
२३ चैत, वीरगञ्ज । कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचारका लागि वीरगञ्जस्थित नारायणी अस्पतालमा थप २० वेडको आइसोलेसन वार्ड तयार पारिएको छ । १० लाखको लागतमा २० वटा बेड राख्न सकिने आइसोलेसन वार्ड तयार गरिएको हो ।
केन्द्र र प्रदेश सरकारले अस्पताललाई कुनै किसिमको सहयोग नगरेपछि सांसद प्रदीप यादवको संयोजनमा दाताहरुसँग सहयोग लिएर आइसोलेसन वार्डको संरचना तयार पारिएको छ ।
नारायणी अस्पताल यस क्षेत्रका बिरामीहरुको आशा भरोसाको केन्द्र रहँदै आएको भए पनि संघ, प्रदेश र स्थानीय सरकारले कोरोना भाइरस रोकथाम र नियन्त्रणको लागि ठोस सहयोग नगरेकोले दाता गुहारेर आइसोलेसन बनाइएको सांसद यादवले बताए ।
२० वेडको आइशोलेसन वार्ड बनाउन जगदम्बा सिमेन्ट, रुंगटा वेलफेयरलगायतले सहयोग गरेका छन् ।
अस्पतालको आकस्मिक कक्षमाथि तयार पारिएको आइसोलेसनका लागि लायन्स क्लबले २० वटा बेड दिने भएको छ । शनिबार नै १० वटा बेड दिइसकेको छ ।
संविधानसभा सदस्य अनिल रुंगटाले आवश्यक अक्सिजनको प्रबन्ध मिलाउने आश्वासन दिएका छन् ।
अहिले नारायणी अस्पतालमा ५ बेडको मात्रै आइसोलेशन वार्ड छ । पाँचवटैमा कोरोना भाइरसका संकास्पद संक्रमितलाई राखिएको छ ।
पीपीईलगायतका अन्य सुरक्षा र उपचारका सामग्री नभएको भन्दै निजी अस्पतालले कोरोना भाइरस संक्रमणको शंकास्पद बिरामीसमेत लिन मानिरहेका छैनन ।
दाताहरु आइसोलेसन वार्ड बनाउन सहयोग गर्न तयार भएपछि बुधबारबाट वार्ड बनाउन थालिएको थियो । चार बेडको आईसीयु सञ्चालनमा आएपछि कोरोना भाइरसको उपचारमा सहज हुने चिकित्सकले बताएका छन् ।
आइसोलेसन वार्डमा केही प्राविधिक काम बाँकी रहेको अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा मदन उपाध्यायले जानकारी दिए । ‘वार्ड तयार भए पनि केही प्राविधिक काम बाँकी छ । १० वटा बेड मात्रै आएको छ,’ उनले भने, ‘निर्मलीकरण गरेर सञ्चालनमा ल्याउने तयारी गरेका छौं । ‘
नारायणीले ३८ जनाको थ्रोट स्वाव संकलन गरेर कोरोना भाइरस संक्रमण भए नभएका जाँचका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाएको छ ।
यसअघि पठाइएका तीनवटै थ्रोट स्वाबको रिपोर्ट नेगेटिभ आएको मेसु डा उपाध्यायले जानकारी दिए ।
प्रतिक्रिया 4