Comments Add Comment

लकडाउनमा विगतको भन्दा बढी डढेलो

२३ चैत, काठमाडौं । देश लकडाउनमा छ, सरकारलाई विश्वास छ कि सबै नागरिक घरभित्र सुरक्षित रुपमा बसीरहेका छन् । तर, सरकारकै अधिकारीहरुलाई भने सबै मान्छे घरभित्रै छन् भन्नेमा विश्वास छैन । कारण हो, वनहरुमा भइरहेका आगलागीका अत्यधिक घटना ।

वन विभागको तथ्यांकअनुसार आइतबार मध्यान्हबाट बितेको २४ घण्टामा देशरभर ३७ ठाउँका डढेलो लाग्यो । त्यसमध्ये धेरै स्थानमा अहिले पनि लागिरहेको छ । बितेको २४ घण्टामा झापा, इलाम, सुनसरी, बारा, चितवन, महोत्तरी, सप्तरी, सर्लाही, तनहुँ, उदयरपुर, धादिङ लगायतका जिल्लाका वनहरुमा धेरै डढेलो लागे । धेरै स्थानमा अझै आगो नियन्त्रणमा आएको छैन ।

वन विभागका जीआईएस शाखाका उपसचिव सुन्दर शर्मा यो तथ्यांक देखेर आफूहरु अच्चमित भएको बताउँछन् । ‘हामीलाई यसपटक अधिकांश मान्छे घरभित्र भएकाले डढेलोको घटना कम हुन्छ भन्ने विश्वास थियो,’ उनी भन्छन्, ‘तर रोचक के छ भने घट्ने हैन, डढेलो लाग्ने क्रम विगतको यही समयको तुलनामा अहिले बढी छ ।’

तर, सकारात्मक पक्ष भने यस पटकको आगलागीको घटनाले मानव समुदाय र मानवस्तीमा असर पुर्‍याएको छैन । तर, वन भने अहिले पनि जलिरहकै छन् ।

शर्माका अनुसार यो डढेलो दरको उच्च विन्दुतिर लाग्ने समय हो । विगतको तथ्यांक अनुसार वैशाखको दोस्रो साता सबैभन्दा बढी डढेलोका घटना हुन्छन् । यो समयमा डढेलोको ग्राफ उकालोतिर हुन्छ ।

यो वर्ष लकडाउनका  कारण जंगलमा आगलागीको घटना कम हुने अपेक्षामा अहिलेसम्मको तथ्यांकले चिसो पानी खन्याइदिएको छ । विगतको जस्तै डढेलोको ग्राफ बढ्दो दरमा देखिन्छ ।

२०१९को अप्रिल ५ मा ६ वटा जिल्लाका १४ ठाउमा आगलागी भएको थियो । २०१८को अप्रिल ५ मा १२ जिल्लाका ३४ वटा जंगलमा आगो फैलिएको थियो ।

औसतमा वर्षमा नेपालमा औसत २५ सय वटा आगलागीका घटना हुन्छन् । यस्तो आगलागीको घटना मुख्य रुपमा यसै सिजनमा हुन्छ । औसत करिब २ लाख हेक्टर वन क्षेत्रलाई आगोले प्रभावित गर्छ । यो वर्ष पनि सो तथ्यांकमा कमी आउने अवस्था नदेखिएको उपसचिव शर्मा बताउँछन् ?

किन घटेन आगलागी ?

देश लकडाउनमा भएपनि ग्रामीण परिवेश र जनजीवनमा खासै परिवर्तन भएको छैन । घाँस-दाउरा गर्न जंगल जाने खासै घटेका छैनन् । अझ नियामक निकायका अधिकारीहरु र वन रक्षक घरभित्र थुनिँदा मौका ठानेर वन छिर्नेहरु बढेका छन् ।

प्रहरीको बाक्लो उपस्थिति भएका शहरभित्र खासै वनहरु छैनन् । शहर वरपरका वनमा आगलागीको घटना कमै भएका छन् । गाउँबस्ती आसपासका वनहरुमा अहिले डढेलो लागेकोलाग्यै छ ।

हाल वन क्षेत्रहरुमा प्रहरी र वन गस्तीको उपस्थिति छैन । यसका कारण घाँस दाउरामा जानेहरुकै कारण आगलागीको घटना बढेको अनुमान विभागको छ । नेपालमा घाँस दाउरा र गोठालोमा जानेहरुले असावधानीबस चुरोट खाएर ठुटा फाल्दा वा नयाँ घाँस पलाउने भन्दै जानाजान आगो लगाउँदा डढेलो घटना हुन्छन् ।

अहिले काठ तस्कर तथा चोरी शिकारी गर्ने समूहले पनि यसलाई मौका बनाएको हुन सक्ने अनुमान विभागको छ । ‘लकडाउनमा अनाधिकृत रुख कटानी र चोरी शिकारीको समाचार आएका छन्, एकातर्फ डढेलो लगाएर ध्यान मोड्ने र अर्कोतिर आफ्नो निहीत उद्देश्य पुरा गर्नेले पनि आगलागी गराएका हुन सक्छन्,’ शर्मा भन्छन्, ‘मानवीय कारणले हुने आगलागीको घटनामा कमी आएको छैन । यसबारे तथ्य निकाल्न अध्ययन नै जरुरी पर्छ ।’

विभागका अनुसार वनमा चट्याङलगायतका प्राकृतिक कारणबाट पनि आगलागीका घटना हुन्छन् । तर, अहिले नेपालमा चट्याङ पनि यति ठूलो आगो लाग्ने गरी परेको छैन ।

नेपालमा वनमा डढेलो लाग्दा वर्षमा कति वन्यजन्तु, बोट विरुवा, जडिबुटी र काठ नोक्सानी हुन्छ भन्ने तथ्यांक सरकारसँग छैन ।
यो पनि पढ्नुहोस लकडाउनको बेला धमाधम रुख कटान

यो पनि पढ्नुहोस नारायणी र राप्तीमा मारिए तीन गोही यो पनि पढ्नुहोस लकडाउनपछि निकुञ्ज क्षेत्रमा अवैध गतिविधि बढ्यो, ९० जना पक्राउ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment