Comments Add Comment

सुदूरपश्चिममा न चिकित्सक, न भेन्टिलेटर

२५ चैत, धनगढी । सुदूरपश्चिम कोरोना भाइरस (कोभिड १९) को संक्रमणको उच्च जोखिममा छ। नेपालकै पहिलो स्थानीय संक्रमण कैलालीमा देखिएको छ भने समुदायमा संक्रमण फैलिनसक्ने भएकाले सतर्कता बढाइएको छ ।

तर, सुदूरपश्चिममा समग्र स्वास्थ्यको अवस्था भने धेरै कमजोर रहेको देखिन्छ । विशेषज्ञ चिकित्सक र सघन उपचारका लागि आवश्यक भेन्टिलेटर समेत पर्याप्त छैन ।

संक्रमितको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएमा उनीहरुलाई भेन्टिलेटरमा वा आईसीयूमा राखेर उपचार गर्नुपर्ने हुन्छ ।

तर, प्रदेशभरमै पर्याप्त भेन्टिलेटर, आईसीयू र विशेषज्ञ चिकित्सक अभाव भएकाले संक्रमितको संख्या बढेमा उपचारमा समस्या हुनसक्ने स्वास्थ्य अधिकारीहरु बताउँछन् ।

स्वास्थ्य सेवा निर्देशनालयका मेडिकल अधिकृत डा. भुषण मिश्रकाअनुसार सुदूरपश्चिमका नौ जिल्लामा कुल १० वटा भेन्टिलेटर छन् । ‘कैलाली, कञ्चनपुर र डडेल्धुरामा भेन्टिलेटर छ,’ डा. मिश्रले भने, ‘अन्य जिल्लामा छैन ।’

१० मध्ये पनि सरकारी अस्पतालमा चारवटा मात्र छन् भने बाकी ६ वटा निजी अस्पतालमा छन् ।

सेती प्रादेशिक अस्पतालका वरिष्ठ फिजिसियन डा. शेरबहादुर कमर भन्छन्, प्रदेशमा करिब तीन सय भेन्टिलेटर चाहिन्छ । तर, हामीकहाँ पर्याप्त भेन्टिलेटर छैनन् ।’

प्रदेशकै रेफरल अस्पतालको रुपमा रहेको सेती प्रादेशिक अस्पतालमा हाल एउटा मात्र भेन्टिलेटर छ । अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठ भन्छन् ‘अहिले हामीसँग एउटा मात्रै भेन्टिलेटर छ । अब तत्काल दुईवटा किन्ने तयारी भइरहेको छ ।’

पहाडी जिल्लाहरुको अवस्था झन दयनीय छ । प्रदेशका सात पहाडी जिल्लामा एउटा पनि भेन्टिलेटर छैन । दार्चुला जिल्ला अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. गजेन्द्र दुवालले तराईमाभन्दा पहाडी जिल्लाहरुमा बढी समस्या हुने बताउँछन् ।

‘तराईमा त केही निजी अस्पतालमा छन् । तर, यहाँ छैन,’ उनले भने, ‘भेन्टिलेटर नहुँदा जिल्लामा कोरोनाका गम्भीर अवस्थाका बिरामीलाई उपचार गर्न सक्दैनौं ।’

डडेल्धुरा अस्पतालमा दुई वटा भेन्टिलेटर छन् । एउटा साना उमेरका बिरामी र अर्काे ठूलाका लागि । तर, दुबै भेन्टिलेटर कोरोनाको लागि प्रयोग गर्न सकिने अवस्थामा नरहेको डडेल्धुरा अस्पताल निमित्त सुपरिटेन्डेन्ट जगदीश चन्द्र विष्टले बताए ।

‘हामीसँग आईसीयू छैन । कोरोनाको लागि आइसोलेसन पनि चाहिन्छ । त्यो पनि सम्भव छैन,’ उनले भने, ‘दुई वटा भेन्टिलेटर भएपनि कोरोनाका गम्भीर बिरामी आएमा यहाँ राखेर उपचार गर्न सकिँदैन ।’

सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालय भने आवश्यक मात्रामा भेन्टिलेटर जडान गरिने बताउँछ । ‘हामीसँग पर्याप्त भेन्टिलेटर छैनन्,’ प्रवक्ता नरेन्द्रसिंह कार्कीले भने, ‘अहिले हामी १५ वटा भेन्टिलेटर खरिद गर्ने योजनामा छौँ ।’

आईसीयू पनि अभाव

सुदूरपश्चिम प्रदेशमा भेन्टिलेर मात्रै होइन, आईसीयू कक्ष पनि पर्याप्त छैन । प्रदेशभरमा २५ वटा आईसीयू रहेको स्वास्थ्य निर्देशनालयका मेडिकल अधिकृत डा. मिश्रले जानकारी दिए ।

स्वास्थ्य निर्देशनालयका अनुसार सुदूरपश्चिमको सेती प्रादेशिक अस्पतालमा पाँच वटा र महाकाली अस्पतालमा चारवटा गरी नौ वटा आईसीयू बेड छन् । अन्य बेड निजी अस्पतालका हुन् ।

हालसम्म नेपालमा देखिएका संक्रमितलाई आईसीयूको आवश्यकता परेको छैन । तर, आवश्यक पर्दा ठूलो संख्यामा बिरामीलाई आईसीयूमा राख्न पनि समस्या हुने डा. मिश्रको भनाइ छ ।

विशेषज्ञ चिकित्सक पनि अभाव

सुदूरपश्चिम प्रदेशमा आवश्यक उपकरण मात्रै होइन, विशेषज्ञ चिकित्सकको पनि अभाव छ । प्रदेशमा अहिले कन्सल्ट्याण्ट फिजिसियन तथा क्रिटिकल केयर फिजिसियन निकै कम छन्।

स्वास्थ्य निर्देशनालयकाअनुसार सेती प्रादेशिक अस्पतालमा तीन, महाकाली अस्पतालमा तीन, बाजुरा, दार्चुला र डडेल्धुरा एक/एक जना कन्सलट्यान्ट फिजिसियन र क्रिटिकल कन्सलट्यान्ट फिजिसियन छन् ।

सुदूरपश्चिममा सरकारी दरबन्दीमा ५९ जना मेडिकल अफिसर, एक सय ५१ जना स्टाफ नर्सिङ सुपरभाइजर, ८४ जना अनमी र ५३ जना ल्याब टेक्निसियन कार्यरत छन् ।

कोरोनाको उपचारका लागि तोकिएको सेती प्रादेशिक अस्पतालमा पनि पर्याप्त चिकित्सक छैनन् । ‘११ तहका ३० जना चिकित्सकको दरबन्दी भएपनि १४ जना मात्रै कार्यरत छन्,’ अस्पतालका सूचना अधिकारी श्रेष्ठले भने ।

अस्पतालमा फिजिसियन, स्त्रीरोग विशेषज्ञ र मेडिकल सुपरिटेन्डेन्टको पद रिक्त छ । बाल रोग विशेषज्ञ हेमराज पाण्डेले मेडिकल सुपरिन्टेन्डेन्टको जिम्मेवारी सम्हालेका छन् ।

‘हामीकहाँ पहिलेदेखि नै चिकित्सकको अभाव थियो । त्यसैमाथि कोरोनाको परीक्षण र उपचार हुँदा थप समस्या परेको छ,’ उनले भने, ‘उपकरण पठाएको सरकारले चिकित्सक नपठाउँदा हामीलाई कठिनाई भएको छ ।’

यसैगरी महाकाली अस्पतालमा पनि ११ औं तहको मेडिकल सुपरिन्टेन्डेन्ट हुनुपर्नेमा नवौं तहका स्त्रीरोग विशेषज्ञ डा. हरि श्रेष्ठले निमित्त चलाइरहेका छन् ।

प्रदेशभित्र सञ्चालित १४ सरकारी अस्पतालमा जम्मा एक सय ३४ जनाको दरबन्दी छ । तर, पदपुर्ति ४१ मात्रै छ । स्थानीय तह र अन्य निकायहरुले वैकल्पिक श्रोतको व्यवस्था गरी ५८ चिकित्सक करारमा राखेका छन् ।

प्रदेशभित्रका सरकारी अस्पतालहरुमा एक सय २९ स्टाफ नर्सको दरबन्दी छ । तर, ४१ प्रतिशत रिक्त छन् । करारमा ४९ जना स्टाफ नर्स भर्ना गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment