाले भनेकी छिन् ‘हाल मानिसहरुलाई कम्तीमा एक मिटरको दुरीमा हुनुपर्छ भनिएको छ, तर यो पर्याप्त छैन । किनभने खोक्दा वा हाछ्युँ गर्दा निस्किने सानासाना छिटा आठ मिटरसम्म टाढा जान्छ । एउटा पूरै कोठाभित्र पनि फैलिनसक्छ । अहिलेको भनिँदै आएको एक मिटरको दुरी राम्रोसँग नापजाँच नगरी भनिएको हो र यो धेरै विश्वसनीय छैन ।

प्रोफेसर लिडियाका अनुसार कुनै स्थितिमा खासगरी राम्रोसँग हावा पास नहुने कोठाभित्र कुनै संक्रमित व्यक्तिको नजिक बस्ने व्यक्तिले मास्क लगाउने हो भने खतरा कम हुन्छ ।

के भन्छन् विश्व स्वास्थ्य संगठनका विशेषज्ञ ?

विश्व स्वास्थ्य संगठनका पूर्वनिर्देशक प्रोफेसर हेम्यानले एमआईटीको नयाँ अध्ययनको मूल्यांकन गरिने बताएका छन् । उनले बीबीसीसँग भनेका छन्, ‘नयाँ अध्ययन हेर्दा मास्क लगाउनु व्यक्तिगत दुरी कायम राख्नुभन्दा ज्यादा प्रभावकारी हुन्छ भन्ने देखिन्छ । हामी यसको मूल्यांकन गर्नेछौं ।’ यद्यपि मास्क राम्रो तरिकाले लगाउनुपर्नेमा उनले जोड दिएका छन् ।

उनले भनेका छन्, ‘मास्क लगातार लगाइरहनुपर्छ । त्यो मास्कमा नाकको प्वाल रहने स्थानमा राम्रो फिल्टर हुनुपर्छ । यदि त्यो स्थान कमजोर भए भाइरस मिश्रित स-साना छिटा नाकभित्र छिर्छ । मास्क निकाल्ने बेला पनि सावधानी अपनाउनुपर्छ । ता कि हाम्रो हातको संक्रमण मास्कमा नपुगोस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment