
२८ असोज, धनगढी । कैलालीमा युवकमाथि धारिलो हतियार प्रहार गरेको घटनामा संलग्न रहेको आरोपमा ११ जना पक्राउ परेका छन् ।
आइतबार राति गोदावरी नगरपालिका–४ को शुभम् होटलमा डडेल्धुराको नवदुर्गा गाउँपालिका–४ का ३२ वर्षीय गौरव ऐरमाथि धारिलो हतियार प्रहार भएको थियो ।
उक्त घटनामा ‘कोब्रा सरकार’ का नाममा गुण्डागर्दी गर्दै आएका धनगढी उपमहानगरपालिका–२ का सन्नी भनिने २९ वर्षीय भीम नेपालीसहितलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
डीएसपी राजकुमार सिंहले नेपालीसहितका ११ जनालाई भारततर्फ भाग्दै गरेको अवस्थामा सीमावर्ती क्षेत्रबाट पक्राउ गरिएको जानकारी दिए ।
पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–२ बस्ने १८ वर्षीय अनुपम सिंह, १८ वर्षीय मुस्कान सिंह, २० वर्षीय बबिन सिंह, २६ वर्षीय गोपाल भट्ट, १८ वर्षीय प्रिन्स सिंह, धनगढी उपमहानगरपलिका–३ बस्ने १८ वर्षीय विशाल बोहरा, कञ्चनपुरको कृष्णपुर नगरपालिका–९ बस्ने २३ वर्षीय किरण महरा, २६ वर्षीय गोविन्द बलायर, पुनर्वास नगरपालिका–१० बस्ने ३२ वर्षीय दिनेश बिक र ३२ वर्षकै अनिल बिक रहेको उनले बताए ।
घटनामा संलग्न रहेको अभियोगमा किटानी जाहेरी दिइएका चार जना भने फरार छन् । प्रहरीले उनीहरूको खोजी गरिरहेको छ ।
धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएका ऐरको भने भारतमा उपचार भइरहेको छ ।
डीएसपी सिंहकाअनुसार उनको भारतको रुद्रपुरमा रहेको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । आक्रमणबाट उनको हातको औँला काटिनुका साथै टाउको र घाँटीमा चोट लागेको प्रहरीले जनाएको छ ।
ऐरमाथि धारिलो हतियार प्रहार गरेको आरोपमा पक्राउ परेकाहरू कोब्रा सरकारका नाममा समूह बनाएर कैलालीमा गुण्डागर्दीमा संलग्न रहदै आएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका नेपाली कोब्रा सरकारकै समूहका युवाले गत वर्षको २२ फागुनमा नेपाल विद्युत प्राधिकरणका कर्मचारी सुन्दरलाल चौधरीलाई खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहारबाट चौधरी गम्भीर घाइते भएका थिए । कोब्रा सरकारका सन्नी भनिने भीम नेपाली समेतका युवाविरुद्ध ज्यान मार्ने उद्योगमा जाहेरी परेको थियो ।
पीडितको किटानी जाहेरीले प्रविन शाहीलाई पक्राउ गरेपनि सन्नी नेपाली भने प्रहरीको फरारको सूचीमा थिए । फरार रहेकै अवस्थामा कोब्रा समूहका नेपाली समेतले हतियार प्रहार गरेर युवकलाई घाइते बनाएपछि उनीहरूलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ ।
धारिलो हतियार प्रहारको कारण भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया 4