Comments Add Comment

विपतमा सहयोगी हातहरु

सर्वत्र संकट छ । कसैको भान्सामा चुल्हो बल्न छाडिसके, कसैको खल्ती रित्तियो । कति घर पुग्न नपाएर अलपत्र छन्, कति भोकभोकै छन् ।

कोरोनाको जोखिम बढ्दै जाँदा सर्वसाधरण अरु थुप्रै किसिमका समस्यासँग पनि जुधिरहेका छन् । राज्यप्रतिको भरोसा र विश्वास टुट्दै गएको छ । हातमा शक्ति हुनेहरु आफ्नै दुनो सोझ्याउनतर्फ लागेका छन् । ढुकुटीमा धन हुनेहरु आँखा र कान थुनेर बसेका छन् । विपतको यो घडीमा सर्वसाधरण भने स्वतस्र्फूत एकआपसमा सहयोग र साथ आदनप्रदान गरिरहेका छन् ।

विपन्नलाई खाद्यन्न

रोगले भन्दा पनि भोकले मान्ने अवस्थामा छन् कतिपय । दैनिक ज्याला मजदुरी गरेर पेट पाल्नेहरुका लागि सहयोग गर्ने क्रम छ । यसै अन्र्तगत विभिन्न जिल्लामा संस्थागत तथा व्यक्तिगत रुपमा सहयोग दिनेहरु बढेका छन् । जस्तो कि, भक्तपुरका व्यवसायी सुजन ओझाले २६ घर विभिन्न परिवारलाई खाद्यन्न वितरण गरेका छन् । देवघाट क्षेत्रका विपन्न परिवारलाई एक हप्ताका लागि पुग्ने दाल, चामल, नुन, तेल दिइएको हो । यसरी व्यक्तिगत रुपमा सहयोग गर्नेहरु बढेका छन् ।

पशुपंक्षीलाई आहार 

मान्छेहरु घरभित्रै भएपछि सडकका गाईबस्तु, कुकुर, बाँदर, परेवा आदि भोक–भोकै हुन थालेका छन्, जो मान्छेमा आश्रित छन् । यसरी विचल्लीमा परेका पशुपंक्षीलाई स्नेहा केयर संस्थाले चना, सखरखण्ड, मकै, चामल आदि ख्वाइरहेका छन् । त्यसैगरी अभिनेत्री वर्षा सिवाकोटीले पनि सडक कुकुरलाई खानेकुरा दिइरहेकी छिन् ।

प्रहरीलाई पिउने पानी

यतिबेला अधिकांश घरभित्र छन् । घरभित्र रहनु नै सुरक्षात्मक अवस्थामा रहनु भन्ने छ । तर, प्रहरीहरु भने घरभित्र बस्न पाएका छैनन् । उनीहरु सडकमा खटिएका छन् । आफुले रोगको जोखिम मोलेर पनि उनीहरु सर्वसाधरणको सुरक्षामा खटिएका हुन् । उनीहरु पानी समेत नपिइ घण्टौं सडकमा खटिएको भन्ने खबरहरु पनि आइरहेका छन् । साथसाथै कतिपय प्रहरीसँग आफ्नो सुरक्षाका लागि गतिलो मास्कसमेत नभएको खबर सुनिन्छ ।

यसैबीच सडकमा खटिएका प्रहरीलाई खाजा, नास्ता, पानी सहयोग गर्ने लहर छ ।  सरोज ओली प्रतिष्ठानले केही समयअघि प्रहरीका लागि पानी वितरण गरे । सडकमा उभिएका प्रहरीलाई शुद्ध पिउने पानी उपलब्ध गराउनका लागि प्रष्ठिानले सय कार्टुन पानी वितरण गरेको बताइन्छ ।

जरुरी कामका लागि मोवाइलमा सित्तैमा रिचार्ज

यतिबेला बजारमा सबैकुरा सहज उपलब्ध छैन । घरभित्रै बस्नुपर्ने अवस्था छ । यस्तो क्षणमा जरुरी फोन गर्नुपर्नेछ, तर रिचार्ज छैन । के गर्ने ?

वी विल राइज फाउन्डेसनले सित्तैमा सय रुपैयाँको रिचार्ज गर्ने व्यवस्था मिलाइदिएको छ । फाउन्डेसनका संस्थापक निर्मल श्रेष्ठका अनुसार अहिलेको क्षणमा जरुरी भएकाहरुलाई यो सुविधा उपलब्ध गराइएको हो । ‘सबैतिर रिचार्ज कार्ड उपलब्ध छैन, जबकी जरुरी फोन गर्नुपर्ने पनि भइरहेको हुनसक्छ’ श्रेष्ठ भन्छन्, ‘यसरी समस्यामा परेकाहरुलाई सहयोग गर्नका लागि हामीले निशुल्क रिचार्जको व्यवस्था गरेका हौं ।’

यस अन्र्तगत पाँच सय जनालाई रिचार्ज गरिदिने व्यवस्था छ । जरुरी परेका व्यक्तिहरुले वि विल राइज फाउन्डेसनका सम्बन्धित व्यक्तिहरुलाई फोन वा म्यासेज गरेर रिचार्जका लागि अनुरोध गर्न सक्नेछन् । वि विल राइजको वेबसाइट र सामाजिक सञ्जालमा पनि यसको सूचना र सम्पर्कका लागि नम्बर दिइएको श्रेष्ठले बताए ।

‘बिहिबार रिचार्ज सुविधा खुला गरेसँगै धेरैले फोन र म्यासेज मार्फत रिचार्जका लागि अनुरोध गरे’ श्रेष्ठ भन्छन्, ‘करिब चार सय जनाको रिचार्ज पनि भयो । अरु लाइनमा छन् ।’ यद्यपि यसरी रिचार्जका लागि आउनेमध्ये कतिलाई जरुरी परेको हो भनी छुट्याउन नसिकने उनले बताए । त्यसैले अत्यावश्यक भएका वा रिचार्ज कार्ड उपलब्ध नहुनेहरुले मात्र यो सेवा उपभोग गरिदिन उनको अनुरोध छ । श्रेष्ठ भन्छन्, ‘तपाईंहरुले आवश्यक नभई वा सुविधा पाइयो भन्दैमा रिचार्ज गरिदिदाँ अरु व्यक्तिले यो सुविधा नपाउन सक्छन्, जसलाई वास्तवमै जरुरी छ ।’

मनकारी कलाकर्मी

गायक प्रकाश सपूतले कोरोना विरुद्ध लड्नका लागि राज्यको कोषमा दुई लाख रुपैयाँ सहयोग गरेका छन् । यसैगरी अभिनेता पल शाहले हालैमात्र चलचित्रसँग आवद्ध प्राविधिक र अन्य जनशक्तिका लागि पाँच लाख रुपैयाँ दिने घोषणा गरेका छन् । अभिनेत्री बर्षा सिवाकोटीले एक लाख रुपैयाँ सहयोग गरेकी छिन् । उनले ज्यालादारीका लागि यो सहयोग उपलब्ध गराउने बताएकी छिन् ।

अभिनेता दिपकराज गिरी र उनका समूहले फिल्मका प्राविधिकहरुलाई एक लाख १० हजार रुपैयाँ सहयोग दिने बताएका छन् । यता लोक गायक बद्री पंगेनीले ५० हजार रुपैयाँ सहयोग गरेका छन् । अभिनेता दिपकराज गिरी र उनको समूहले फिल्म प्राविधिकलाई एक लाख १० हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment