Comments Add Comment

एम्बुलेन्स चालक भागेपछि जनस्वास्थ्य प्रमुखले आफैं ल्याए कोरोना संक्रमितलाई अस्पताल

जनस्वास्थ्य अधिकृत सुरज गुरौ । फोटो : फेसबुक

२१ चैत, काठमाडौं । बिहीबार साँझ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकार सम्मेलन गरेर नेपालमा छैटौं संक्रमित भेटिएको जानकारी दिँदै गर्दा बागलुङका स्वास्थ्यकर्मीले सुइँको पाइसकेका थिए । मन्त्रालयले घोषणा नगर्दै छैटौं संक्रमित बाग्लुङकी वृद्धा भएको गाइँगुइँ हल्ला चल्न थालिसकेको थियो ।

पत्रकार सम्मेलन सकिएको आधा घण्टा नबित्दै पुष्टि भयो, ‘छैटौं संक्रमित बागलुङकी ६५ वर्षीया महिला हुन् । उनी चैत ४ गते कतार एयरको क्युआर ६५२ को फ्लाइटबाट नेपाल आएकी थिइन् । सोही दिन एउटै विमानबाट आउने नेपाल आउने तीन जनामा कोरोना संक्रमण देखियो ।’

मन्त्रालयले संक्रमितको परिचय खुलाउनु अघि नै बागलुङका स्वास्थ्यकर्मीले सुइँको पाउनुको तीन कारण थिए ।

पहिलो, ती वृद्धाको १७ गते नमुना संकलन गरिएको थियो र त्यसको रिपोर्ट बिहीबार आउने भनिएको थियो ।

दोस्रो, नमुना संकलन गरेदेखि होम क्वारेन्टाइनमा बसेकी उनी बागलुङको पहिलो संक्रमितसँगै घुलमिल गरिरहेकी थिइन् ।

तेस्रो, ती महिला कोरोनाको उच्च जोखिम समूहमा रहेकी र दमको बिरामी पनि थिइन् । नियमित औषधि सेवन गरिरहेकी थिइन् ।

नभन्दै बाग्लुङको स्वास्थ्यकर्मीहरुले गरेको आकलन मिल्यो । जिल्ला जनस्वास्थ्य कार्यालयमा ती महिलाको रिपोर्ट कार्ड पुगेपछि ती महिला कुन घरकी थिइन् । उनको घरमा को–को थिए र उनको प्रत्यक्ष सम्पर्कमा को–को थिए भन्नेबारे खोज्न थालियो। केही छिनमै ती महिला बसेको घर र उनीहरुको बारेमा पत्ता लाग्यो ।

लगत्तै धवलागिरि अञ्चल अस्पतालमा कोरोना रोकथाम तथा नियन्त्रणसम्‍बन्धी जिल्ला समन्वय समितिको बैठक बस्यो । बैठकमा घरमै राख्ने या अस्पताल ल्याउने भन्ने विषयमा छलफल भइरहेको थियो । दम रोग लागेकी महिला भएकाले काठमाडौँ या पोखराको विकल्पमा पनि कुरा चलिरहेको थियो ।

केही क्षणको छलफलपछि ती महिलालाई अञ्चल अस्पतालमै ल्याउने निर्णय गरेर नेपाल रेडक्रस सोसाइटीको एम्बुलेन्स बोलाइयो । अस्पताल अगाडि एम्बुलेन्स रोकिएको थियो । छलफल सकिनै लागेको थियो । त्यही बेला एम्बुलेन्स चालकले कोरोना भएकी महिलालाई अस्पताल ल्याउने सुइँको पाए । छलफलपछि एम्बुलेन्स भएको ठाउँमा पुग्दा ती चालक त्‍यहाँ थिएनन् ।

धेरै समय चालकको खोजी भयो । फोन डायल गरियो । त्यहाँ नजिकका मानिसलाई पनि सोधखोज गरियो । तर, एम्बुलेन्स चालक छिनमै सम्पर्कविहीन भए ।

धवलागिरि अञ्चल अस्पतालको अर्को पनि एम्बुलेन्स थियो । तर, त्यसका चालक पनि त्यहाँ थिएनन् । दुइवटै एम्बुलेन्सका चालकहरु बेपत्ता भएपछि  बैठकमा उपस्थित भएका स्थानीय प्रशासन र प्रहरीसँग गुहार मागिएको थियो ।

तर, उनीहरु सबै पन्छिए । उनीहरुले यस्तो काममा गृहसँग समन्वय गर्नुपर्ने बताउँदै भने, ‘हामीलाई झण्झट हुन्छ, यो काम तपाईंहरुले नै गर्नुस् ।’

