Comments Add Comment

लकडाउनमा मेला र पिकनिक !

बझाङको मेलाबारे सिडिओ भन्छन्– हामीलाई झुक्याइयो

बझाङको छविस पाथिभेरा गाउँपालिकामा लागेको मेला । तस्वीर : दिनेश खबर

२५ चैत, बझाङ । बझाङको छविस पाथिभेरा गाउँपालिकामा दैनिक भिड, महोत्सव नगर्न र घरबाट ननिस्किन भन्दै माइकिङ हुन्छ । जिल्लाका रेडियोहरुमा पनि यो सूचना बजिरहेको छ ।

विश्वभरि महामारीको रुपमा फैलिएको कोरोना (कोभिड–१९)  रोकथामका लागि लकडाउन गरेको दिनदेखि नै भिडभाड नगर्न सरकारले नियमित सूचना प्रवाह गरिरहेको छ र यो कार्यको नेतृत्व स्थानीय सरकारले नै गरिरहेको छ । तर त्यसको उल्लंघन गर्दै बिभिन्न जिल्लामा मेला र पिकनिक जारी छ ।

मंगलबार बझाङको छविस पाथिभेरा गाउँपालिकामा फरक दृश्य देखियो । एकातिर भिड नगर्न भन्दै सचेतनामूलक माइकिङ चलिरहेको थियो भने अर्कातिर भव्य मेला जारी थियो ।

वडा नं. ३ मा सयौं मानिसहरुको चाप लाग्दा प्रहरी, प्रशासनको उपस्थिति थिएन । स्थानीय जनप्रतिनिधि रमिते बनेर मेलामा सहभागी थिए ।

बझाङको छविस पाथिभेरा गाउँपालिकामा लागेको मेलामा सहभागीहरू । तस्वीर : दिनेश खबर

गाउँपालिकाका अधिकृत सत्यराज थापा हजारको हाराहारीमा मानिसहरु जम्मा भएको सहजै स्वीकार्छन् । ‘पहिले यो मेलामा एक÷डेढ लाख मानिस जम्मा हुन्थे’, थापाले अनलाइनखबरसँग भने, ‘अहिले महामारीकै कारणले थोरै मात्र ९ सय/हजार भेला भएका हुन् ।’

उनले पहिलो जस्तो भिड नभएको पनि दाबी गरे र प्रशासनको अनुमति लिएरै कार्यक्रम भएको बताए । ‘मुख्य–मुख्य मान्छेलाई मात्र बोलाएर पूजाआजा गरेको हो’, उनले थपे, ‘तीन/चार दिन मेला लाग्ने भए पनि यो पटक हिँजै सिद्धिसक्यो ।’

प्रशासनलाई झुक्याइएको दाबी

बझाङका प्रमुख जिल्ला अधिकारी उमेश पाण्डे भने प्रशासनलाई झुक्याएर कार्यक्रम गरिएको बताउँछन् । ‘वडाध्यक्षज्यूले फोन गर्नु भएको थियो । उहाँले लिंगो सेलाउने मात्र हो भन्नु भएको थियो’, पाण्डेले अनलाइनखबरसँग भने, ‘परम्परागत आस्था हो, केही हुँदैन । धेरै भेला हुने होइन भनेपछि केही भनेनौं ।’

उनले कार्यक्रमबारे खबर पनि अन्तिम समयमा सोमबार बिहान ८ बजे मात्र प्राप्त गरेको सुनाए । प्रजिअ पाण्डेले थपे, ‘मैले सुरक्षा चाहिन्छ भन्ने पठाउँछु पनि भनेको थिएँ ।’ पछि फेसबुकमा हेरेपछि मात्रै धेरै मानिस जम्मा भएको थाहा पाएको उनले सुनाए ।

‘ठूलो कार्यक्रम हुने भन्ने थाहा भएको भए हामी बल प्रयोग गरेर पनि कार्यक्रम रोक्थ्यौं’, पाण्डेले भने, ‘जनप्रतिनिधि आफैंले नियन्त्रण गर्नुपर्नेमा उहाँहरुले सामान्य भनेर भनेपछि… ।’

यस विषयमा जानकारी लिन गाउँपालिकाका अध्यक्ष अक्कल धामी, वडाध्यक्ष लगायतलाई फोन गर्दा सबैको फोन स्वीच्ड अफ थियो ।

पाण्डेका अनुसार जिल्ला सदमुकामबाट ५ घन्टा यात्रा गरेपछि मेला भएको स्थानमा पुगिन्छ भने मेला भएको स्थानबाट दुई किलोमिटरको दूरीमा रहेको गाउँपालिकाको केन्द्रमा प्रहरी कार्यालय छ ।

पाल्पामा पिकनिक

यसैबीच पाल्पामा लकडाउनका बेला वनभोज आयोजना गरेको सूचना पाएपछि प्रहरीले बिथोलेको छ । पाल्पाको बगनासकाली गाउँपालिका–८, सिद्धबाबा मन्दिर छेउ रहेको खुला चौरमा वनभोज हुन लागेको सूचना स्थानीयले प्रहरीलाई दिएका थिए ।

सूचना प्राप्त हुनेवित्तिकै जिल्ला प्रहरी कार्यालय, पाल्पा र अस्थायी प्रहरी पोष्ट भुषाल डाँडाबाट खटिएको प्रहरी टोलीले वनभोज बिथोलेको हो । पाल्पाका प्रहरी प्रमुख एसपी दिपेन्द्र जिसीका अनुसार प्रहरी देख्नेवित्तिकै वनभोज गर्न लागेका मानिसहरु भागेका थिए ।

जिसीले अनलाइनखबरसँग भने, ‘हाम्रो उद्देश्य उनीहरुलाई पक्राउ गर्नेभन्दा पनि मानिसहरु जम्मा नहुन् भन्ने थियो । त्यसैले सामान उठाएर ल्यायौं ।’

जिसीका अनुसार प्रहरीले दुई वटा ब्रोइलर कुखुरा, एक कार्टुन वियर, दुई किलो चामल, भान्साका सामान, कराई, डिजे डेकसहित लु ४१ प ५६९६ नम्बरको एफजेड मोटरसाइकल पनि बरामद गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment