Comments Add Comment

भारतबाट आएकाहरुको र्‍यापिड टेस्ट गर्ने तयारी

२३ चैत, काठमाडौं । सरकारले भारतबाट आएर क्वारेन्टाइनमा बसेकाहरुको कोरोना भाइरस (कोभिड–१९) परीक्षण गर्ने तयारी थालेको छ । यसबारे आज बस्ने कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समितिमा छलफल हुने एक मन्त्रीले बताए ।

शनिबार कैलालीमा स्थानीय संक्रमित देखिएपछि सरकारले लकडाउनमा कडाइ गर्दै एक स्थानीय तहबाट अर्कोमा जान रोक लगाउने तथा कैलाली, कञ्चनपुर र बागलुङमा र्‍यापिड डाइग्नोष्टिक टेष्ट गर्ने निर्णय गरेको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सुदूरपश्चिमलाई केन्द्रमा राखेर काम गर्न निर्देशन दिएको एक मन्त्रीले जानकारी दिएका छन् । यसबारे थप रणनीति तय गर्न आइतबार उच्चस्तरीय समितिको बैठक बस्ने तयारी छ ।

उनकाअनुसार अहिले हरेक स्थानीय तहले भारतबाट आएका नागरिकहरुको तथ्यांक संकलन गरिरहेको छ । र, प्रारम्भीक सूचनाअनुसार यस्तो संख्या ५० हजार बढी रहेको देखिन्छ । तर उनीहरुमध्ये निकै सानो संख्यामा मात्र प्रदेश तथा स्थानीय तहको क्वारेन्टाइनमा छन् । स्थानीय तहहरुले बनाएका क्वारेन्टाइनहरु पनि मापदण्ड पुगेका छैनन् भने होम क्वारेन्टाइनमा राम्रोसँग पालना भएको छैन ।

अब अनिवार्य क्वारेन्टाइनमा राख्नुका साथै र्‍यापिड टेष्ट गर्ने सरकारको तयारी छ । एक मन्त्री भन्छन्, ‘अब भारतबाट धेरैभन्दा धेरैलाई परीक्षणको दायरामा ल्याउँछौं । यसका लागि ¥यापिड टेष्टको विकल्प छैन ।’

र्‍यापिड टेष्टलाई विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले मान्यता दिएको छैन, तर यसले सम्भावित संक्रमितहरुको पहिचान गर्न मद्दत गर्छ ।

स्वास्थ्य मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्की भन्छन्, ‘हाम्रो ल्याबले दिनमा १२/१५ वटा भन्दा टेष्ट गर्न सक्दैन । त्यसले अब र्‍यापिड टेष्टमा जाने बेला भयो । र्‍यापिड टेष्टमा जसको पोजेटिभ आउँछ, उनीहरुलाई पीसीआर वा ल्याबमा थप टेष्ट गर्छौं ।’

यो पनि पढ्नुहोस स्थानीयमा कोरोना संक्रमण : सम्भावित महामारीको पूर्वसूचना !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment