Comments Add Comment

प्रिमियर लिग मेमा सुरु नहुने, खेलाडीको तलब कटौती गर्ने तयारी

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको असर अहिले विश्व खेलकुदमा परेको छ । सबै खाले फुटबल लिगहरु स्थगित छन् । विश्वकै चर्चित लिग मानिने इंग्ल्याण्डको प्रिमियर लिग कोरोनाकै कारण अप्रिल ३० सम्म स्थगित गरिएको छ ।

तर, अहिलेको अवस्था हेर्दा त्यो बेला पनि खेल सुरु हुने अवस्था छैन । त्यसैले प्रिमियर लिगले मे महिनामा फुटबल सुरु नहुने जनाएको छ । यसको अर्थ प्रिमियर लिग पनि अनिश्चित कालको लागि स्थगित भएको छ ।

यसअघि नै स्पेनको ला लिगा र फ्रान्सको फ्रेन्च लिग वान पनि अनिश्चितकालका लागि स्थगित भइसकेको छ ।

यस्तै, युरोपियन फुटबलको सर्वोच्च संस्था युईएफले युरोपियन च्याम्पियन्स लिग र युरोपा लिग पनि अनिश्चितकालका लागि स्थगित गरेको छ भने युरोपको राष्ट्रिय टिमको खेलहरु जुन महिनामा समेत नहुने जनाएको छ ।

यसैबीच, प्रिमियर लिगका स्टक होल्डरहरुबीच शुक्रबार कोरोना भारइससँग लड्न अगाडि बढ्ने, सिजनको रिस्टार्टलगायत विभिन्न विषयमा छलफल गरेको हो ।

प्रिमियर लिगले पहिलो प्राथमिकता राष्ट्र र समुदायका साथै खेलाडी कोच म्यानेजर सपोर्टरको स्वास्थ्य र सुरक्षा रहेको जनाएको छ ।

यस्तै, प्रिमियर लिगको २०१९-२० सिजन मेमा सुरु नगर्ने र सुरक्षित समय आएपछि मात्र खेल हुने जनाएको छ । प्रिमियर लिगले देशभरको व्यवसायिक क्लबहरुसँग छलफल गरिरहेको र सरकार पब्लिक एजेन्सीहरुसँग छलफल गरिरहेको जनाएको छ ।

यस्तै, प्रिमियर लिगले सबै क्लबहरुलाई खेलाडीको ३० प्रतिशत तलब कटौती गर्न भनेको छ । र, क्लबहरुले पनि उक्त प्रस्ताव स्वीकार गरेका छन् ।

प्रिमियर लिगले इंग्लिस फुटबल लिग इएफएल र नेशनल लिगलाई एक सय २५ मिलियन पाउण्ड दिनेसमेत जनाएको छ । साथै, २० मिलियन पाउण्ड नेशनल हेल्थ सर्भिस र विपन्न समूहलाई दिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment