बेलाबखत हामी यसै दुःखी हुन्छौं । अनायासै औडाह लाग्छ । उदास हुन्छौं । अक्सर यस्तो किन हुन्छ भने हामीलाई आफ्नै कतिपय कमी-कमजोरी महसुस हुनथाल्छ । आफ्नो असफलता र अप्ठ्याराहरु महसुस हुनथाल्छ । आफूले केही गर्न नसकेको, आफूले केही नजानेको, आफूले केही नबुझेको लागेर मनमा हिनताबोध पैदा हुन्छ ।
यस्तो स्थिति किन हुन्छ भने जब हामी अरुसँग आफूलाई तुलना गरेर हेर्न थाल्छौं । फलानोको जस्तो घर, गाडी, प्रतिष्ठा, शान आफ्नो छैन । फलानोले जस्तो सीप र गुण पनि आफ्नो छैन ।
यस्तै कुराले हामीलाई दुःखी बनाउँछ । उदास बनाउँछ ।
जब–जब हामी अरुलाई हेरेर आफूसँग तुलना गर्न थाल्छौं। सुखभन्दा बढी दुःखको अनुभव हुन थाल्छ ।
हामी सबैलाई लाग्छ, राम्रो बनौं । सम्पन्न बनौं । मान प्रतिष्ठा आर्जन गरौं । ख्याती कमाऔं । शक्ति सञ्चय गरौं । तर, सबै कुरा हामीले सोचेजस्तो ठिकठाक हुँदैन । महत्वपूर्ण कुरा त के भने, हामीले जे जति प्रयास गर्यौं, त्यो राम्रो कुरा हो ।
हामी सबैभन्दा धनाड्य, सबैभन्दा बुद्धिमान, सबैभन्दा ख्यातीप्राप्त हुनसक्छौं भनेर अपेक्षा राख्नु पनि उचित हुन्न । किनभने हामीसँग जन्मजात गुण र खुबी छ । त्यसैगरी कमजोरी पनि ।
हामी सम्पूर्ण रुपमा क्षमतावान हुन सक्दैनौं । हामीभित्र अनेक कमजोरी हुनसक्छ । कमजोरीलाई सच्याउने र सुधार गर्ने कुरा आफ्नो ठाउँमा छ । यद्यपि यसैलाई सोचेर दुःखी वा उदास भइरहनुको कुनै अर्थ छैन ।
हामी जस्तो छौं, त्यही अवस्था ठिक छ । हामीले आफूलाई स्वीकार्न पनि सक्नुपर्छ । आफ्नो रुपरंग, आफ्नो स्थिति, आफ्नो परिस्थिति, आफ्नो परिवार सबैलाई स्वीकार गरौं । जुन कुरा हामी बदल्न सक्दैनौं, त्यसलाई स्वीकार गरौं । सन्तोष मानौं ।
म फलानो जस्तो किन भइन, मैले फलानोले जस्तो किन प्रगति गर्न सकिन, मलाई फलानोको जस्तो बुद्धि किन भएन भनेर दुःखी भइरहनु कुनैपनि समस्याको समाधान होइन । यो त आफूले आफैंलाई हेला गर्ने कुरा मात्र हो ।
हामी सर्वश्रेष्ठ हुन सक्दैनौं, सम्पूर्ण रुपमा । यो कुरालाई हामीले स्वीकार्नुपर्छ । संसारमा कोहीपनि यस्ता व्यक्ति छैनन्, जो सबै कुराले पुगिसरी छन् । सबै कुरामा उनीहरु सन्तुष्ट छन् । चाहे विश्वकै धनाड्यको कुरा गरौं वा विश्वकै शक्तिशाली व्यक्तिको । वा त विश्वप्रख्यात व्यक्तिको। उनीहरु पनि पूर्ण छैनन् । उनीहरुमा कतिपय समस्या र कमजोरी छन् ।
कुनै पनि त्यस्ता व्यक्ति छैनन्, जसको जीवनमा दुःख पर्दैन । त्यसैले स्वयंलाई संसारको सबैभन्दा दुःखी व्यक्ति सम्झनु हुँदैन । सुख र दुःखले नै जीवन बाँच्न सिकाउँछ । जसले सुखको समयमा आफूमा नियन्त्रण राख्छ र दुःखको समयमा संयमित हुनसक्छ, त्यो व्यक्तिमा खुशी रहने गुण छ भन्ने बुझ्नुपर्छ ।
आफूलाई हेला नगरौं
हामी अरुबाट आफूलाई सम्मान गरिएको हेर्न चाहन्छौं । अर्थात् हेलाहोचो गरेको मन पर्दैन । हामी आफूले आफैंलाई किन हेलाहोचो गर्ने ?
आफूलाई आफैंले सम्मान गरौं । तपाईं कुनै पनि समयमा दुःखी अथवा तनावमा हुनुहुन्छ भने राम्रो कुरा सम्झेर केही मुस्कुराउनु होस् । खुशी हाम्रो वरपरै छ। केवल त्यसलाई स्वीकार गर्न आवश्यक छ।
जसरी दिनपछि रात हुन्छ। राति अँध्यारो हुने भएकाले कुुनै पनि काम नबिग्रियोस् भन्नका लागि हामी राति काम गर्दैनौं। ठिक त्यस्तै प्रकारले तपाईंलाई कुनै समस्या अथवा तनाव छ भने अहिलेको समय रात छ। भोलिको बिहान उज्यालोका साथ आउने छ भन्ने सोच्नुपर्छ।
तपाईंले कुनै पनि कुरालाई यताउती गर्नुहुँदैन। शान्त बस्नुपर्छ र छिट्टै अँध्यारो रात कटेर उज्यालो बिहान आउँछ भन्ने सोच्नुपर्छ । बिहानको उज्यालोसँगै तपाईं पुनः आफ्नो नियमित दिनचर्या सुरु गर्नुहुन्छ । रातिको समय सधैंका लागि हुँदैन, त्यसले त बिहानको सन्देश लिएर आउँछ ।
अरुको खुशीमा रमाउने गरौं
स्वयंलाई खुशी राख्नका लागि सबैभन्दा राम्रो औषधि भनेको नै अरुको खुशीमा आफू पनि खुशी हुनु हो । यदि तपाईं अरुको खुशीमा खुशी हुनुभयो भने तपाईंको जीवनमा पनि छिट्टै खुशी आउँछ । प्रायः महिलाहरु स–साना कुराहरुलाई मनमा राख्ने र घण्टौंसम्म त्यसकै बारेमा सोची रहन्छन् । तर, जुन कुरालाई लिएर तपाईं आफ्ना आफन्तको बारेमा मन भित्र-भित्रै जल्ने गर्नु भयो भने त्यसको असर तपाईंको स्वास्थ्यमा पनि पर्छ । जसका कारण तपाईंलाई काम गर्न पनि मन लाग्दैन । त्यसैले सानो–ठूलो जस्तो घटना भए तापनि त्यसप्रति दुःखी हुनुभन्दा आफूलाई सम्हालेर अगाडि बढ्ने र त्यो घटनाप्रति दुःखी हुन छाडेर जीवनमा आएका खुशीहरुमा रमाउनु पर्छ ।
दुःखको औषधि आवश्यक
जब तपाईं स्वयंलाई समस्यामा रहेको महसुस गर्नुहुन्छ अथवा अत्यन्त दु:खी हुनुहुन्छ। तब हरेक दुःखकोे औषधि हुन्छ भन्ने कुरा बुझ्नुपर्छ । त्यसैले यदि तपाईं त्यस्तो स्थितिमा हुनुहुन्छ भने कुनै आफन्तसँग पीडाको औषधि अर्थात् आफ्नो दुःख र समस्यालाई सेयर गर्नुपर्छ ।
बाल्यकालमा फर्कनुपर्छ
हरेक मानिसको बाल्यकाल अति नै रमाइलो र अविस्मरणीय हुन्छ भन्ने कुरा एकदम सही हो । यदि तपाईंको घरमा सानो बच्चा छ भने त झन् तपाईंलाई बाल्यकालमा फर्कन कठिन नै हुँदैन । तपाईं बच्चासँग उसको तनावमुक्त जीवनमा सहभागी हुन सक्नुहुन्छ । त्यसो गर्दा तपाईंले आफ्ना सबै समस्याहरुलाई बिर्सनुहुनेछ । कुनै पनि समयमा तपाईंले एक्लो अथवा बोर भएको महसुस भयो भने आफ्नो बाल्यकालमा के गर्नुहुन्थ्यो, त्यो कुरालाई सम्झनुपर्छ ।
यसबाहेक एक्लै भएको बेला पेन्टिङ गर्नुपर्छ, खाना पकाउनुपर्छ अथवा घरको सरसफाई गर्न सक्नुहुन्छ । यही बहानामा तपाईंले आफ्नो अपूरो कामहरु पनि पूरा गर्न सक्नुहुन्छ र आफू एक्लो भएको अनुभव पनि हुँदैन । यसको साथै आफूलाई मन परेको किताब पढ्नुपर्छ अथवा कतै घुम्न जानुपर्छ ।
गुनगुनाउनु पर्छ
एक्लै हुनु हुन्छ भने एफएम खोल्नु पर्छ, त्यसो गर्नाले तपाईं आफुलाई एक्लो महसुस गर्नु हुन्न । तपाईंलाई आफुसँग अरु कोही छ भन्ने महसुस हुन्छ । यदि एफएम छैन भने स्वयं नै गुनगुनाउनु पर्छ । धेरै सर्वेक्षणहरुमा गीत-संगीतलाई मन शान्त र खुसी राख्ने राम्रो विधि मानिएको छ । गीत-संगीतले एन्जाइटीबाट राहत प्रदान गर्छ ।
एक्लो बस्नुहुन्न
एक्लो बस्नुभन्दा कोही आफन्तसँग कुरा गर्नुपर्छ । तर, तपाईं दुःखी हुनुहुन्छ भन्दैमा उसलाई पनि आफ्नो कुराले दुःखी बनाउनु हुँदैन भन्ने कुरालाई ध्यान दिनुपर्छ । तपाईंले सकारात्मक कुरा गर्ने कोसिस गर्नुपर्छ ।
नकारात्मक विचारहरुलाई सकारात्मकमा परिर्वतन
आफ्नो मनमा आउने हरेक नकारात्मक विचारहरुलाई सकारात्मक विचारमा परिर्वतन गरेर कुरा गर्नुपर्छ । सबैभन्दा महत्वपूर्ण कुरा के हो भने आफू के कारण दुःखी भएको हो । त्यो कारणलाई खोज्ने कोसिस गर्नुपर्छ । यदि तपाईंले आफू दुःखी हुने कारण फेला पार्न सक्नुभएन भने कुनै साइकलोजिस्टबाट काउन्सलिङ गर्नुपर्छ। किनभने दुःखको कारण पत्ता लगाएपछि त्यसको समाधान वरपर नै पाउन सकिन्छ ।