सात बजे अस्पताल ल्याउने भनिएकी ती महिलालाई रातको साढे ९ बज्दा पनि अस्पताल ल्याउने कुनै तरखर थिएन । कतैबाट उपाय फुरेन । छलफल झन् लम्बिने भयो । उता महिला बसेको घरतिर अर्को डर बढिसकेको थियो । छिमेकी तथा आफन्तहरु आत्तिन थालिसकेका थिए ।

त्यसपछि, छलफलमा रहेका स्वास्थ्य कार्यालय बागलुङका जनस्वास्थ्य अधिकृत सुरज गुरौ ती वृद्धालाई अस्पताल ल्याउने काममा अघि सरे । स्वास्थ्य कार्यालयका प्रमुख समेत रहेका उनले आफ्ना सवारी चालक रुद्र पराजुलीलाई एम्बुलेन्स चलाउन आग्रह गरे । आफ्ना चालकलाई डर नहोस् भनेर उनले आफूसँगै हुनेमा पनि विश्वास दिलाए ।

त्यहाँ भएको साधारण पीपीई गुरौ आफूले पनि लगाए र चालकलाई पनि लगाइदिए । त्यसपछि चालक रुद्रको डर हट्यो । अनि ती महिलालाई लिन एम्बुलेन्स अस्पताल तिर हिँड्यो । उनीहरु दुई जना गएर रातको साढे १० बजेतिर धवलागिरि अञ्चल अस्पतालमा ल्याए । अहिले ती महिलालाई अस्पतालको आइसोलेसनमा राखिएको छ ।

बागलुङका जनस्वास्थ्य प्रमुख गुरौ रातिको घटना सम्झदैँ भन्छन्, ‘बिरामी ल्याउने जिम्मा हाम्रो होइन, तर सब जना भागभाग गरेपछि ल्याउनै पर्‍यो।’

सुरजका अनुसार सबै चालकहरु भागेको देखेपछि उनको चालक पनि जान डराएका थिए । बिरामी ल्याउनैपर्ने बाध्यता भएपछि उनले आफू पनि सँगै जाने भनेर चालकलाई आश्वस्त पारे । जाने कि नजाने दोधारमा रहेका चालक उनी पनि जाने भएपछि तयार भए । गुरौले भने, ‘मैले मेरो चालकको मनोविज्ञान बुझेर नै मसँगै छु केही हुँदैन भनेपछि उनी तयार भएका हुन‍् । त्यही भएर म नजाँदा हुने ठाउँमा पनि गएको हुँ ।’

उनका अनुसार ती महिलाको स्वास्थ्य अवस्था अहिले सामान्य छ । दमको पुरानो बिरामी भएकाले उनले अहिले नियमित औषधि सेवन गरिरहेकी छिन् । सुरजले भने, ‘अरु आफ्नो कर्तव्यबाट भागेपछि मैले आफ्नो कर्तव्य ठानेर ती महिलालाई उद्धार गरेको हुँ, कुनै बहादुरी देखाएको होइन ।’

१३ जनाको नमुना परीक्षण गरिएको थियो

गत ४ चैतमा कतार एयरको छ सय ५२ उडानबाट नेपाल भित्रिएका एक सय ५२ यात्रुमध्ये चार जना बागलुङका थिए । त्यसमध्ये दुई जनामा कोरोना भाइरस (कोभिड १९)को संक्रमण पोजेटिभ देखिएको छ । तर, अरु दुई जनाको रिपोर्ट भने नेगेटिभ देखिएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख गुरौकाअनुसार दुई जना संक्रमित बागलुङ बजार आसपासकै हुन् भने रिपोर्ट नेगेटिभ आएका दुई जनामध्ये एक बुर्तिवाङका हुन् । अर्को एकजना भने अहिले पर्वततिर गएका छन् । गुरौले भने, ‘बागलुङमा पहिलो केस भेटिएपछि उनका नजिक भएका १३ जनाको नमुना संकलन गरी परीक्षणका लागि पठाइएको थियो । त्यसमध्ये थप एक जनाको पोजेटिभ, बाँकी नेगेटिभ सहित १० जनाको रिपोर्ट आइसकेको छ । अझै तीन जनाको रिपोर्ट आउन बाँकी रहेको उनले बताए ।

गुरौले भने, ‘छैटौ‌ं संक्रमितको सम्पर्कमा आएका उनका परिवार र अरुको समेत खोजी गरी नमुना संकलन गर्ने कार्य अघि बढाउन लागिएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment