आमा, यतिबेला कोरोना नामको भाइरसले विश्वमा ताण्डव नृत्य देखाइरहेको छ । यसको त्रासको अघिल्तिर यसअघि देखिएका सबै त्रासहरु फिक्काजस्तै बनिरहेको छ । यसबाट जोगिन पूरा मानव समुदाय यतिबेला सकसपूर्ण जीवन बिताइरहेका छन् । यसले धनी गरिब सबै लाई एकसाथ गाँजिरहेको छ ।
यसको त्रासदीबाट मानव समुदायलाई जोगाउन विश्वका वैज्ञानिक र डाक्टरहरु दिनरात खटिरहेका छन् । तर, पनि यो त्रासदीबाट विश्वले कहिले मुक्ति पाउने हो, अझै निश्चित छैन ।
यसबाट तपाईंका सन्तति पनि अछुतो रहन सकेनन् । विदेशबाट फर्केका तपाईंका केही सन्ततिसँगै टाँसिएर यो रोग तपाईंको घरमा पनि छिरिसेकेको छ । यसबाट तपाईं बिलखबन्दमा परिरहनुभएको खबरले म परदेशमा रहेकी छोरीलाईसमेत पीडा बढाइहेको छ । यसको पीडा र त्रासदी कस्तो हुन्छ भन्ने कुरा यसको उद्गमस्थल चीनमै बसेर मैले प्रत्यक्ष देखे, भोगेकी छु । त्यसैले पनि मलाई थप पीडाको अनुभुति भइरहेको छ यति बेला ।
यो यस्तो त्रासदी हो, जुन पीडा शब्दमा वर्णन गर्न सकिन्न । आफ्ना सन्ततिहरु पीडामा छटपटिरहँदा तपाईं मलमपट्टी गर्न सक्नुहुन्न । उसको टाउको मुसार्दै सान्त्वना दिन सक्नुहुन्न । ज्वरोको भुंग्रोमा रापिरहँदा पानीपट्टी गर्न सक्नुहुन्न । यसैको कारण उसको ज्यान गयो भने उसको लासलाई छुनसम्म पाउनुहुन्न, न त अन्तिम संस्कारमा अँगालो हालेर रुन नै सक्नुहुनेछ ।
परबाट हेरेर अन्तिम बिदाइ गर्नु पर्नेछ, त्यतिबेला तपाईंलाई नै विश्वास हुनेछैन कि तपाईंले अन्तिम श्रद्धाञ्जलि दिएका सन्तति तपाईंको हुन कि अरुको भनेर । किनभने यो भाइरस जोसँग छ उसको सम्पर्कमा जाने जो कोहीले पनि उही नियति बेहोर्नुपर्ने भएकाले तपाईंका कोही आफन्तहरु उसको नजिकमा जानसक्ने छैनन् ।
यतिसम्म कि उनको अन्त्येष्टिमा अन्तिम श्रद्धाञ्जलि दिन कोही पनि आफ्ना आफन्तहरू पुग्ने छैनन् । अहिलेसम्म यो धर्तीमा कहिल्यै नदेखिएको दृश्यहरु यसले देखेइरहेका छ । त्यसैले आमा तपाईंको आँगनमा पनि यस्तो कहालीलाग्दो दृश्यहरु देख्न नपरोस् भनेर परदेशबाट यो चिठी लेखिरहेको छु ।
परदेशिएका तपाईंकै सन्तानहरुको साथ लागेर अहिले तपाईंको घरमा पनि यो त्रासदी भित्रिसकेको छ । यतिबेला तपाईंका सन्तानहरू इमान्दार बनेनन् भने देश विदेशमा भइरहेका र किंवदन्ती जस्तै लाग्ने दृश्यहरु तपाईंकै घर आँगनमा समेत देखिने छन् ।
यताका कठोर हृदय भएका मानिसहरुहरुलाई त कोरनाले सृजना गरेको पीडा धान्न नसकिरहेको बेला सबै सन्तानहरूलाई समान माया र स्नेह पोखाएर कहिल्यै नअघाउने तपाईंको मन त्यतिबेला के होला ? म कल्पना पनि गर्न सक्तिनँ । त्यसैले परदेशबाट तपाईंलाई यो चिठ्ठी लेखिरहेकी छु । किनकी, मैले यो सबै कुराहरूलाई प्रत्यक्ष देखेकी छु ।
हिमालपारिको छिमेकी चीनको पूरा भू-भागमा यसको प्रकोप फैलिसक्दा पनि हिमालवारिको मेरो देश बेखबर जस्तै बनिरहँदा बेइजिङमा दुई महिनादेखि एउटै कोठामा थुनिएर सेल्फक्वारेन्टाइनमा बसिरहेको मेरो मन पटक पटक पोलेको थियो।
यो चीनबाट एसिया युरोप अमेरिकाहुँदै दक्षिण एसियासम्म पुगेपछि भने रमिते जस्तै बनेर बसेका तपाईंको अगुवा सन्तानहरू बल्ल सजग हुन थालेको महसुस गरेकी थिएँ ।
ढिलैभए पनि यसलाई भित्रिन नदिन जुर्मुराएर लाग्दासम्ममा तपाईंको केही सन्ततिहरुसँगै यसले नेपालमा पनि प्रवेश गरिसकेको थियो । त्यसपछि हतासिएर भनौं या हतारिएर यसको थप संक्रमण फैलिन नदिन लकडाउनको घोषणा गरिएको छ ।
यतिबेला यसको प्रकोपबाट जोगिन र जोगाउन लकडाउनको विकल्प पनि छैन । लकडाउनले पक्कै पनि जनजीवनलाई केही असजिलो तुल्याएको छ । यसको प्रकोपबाट सिर्जना हुने पीडाको तुलनामा लकडाउनको पीडा नगन्य जस्तै हो । यसबाट जोगिने र जोगाउने एकमात्र अस्त्र भनकै लकडाउन हो ।
तर, लकडाउन उल्लङ्घन गर्नेहरू माथिको निर्मम लाठी प्रहार र फलामको चिम्टाले समातेको दृश्यभन्दा पनि यस्तो बेला जोखिमको ख्याल नगर्नेहरुको अबुझपन र अज्ञानता देखेर मन चस्कने गर्छ । यसको प्रकोपमा परेकाहरूको अवस्था कस्तो हुन्छ भनेर नभोगे पनि अधिकांशले समाचार माध्यमबाट पक्कै देखेका छन् । परेर मात्र चेत्ने हाम्रो बानीमा कहिलेबाट सुधार होला यही पिरलो लाग्छ ।
लकडाउन शब्द र अभ्यास हामीले पहिलोपल्ट सुनेका र बेहोरेका हौँ । एक्कासी भएको लकडाउनबाट दिउँसो कमाएर बिहान बेलुकी छाक टार्न पर्ने तपाईंको सन्ततिहरुको नियति यतिबेला के भइरहेका होलान् । राजधानीलाई मात्र देश सम्झने सोच र प्रवृत्तिका बीच यो लकडाउनले देशको दुर्गम बस्ती र अति विपन्न समुदायमा परेको प्रभावको हेक्का खटनपटनको जिम्मा पाएका तपाईंको अगुवा सन्तानहरूमा छन् कि छैनन् भन्ने कुराले पनि मन चस्काइरहन्छ, आमा ।
स्वास्थ्यकर्मीहरूको मनोबललाई उच्च बनाएर कार्यक्षेत्रमा खटाउने जिम्मा पाएका निकाय कति जिम्मेवार देखिएका छन, अनि स्वास्थ्यकर्मीहरू आफ्नो काँधमा आइरहेको यो जिम्मेवारी प्रति इमान्दार बन्लानकी बहाना बनाएर भाग्लान मलाई सधै पिरोलिरहने र चिमोटिरहने कुराहरु हुन् यी ।
आपत विपद पर्दा सम्झने र सुरक्षित महसुस गर्ने त आफ्नै घर रहेछ । यो विपतबाट जोगिन अनेक सास्ती बेहोर्दै घर फर्किरहेका तपाईंका दु:खी कर्म लिएर जन्मेका सन्तानहरूलाई सीमाबाट आफ्नै देश भित्रन नदिँदाको पीडालाई मैले बोध गरिरहेकी छु । आफ्नै देशको सीमाक्षेत्रमा कयौ दिन भोकै प्यासै अलपत्र परेको र पर्न बाध्य पारिएको घटनाले तपाईंको मन कति कुँडिएको होला, म महसुस गर्नसक्छु ।
रोग लिएर फर्केको हो कि भन्ने शंकामा आफ्नै मान्छेहरूबाट यतिसम्म निर्दयी व्यवहार हुन्छन् भने, अझ रोग नै लागेर फर्किएको भए उनीहरुको हविगत के हुन्थ्यो होला, कल्पनासम्म गर्न सक्छौँ ।
राज्य जिम्मेवार र नागरिक अनुशासित बन्दा मात्र पनि यो प्रकोपलाइ सहजै झेल्न सकिन्छ भन्ने मूलमन्त्रलाई आफ्ना सन्ततिहरुलाई राम्रोसँग बुझाउन सकिए यो प्रकोपको कालो छायाँबाट तपाईंको सन्तानहरू सहजै जोगिनसक्छ, यतिबेला माया मात्र पोखाउने होइन, समय अनुसार कठोर पनि बन्नुपर्छ है ।
आमा तपाईं र तपाईंको सबै सन्ततिहरु जहाँ रहे पनि स्वस्थ्य र सुरक्षित रहून्, यतिबेला यही कामना गर्छु । बाँकी अर्को पत्रमा लेख्नेछु ।
उही तपाईंकी परदेशी छोरी ज्ञानु माया राई, बेइजिङ, चीन
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4